 
																			८ मंसिर, काठमाडौं । सूचीकृत कतिपय कम्पनीले गत सातासम्म नोक्सानीमा गएको पहिलो त्रैमासिक वित्तीय विवरण निकाले । खस्किँदो व्यापार स्थिति, ऋणात्मक प्रतिसेयर आम्दानीजस्ता कारणले ती कम्पनीको मूल्य घट्दा बजार पनि केही दिन प्रभावित बन्यो । अहिले फेरि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गरिरहेको छ । यो समूहले बैंक तथा वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गरिनुपर्नेजस्ता व्यवस्थाविरोधी माग तेस्र्याएको छ । बेलाबखत देशमा हुने गरेका यस्ता आन्दोलनले पनि सेयर बजारलाई अल्पकालीन रुपमा प्रभाव पार्ने गरेको पाइन्छ ।
कम्पनीहरुको खराब वित्तीय विवरण र आन्दोलनका बाबजुत पनि यो साता सेयर बजार सम्हालिएको छ । यो बेला सम्हालिएर अनुभवी सेयर लगानीकर्ताले खरिद बढाएका छन् । यो साता सेयर बजार घट्न पाएन, बरु ८ अंक बढेको छ । तिहारअघि १८५२ विन्दुमा रहेको सेयर बजारको परिसूचक यो साता १८६० विन्दुमा कायम भयो । तिहारपछिको पहिलो कारोबार दिन सोमबार १ अंक बढेको बजार मंगलबार भने २३ अंक घट्न गयो । बुधबार २१ र बिहीबार ९ अंक बढेसँगै बजार सम्हालिएको छ ।
अंक मात्रै बढेको छैन, सेयर कारोबार रकम पनि बढेको छ । तिहारअघिको अन्तिम कारोबार दिन ८३ करोड, अघिल्लो दिन ७८ करोड रुपैयाँको धितोपत्र कारोबार भएको थियो । यो साताका कुनै पनि दिन सोभन्दा कमको कारोबार भएन । तिहारपछि खुलेको पहिलो कारोबार दिन सोमबार १ अर्ब ९ करोड, मंगलबार ९५ करोड, बुधबार १ अर्ब ८ करोड र बिहीबार १ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
यसरी अंकसँगसँगै कारोबार रकम बढ्नु भनेको बजारमा थप पैसा आउनु रहेको बताउँछन् सेयर लगानीकर्ता पिताम्बर खकुरेल । ‘बजार १८ सयको लाइनमा आउँदा अनुभवी र संस्थागत लगानीकर्ताले खरिद बढाउने गरेको पाइन्छ,’ उनले भने, ‘बजार सपोर्टनजिक आउँदा केही साना लगानीकर्ता आन्दोलनका कारण डराएको पनि देखिन्छ ।’
साना लगानीकर्ता चरम डरमा रहेकै बेला अनुभवीले किन्ने गरेको उनको बुझाइ छ । ‘यस्तै चरम डर भएका बेला, बजार घटेर न्यूनतम विन्दुमा आएका बेला खरिद गर्नेहरुले घाटा खानुपर्दैन, अनुभवी पनि यस्तै बेला प्रवेश गर्छन्,’ उनले भने । १८०० को लाइनमा पटक पटक बजारले सपोर्ट पाएर बढेकाले यो पटक पनि त्यही स्थिति देखिने उनको दाबी छ ।
बजारलाई सबैभन्दा धेरै असर ब्याजदरले पार्ने गरेकोमा ब्याजदर घट्दो क्रममा रहेकाले अबका दिन बजारका लागि सुखद् हुने उनको दाबी छ । कात्तिक मसान्तसम्म व्यक्तिगत मुद्दतीमा ११ प्रतिशतसम्म ब्याज दिएका बैंकहरुले मंसिरदेखि भने अधिकतम १०.६० प्रतिशतमा झारेका थिए । यसले आधार दर घट्न गई कर्जाको ब्याजदर पनि थप घट्न जानेछ । ब्याजदर घट्दा एकातिर कर्जा लिएर सेयर बजारमा आउने रकम बढ्न जान्छ भने अर्कोतर्फ बैंकमा निक्षेप राख्नेले पनि न्यून ब्याजदर लिनुभन्दा घटेका बेला सेयर खरिद गर्न लगानीकर्ता उपयुक्त ठान्छन् । त्यसकारण ब्याजदर र सेयर बजारको उल्टो सम्बन्ध रहँदै आएको छ ।
यो साता कम्पनीहरुको समूहगत प्रदर्शन
यो साता माइक्रोफाइनान्स कम्पनीहरुप्रति लगानीकर्ता केही त्रसित देखिए । जसले गर्दा माइक्रोफाइनान्स समूह यो साता सबैभन्दा धेरै ३.८७ प्रतिशत घट्यो । अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको प्रथम त्रैमासिक वित्तीय विवरण खराब आउँदा लगानीकर्ता केही आत्तिए ।
अधिकांश माइक्रोफाइनान्सको कर्जा रकम उठ्न नसक्दा ‘लोन लस प्रोभिजन’ बढेको छ । निष्क्रिय कर्जा पनि ठूलो दरले बढेको छ । जसले गर्दा तिहारअघि माइक्रोफाइनान्स समूह ३४०४ अंकमा रहेकोमा अहिले ३२७२ मा झरेको छ । जीवन बीमा समूह भने यो साता उच्च दरले बढ्यो । सो समूह ४.३१ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा समूहले पनि राम्रो लय समाएको छ ।

प्राविधिक ट्रेन्डलाइनमा कस्तो देखिन्छ बजार ?
