+
+

काम प्रभावकारी बनाउन गृह मन्त्रालयले बनायो अध्ययन समिति, पूर्वमुख्यसचिव पौडेल संयोजक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १२:५२

४ मंसिर, काठमाडौं । गृह मन्त्रालयले कार्य सम्पादन प्रभावकारी बनाउन गर्नुपर्ने उपाय तथा कार्ययोजना तयार गर्न पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

समितिमा पूर्वसहित शरदचन्द्र पौड्याल, शंकर प्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा. खङ्ग केसी छन् । यसैगरी पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम पनि अध्ययन समितिमा छन् । सदस्य सचिवको जिम्मेवारी नीति योजना महाशाखा सहसचिवलाई दिइएको छ ।

आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिका संयोजक तथा सदस्यहरु सबैले स्वयंसेवकको रुपमा काम गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको बताए ।

मन्त्री श्रेष्ठका अनुसार अध्ययन समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, विपद न्यूनीकरण तथा व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको क्षेत्रमा सुझाव दिने छ। त्यसमा परिणाम देखिने गरी कानुनी, नीतिगत, संरचनागत, कार्यशैलीगत र प्रवृत्तिगत सुधार गर्नुपर्ने भए त्यसमा समितिले सुझाव दिने मन्त्री श्रेष्ठको भनाइ छ ।

गृह मन्त्रालय गरेका कामको सकारात्मक प्रभाव परे पनि चाहेजस्तो अझै गर्न नसकेको अनुभूति भएको भन्दै मन्त्री श्रेष्ठले अध्ययन समितिको सुझावलाई कार्यान्वयन गर्ने बताए । ‘गृह मन्त्रालयका सम्पूर्ण कामहरुलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध छौं,’ उनले भने ।

अध्ययन समिति संयोजक पौडेलले आजैदेखि काम सुरु गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?