+
+

बालबालिकालाई भावनात्मक रुपमा बलियो बनाउने ६ उपाय

गृष्मा पनेरु, मनोविद् गृष्मा पनेरु, मनोविद्
२०८० मंसिर ४ गते १६:१६

काठमाडौं । आजभोलि हरेक क्षेत्रमा प्रतिस्पर्धा निकै बढेको छ । यस्तो अवस्थामा बच्चालाई शारीरिक र भावनात्मक रूपमा बलियो बनाउनु अभिभावकको दायित्व हो । यदि बच्चा भावनात्मक रूपमा बलियो छ भने उसले हरेक कठिनाइलाई सजिलै पार गर्न सक्छ ।

भावनात्मक रूपमा बलियो हुनुले बच्चालाई समस्याहरुको सामना गर्न सक्षम बनाउँछ । साथै, उनीहरू चुनौती र असफलतामा पनि हार मान्दैनन् र निरन्तर प्रयास जारी राख्छन् । बच्चा भावनात्मक रूपमा बलियो हुनु धेरै महत्त्वपूर्ण छ । किनकि जो बच्चा भावनात्मक रूपमा बलियो हुँदैनन्, उनीहरूले परीक्षामा  कम अंक ल्याउँदा पनि ठूलै गल्ती गरे भन्ने ठान्छन् ।

यस्तो अवस्थामा आमाबाबुले बच्चालाई बाल्यकालदेखि नै भावनात्मक रूपमा बलियो बनाउनु अति आवश्यक छ । त्यसका लागि अभिभावक आफैं पनि भावनात्मक रूपमा बलियो हुनुपर्छ । किनकि अभिभावकलाई हेरेर नै बच्चाले धेरै कुरा सिकिरहेका हुन्छन् ।

बच्चालाई भावनात्मक रूपमा बलियो कसरी बनाउने ?

बच्चालाई गाली नगर्ने

बच्चालाई भावनात्मक रूपमा बलियो बनाउने तरिका उसलाई सानो-सानो कुरामा गाली गर्नु होइन । सानातिना गल्तीका लागि बच्चालाई हप्काउनुभयो भने त्यसले बच्चालाई भावनात्मक रूपमा कमजोर बनाउँछ र उसको आत्मविश्वास घट्न थाल्छ ।

बच्चाले केही गल्ती गर्दा उसलाई त्यही गल्ती फेरि नगर्न प्रोत्साहित गर्नुपर्छ । साथै, यदि बच्चाले कुनै काम गर्न मान्दैन भने उसलाई मायापूर्वक सम्झाइबुझाइ गर्नुपर्छ ।

बच्चाले आफ्नो कुरा खुलेर भन्न सक्ने वातावरण सिर्जना गरिदिने

अभिभावकले बेलाबेलामा आफ्नो कुरा बच्चालाई सुनाउने र उसको कुरा पनि सुनिदिने गर्नुपर्छ । यस्तो गर्दा बच्चाले यो कुराले मलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा असर गरेको छ भनेर अभिभावकलाई बताउन सक्छ । बच्चाले बताएको सबै कुरालाई राम्ररी सुनिदिएर तिम्रो साथमा हामी छौं भनिदिंदा पनि उनीहरू भावनात्मक रूपमा बलियो हुन्छन् ।

बच्चाहरू जब किशोरावस्थामा पुग्छन् त्यो बेला उनीहरू धेरै भावनामा बहकिने हुन सक्छ । त्यो बेला उनीहरूलाई भावनालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा सिकाइयो भने पनि उनीहरू भावनात्मक रूपमा बलियो हुन्छन् ।

बच्चालाई समयको महत्त्व सिकाउने

समय बित्दै जाँदा प्रविधिमा तीव्र परिवर्तन भइरहेको छ । साथै बालबालिकाको व्यवहार र आत्मविश्वासमा पनि परिवर्तन देखिएको छ । आजको समयमा बालबालिकाले सानैदेखि धेरै कुरा सिक्छन् । यस्तो अवस्थामा बच्चालाई सही समयमा सही काम गर्न प्रोत्साहन दिनुपर्छ । उनीहरूलाई समयको महत्त्व बुझाउनुपर्छ । यसले बच्चामा आत्मविश्वास पैदा गर्नेछ ।

समस्या समाधान गर्ने सीप सिकाउने

जीवन चुनौतीहरूले भरिएको छ । त्यसैले  बच्चालाई ती चुनौतीसँग कसरी लड्ने भनेर सिकाउनु आवश्यक छ । उनीहरूलाई निर्णय प्रक्रियामा समावेश गराएर समस्या समाधान गर्ने सीप विकास गर्न मद्दत गर्नुपर्छ । बच्चालाई आलोचनात्मक रूपमा सोच्न र दैनिक समस्याको समाधान गर्न प्रोत्साहन दिनुपर्छ ।

सकारात्मक सोचको विकास गर्न सहयोग गर्ने

बच्चाहरूमा सकारात्मक सोचको विकास गर्नु पनि महत्त्वपूर्ण हुन्छ । हरेक चुनौतीलाई पार गर्ने उपाय हुन्छन् । त्यसैले  लगातार प्रयास, लगनशीलता र गल्तीबाट सिक्ने क्षमतालाई बढाउनुपर्छ । सिकाइ प्रक्रियाको स्वभाविक भागको रूपमा चुनौतीहरूलाई स्वीकार गर्ने मानसिकता विकास गरेर, बालबालिकाहरूले लचिलोपन र अवरोधहरूबाट पुनः प्राप्ति गर्ने क्षमता विकास गर्छन् ।

परिवारको महत्त्व बुझाउनुहोस्

बलियो, सकारात्मक सम्बन्ध निर्माण गर्न भावनात्मक बल आधारशीला हो । आफ्ना बच्चालाई परिवार र साथीहरूसँग राम्रो सम्बन्ध विकास गर्न प्रोत्साहन गर्नुपर्छ । बच्चालाई अरूसँग राम्रो सम्बन्ध बनाउँदाका फाइदा बताउनुपर्छ । परिवार, साथीभाइ र सहकर्मीको सहयोगले बच्चाले हरेक कठिन परिस्थितिबाट सजिलै बाहिर निस्कन सक्छन् ।

आमाबाबु बच्चाका लागि रोल मोडल हुन् । यस्तो अवस्थामा बच्चालाई हरेक चरणमा साथ दिनुपर्छ । उसलाई केही नयाँ काम गर्न को लागि उत्प्रेरित गर्नुपर्छ । उनीहरूलाई राम्रो व्यक्ति बन्न प्रोत्साहन दिनुहोस् ।

(मनोविद् पनेरुसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?