+
+

बेलायत जान नर्सलाई भाषाको समस्या, ७१ जनाको नाम ‘सर्ट लिस्ट’मा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते १५:०६

८ मंसिर , काठमाडौं । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउन माग गरिएको आवेदनमा आवश्यकताभन्दा कमको मात्र नाम निस्किएको छ । वैदेशिक रोजगार विभागका अनुसार ७१ जनाको ‘सट लिस्ट’ मा नाम निस्किएको छ ।

हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउने गरी यूकेसँग समझदारी भएको थियो । सोही समझदारी अनुसार यूके जान जाहने इच्छुक नर्सहरूका लागि सरकारले गत जुलाई २० मा गोरखापत्रमा सूचना जारी गर्दै आवेदन माग गरेको थियो ।

आवेदन भर्नका लागि ९० दिनको समय दिइएको थियो । तर, सो आवेदनमा ७७१ जनाले फर्म भरे पनि अधिंकाशको  नर्सले माग अनुसारको कागजात पुर्‍याउन सकेनन् । वैदेशिक रोजगार विभागका निर्देशक गोपालराज तिमल्सिना अनुसार नेपालबाट आवश्यक कागजात पुरा गरेका ७८ जनाको आवेदन सबमिट गरिएको थियो ।

नर्सको योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर ७१ जनाको मात्रै सूची नेपालमा पठाएको छ । ‘सट लिस्ट’मा परेका नर्सको बेलुका सम्म सुचना निकालेर प्रकाशित गर्न लागेका छौं,’ तिमल्सिनाले भने ।

आवेदन दिँदा कम्तीमा दुई वर्षको कार्यानुभव भएको र अंग्रेजी भाषा परीक्षाको प्रमाणपत्र पेस गर्नुपर्छ । तर, अधिकांश नर्सलाई भाषाको मापदण्ड पूरा गर्न समस्या देखिएकाले कमैले मात्रै कागजात पेश गर्न सकेको तिमल्सिनाले बताए ।

‘आवेदन दिएका मध्ये बेलायतले खोजेको मापदण्ड अनुसारका गुणस्तरका नर्स भेटिएनन् । पुराना नर्समा भाषाको समस्या र नयाँ नर्समा कार्यानुभवको समस्याले मागेको जति आवेदन संख्या पनि पुगेन,’ तिमल्सिनाले अनलाइनखबरसँग भने ।

नेपाल र यूकेबीच भएको समझदारी अनुसार आवेदन दिन कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ । दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य रूपमा पेश गर्नुपर्छ ।

नर्सहरूले इन्टरन्याशनल इङ्लिश ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा कम्तीमा ७ अंक ल्याउनुपर्ने हुन्छ । राइटिङ, स्पिकिङ, लिसनिङ र रिडिङ गरी चारखाले मापदण्डमा अंक दिइने आईईएलटीएसमा राइटिङ बाहेक सबैमा ७ अंक आउनुपर्ने हुन्छ ।

मापदण्ड अनुसार राइटिङमा भने ६.५ मात्र ल्याए पनि नेपाली नर्स यूके जानका लागि भाषामा योग्य मानिन्छन् । सटलिस्टको सूचीमा परेका नर्सको मात्रै अन्तर्वार्ता हुने र छनोटमा भएका नर्स मात्रै यूके जान पाउनेछन् ।

‘उनीहरुले पठाएको सूचीमा परेको नर्स मात्रै अन्तर्वार्तामा समावेश हुन पाउनेछन् । डीएचएससी प्रतिनिधि र युेकेको स्वास्थ्य सेवा विभागका प्रतिनिधि र नर्स हुनेछन्,’ तिमल्सिनाले भने, ‘ ७१ जनाको अन्तर्वाताको समय पनि तोकिदिएका छन् । सहजीकरणको लागि उहाँहरुले मान्नुभयो भने विभागको एक प्रतिनिधि हुनुहुनेछ ।’

छनोट भएर गएका नेपाली नर्सले तीन महिनाको एउटा तालिम लिनुपर्नेछ । उक्त तालिमबाट योग्य बनेपछि मात्र नेपाली नर्सहरूले त्यहाँका स्वास्थ्य संस्थामा काम गर्न पाउने नियम छ । त्यस अवधिमा पनि उनीहरूले पारिश्रमिक भने पाउनेछन् । नेपाली नर्सहरूले पनि ब्रिटेनमा दर्ता भएपछि त्यहाँका ‘रजिस्टर्ड नर्स’ बराबरको तलब पाउनेछन् ।

सम्झौता अनुसार उनीको तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड (करिब साढे ५१ लाख रुपैयाँ) सम्म पाउन सक्छन् ।  त्यसबाहेक उनीहरूले २७ दिनको वार्षिक र सार्वजनिक बिदाहरू पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?