+
+

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न प्रयासरत छौं : उद्योगमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते २०:१२

६ मंसिर, बुटवल । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

बुधबार भैरहवामा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव उद्घाटन गर्दै मन्त्री रिजालले अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा रुपन्देहीका व्यवसायीहरु लगानी डुब्ने चिन्तामा रहेको सरकारले महसुस गरेको भन्दै पूर्ण सञ्चालनको लागि प्रयासरत रहेको बताए ।

कोरोना महामारीपछि नेपालमा मात्र नभई विश्वभरि नै अर्थतन्त्रमा नकारात्मक असर परेको उल्लेख गर्दै मन्त्री रिजालले सरकारले उद्योगी व्यवसायीका प्रमुख समस्यालाई क्रमशः सम्बोधन गरिरहेको बताए ।

‘कोरोना महामारीपछि नेपालमा मात्र नभइ संसारभरी अर्थतन्त्रमा  समस्या आएको छ,’ उनले भने, ‘तर अन्य मुलुकका उद्योगी व्यवसायीले सरकारसँग मिलेर समस्याको  सामना गर्नुपर्ने मान्यता राखे पनि नेपालमा निराशाका कुरा मात्र हुने गरेको छ, तर निराश हुनुपर्दैन ।’

‘मन्त्री रिजालले उद्योगीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दै निजी क्षेत्रको अभिभावकत्व सरकारले लिने र भविष्यमा आउने समस्याको सामना गर्न सरकार साथमा रहने बताए ।

नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय यथाशीघ्र पूर्ण सञ्चालनमा ल्याउनुपर्ने बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआए आमरण अनशनमा बस्ने चेतावनी दिए । उनले लुम्बिनीको विकासले नेपालको विकास हुने तथ्य बुझ्न आग्रह गरे ।

महोत्सव  संयोजक दर्पण श्रेष्ठले ३ सय स्टल रहेको महोत्सवमा झण्डै ३ लाख दर्शकले अवलोकन गर्ने र २५ देखि ३० करोड मूल्य बराबरको कारोबार हुने विश्वास लिइएको बताए । महोत्सवका सह–संयोजक नारायण प्रसाद भण्डारीले सरकारले निजी क्षेत्रलाई राहत दिने खालको कुनै कार्यक्रम ल्याउन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?