+
+

एनआईसी एसिया बैंकको अर्को ‘म्युचुअल फण्ड’ खुल्यो 

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते ८:५१

काठमाडौं । एनआईसी एसिया बैंकको अर्को म्युचुअल फण्डको बिक्री खुला भएको छ । दोस्रो बजारमै अधिकांश म्युचुअल फण्डको मूल्य १० रुपैयाँभन्दा तल झरेको अवस्थामा ‘एनआईसी एसिया ग्रोथ फण्ड २’ नामक म्युचुअल फण्ड निस्कासन भएको छ ।

प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइका लागि अर्थात् १ हजार रुपैयाँ आवेदन दिन सकिन्छ । ८ करोड ५० लाख इकाइ सर्वसाधारण तथा संघसंस्थाका लागि सोमबारदेखि निस्कासन भएको छ । सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरबाट यसमा आवेदन दिन सकिन्छ ।

म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताले छिटोमा मंसिर ७ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्ने छन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले यो योजनालाई ‘ए माइनस’ रेटिङ प्रदान गरेको छ । यसले योजनाको लगानीमा कम जोखिम रहेको जनाउँछ ।

म्युचुअल फण्डमा लगानी गर्दा के हुन्छ फाइदा ?

छरिएर रहेको पुँजीलाई एकत्रित गर्ने र विभिन्न इक्वीटी, ऋणपत्र लगायत क्षेत्रमा लगानी गर्ने योजनाका साथ संकलन गरिने रकमका लागि प्रदान गरिने साना इकाइ नै म्युचुअल फण्ड हो । म्युचुअल फण्डले रकम संकलन गरी इक्वीटी, ऋणपत्र वा अन्य कोषमा लगानी गरी त्यसबाट प्राप्त प्रतिफलबाट आफ्नो खर्च कटाएर इकाइधनीलाई नगद लाभांश दिने गरेका छन् । धेरै फण्डले वार्षिक रुपमै लगानीकर्तालाई नगद लाभांश दिँदै आएका छन् ।

योजना व्यवस्थापकले फण्डबाट सबैभन्दा धेरै रकम इक्वीटीमा लगानी गर्ने गरेका छन् । योजना व्यवस्थापकले नै फण्डको व्यवस्थापन गर्ने भएकाले लगानीकर्तालाई विज्ञता वा समय खर्चिनुपर्ने हुँदैन ।

म्युचुअल फण्डको अधिकांश रकम सेयरमै लगानी हुने भएकाले सेयर बजार बढ्दा लगानी भएको १० रुपैयाँको खुद सम्पत्ति मूल्य पनि बढ्न जान्छ । यस्ता फण्डको रकम परिचालनका लागि विज्ञहरु नै परिचालन हुने भएकाले फण्डको लगानी सेयरमाभन्दा कम जोखिम मानिन्छ । थोरै रकम पनि धेरै कम्पनीको सेयरमा लगानी हुने भएकाले जोखिम विविधिकरण हुन जान्छ ।

म्यचुअल फण्डको पनि सेयरजस्तै स्टक मार्केटमा किनबेच गर्न सकिन्छ । सामान्यतः सेयर बजार बढेका बेला म्युचुअल फण्डको भाउ पनि बढ्ने भएकाले मूल्य बढेका बेला बेचेर नाफा पनि कमाउन सकिन्छ ।

यद्यपि अहिलेको अवस्थामा सेयर बजार नै तल झरेका कारण दोस्रो बजारमा करिब ३० वटा म्युचुअल फण्डको मूल्य १० रुपैयाँभन्दा सस्तो मूल्यमा झरेको छ । तसर्थ प्राथमिक बजारमा भन्दा दोस्रो बजारमा कतिपय म्युचुअल फण्डको खरिद लाभदायक हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?