यतिबेला केही प्राविधिक ट्रेन्डलाइनले बजार सम्हालिएर माथि जाने संकेत देखाउँछन् भने केही ट्रेन्डलाइनले माथि जान खोजेको तर सुनिश्चित भइनसकेको देखाउँछन् । दैनिक क्यान्डिलस्टिक चार्टअनुसार बुधबार र बिहीबार बजारले ‘बुलिक ह्याम्मर’ बनाएको छ । यद्यपि दुई दिनको क्यान्डिलस्टिकलाई मात्रै आधार बनाउनु हतारो हुनेछ ।
बोलिंगर ब्यान्डअनुसार क्यान्डिलस्टिकले ‘मिडिल लाइन’ क्रस गर्न सकेको छैन, जसले बजार बढ्ने सुनिश्चितता भइनसकेको देखाउँछ । मिडिल लाइन मात्रै नभई माथिल्लो लाइन क्रस गरेपछि मात्रै बोलिंगर ब्यान्डले बजार बढ्न सक्ने संकेत दिन्छ । एमएसीडीले भने स्पष्ट रुपमा बढ्दै गर्दा सिग्नल लाइनलाई क्रसओभर गरेको छ । सिग्नल लाइनभन्दा माथि जानुले बजार बढ्ने संकेत गर्दछ । यद्यपि दुई लाइनबीचको ग्याप साँघुरो भएकाले अझै केही दिन कुर्न सकिने जनाउँछ ।
आरएसआई ४३.८ मा छ । बजार घट्दा न्यूनतम ३० अंकसम्म झरेको आरएसई बढ्दो क्रममा देखिएको छ । जसले गर्दा बजारमा खरिद पक्ष बलियो नै देखाउँछ ।

अब लगानीकर्ताले के गर्ने ?
यतिबेला सेयर लगानीकर्ताले बजारको सूचकहरु भन्दा पनि आफ्ना कम्पनीहरुलाई बढी जोड दिनुपर्ने जानकार बताउँछन् । कतिपय कम्पनीको पहिलो त्रैमासिक वित्तीय रिपोर्ट खस्किएको छ भने कतिपयको मजबुत छ । यतिबेला पहिलो त्रैमासिक वित्तीय विवरण पर्याप्त केलाउने अवसर लगानीकर्तामा रहेकाले आफ्ना कम्पनीहरुको वित्तीय स्थिति राम्ररी बुझ्न उपयुक्त समय छ । खासगरी बिजनेसको वृद्धिदर, नाफाको वृद्धिदर, प्रतिसेयर आम्दानीको अवस्था, वितरणयोग्य नाफा, बैंक तथा वित्तीय संस्थाको हकमा निष्क्रिय कर्जाको स्थिति, इम्पेरिमेन्ट चार्जको स्थिति अध्ययन गर्न सकिनेछ ।
आफ्ना कम्पनीहरुको वित्तीय स्थिति बलियो बन्दै गएको तथा आफू विश्वस्त भएमा त्यस्ता कम्पनीमा थप लगानी गर्न सकिने खकुरेल बताउँछन् । अहिले सेयर बेच्नेलाई धेरै जोखिम रहेको र किन्नेलाई लाभ सम्भावना बढी रहेको उनले बताए । बजार बढ्दा खराब कम्पनीहरुको मूल्य पनि बढ्ने भएकाले त्यस्ता कम्पनीमा लगानीकर्ता सधैं सजग रहनुपर्ने उनी बताउँछन् । ‘वित्तीय विवरण राम्रो भएका कम्पनीहरु यतिबेला थप गरेर एभरेजिङ गर्न सकिन्छ, तर एभरेजिङ गरेपछि केही घट्न गएमा पनि आत्तिनु हुँदैन’ उनले भने । त्यस्तै खराब कम्पनीहरु बिक्री गरेर राम्रा कम्पनीहरु खरिद गर्न सकिने उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4