
५ मंसिर, पोखरा । पोखरामा बिहीबारदेखि सुरु हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जानकारी दिएको हो ।
प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् क्लबका २ टोली गरी १२ समूहले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गर्ने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगिता विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, म्यान अफ द सिरिजले ३० हजार रुपैयाँ, बेस्ट बलरले २० हजार रुपैयाँ र म्यान अफ द म्याचले ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने एकेडेमीले जनाएको छ ।
आचार्यका अनुसार कप प्रत्येक २, २ वर्षमा आयोजना गर्ने योजना छ । ‘प्रत्येक २, २ वर्षमा फरक फरक ठाउँमा हुने गरी योजना बनाइरहेका छौं । पुरस्कार राशी पनि बर्सेनि बढ्नेछ,’ उनले भने ।
उद्घाटनमा आयोजक र बागमती भिड्ने
आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता तथा उपविजेताले पाउने कप सार्वजनिक गरेको हो । उक्त अवसरमा केपी ओली राष्ट्रिय कप टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको थियो ।
सार्वजनिक तालिकाअनुसार उद्घाटन खेल बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ ले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछिका हरेक दिन २ खेल हुनेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम छन् । समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘निलो’ छन् ।
प्रतिक्रिया 4