+
+

सुनुवाइ समितिलाई ‘रबरस्ट्याम्प’ हुन नदिने उपायको खोजी

क्यानाडाका लागि नेपाली राजदूतमा सिफारिस भएका भरतराज पौड्यालको नाम अनुमोदन गर्दै संसदीय सुनुवाइ समितिले भनेको छ– अब समितिलाई रबरस्ट्याम्प बन्न दिइन्नँ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० मंसिर १० गते २०:५१
संसदीय सुनुवाइ समितिको आइतबारको बैठक ।

१० मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिबाट क्यानाडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

सिंहदरबारमा आइतबार दिउँसो साढे १ बजेदेखि साढे तीन बजेसम्म भएको सुनुवाइपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।

पौड्यालको सुनुवाइपछि नेकपा एमालेका सांसदहरुले तत्काल अनुमोदनको निर्णय नगर्न प्रस्ताव गरेका थिए । तर, सत्तारुढ दलका सांसदहरु भने आइतबार नै अनुमोदनको पक्षमा थिए ।

कांग्रेस सांसद जीवन परियार भन्छन्, ‘सुनुवाइपछि निर्णय गर्न बस्दा उजुरीउपर थप अध्ययन गर्ने विषय उठेको थियो । तर, सुनुवाइ सकेकै दिन अनुमोदन गर्ने अभ्यास भएको विषय उठ्यो र त्यसै अनुसार निर्णय भयो ।’

समितिमा पौड्यालविरुद्ध दुईवटा उजुरी परेका थिए । समितिले उजुरीकर्तासँग पनि छलफल गरेको थियो । त्यसपछि प्रस्तावित राजदूत पौड्यालसँग सुनुवाइ समितिका सदस्य सांसदहरुले प्रश्न गरेका थिए ।

एमाले सांसद देवेन्द्र दाहालले कर्मचारीका लागि आएको छात्रवृत्तिमा छोरीलाई पढ्न पठाएको विषयमा प्रश्न गरे । ‘छोरीलाई सरकारी छात्रवृत्ति मिलाएको भन्ने छ । यो गलत होस् । साँचो देखियो भने यहाँ (भरतराज पौड्याल) ले गर्नुभएको प्रतिबद्धता खण्डित हुन्छ’, दाहालले भने ।

एमाले सांसद महेश बर्तौलाले इमानदारी र आचरणको प्रश्न उठाए । ‘इमानदारी र आचरणको विषयमा गम्भीर उजुरी आयो । परीक्षण गर्न केही समय लाग्छ । परीक्षण गर्दा उजुरीकर्ता वा यहाँ (भरतराज पौड्याल) मध्ये एक सत्य हुनुहुन्छ । यसकारण उजुरीका सम्बन्धमा के हो प्रष्ट पारिदिनुस् ।’

पौड्यालले आफ्नी छोरीले सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा नभई आम रुपमा खुला गरिएको सिटमा प्रतिस्पर्धाका आधारमा छात्रवृत्ति पाएको जवाफ दिए ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले अवकाश पाउन १० दिन बाँकी रहँदा राजदूतमा सिफारिस किन भएको भनी सोधेका थिए । ‘सचिव भएको व्यक्ति केही दिनपछि अवकाश पाउँदै हुनुहुन्छ । फेरि किन राजदूत ? तपाईंलाई भन्दा सरकारलाई यो प्रश्न छ’, कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि थपे ।

जवाफमा पौड्यालले नेपाल सरकारले निर्णय गरेको र अनुभवी व्यक्तिको अनुभव सदुपयोग गर्न खोजेको हुनसक्ने बताए । आफू निर्णयकर्ता नभएकाले यसै हो भन्न नसक्ने उनको जवाफ थियो ।

एमालेकी सांसद ईश्वरी घर्तीले राजदूतमा परराष्ट्र सेवा अन्तर्गत कि राजनीतिक रुपमा सिफारिसमा परेको भन्ने प्रश्न गरेकी थिइन् । पौड्यालले आफू सेवामै रहँदा सिफारिसमा परेको र कर्मचारीहरु राजनीतिक आधारमा कुनै पनि सिफारिसमा पर्न हुन्न भन्ने मान्यता राख्ने व्यक्ति भएको जवाफ दिए ।

जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रकाश अधिकारीले सेवा अवधि सकिनै लाग्दा राजदूतमा सिफारिस गर्ने अभ्यास स्थापित हुँदा त्यसले कस्तो असर पर्छ भनेर सोधे । जवाफमा पौड्यालले नेपालमा सेवा अवधि सकिएका कर्मचारीलाई राजदूतमा सिफारिस गर्ने अभ्यास रहेको र यस सम्बन्धमा उचित हुन्छ या हुँदैन भनेर संसदले नै नीति बनाउन सक्ने बताए ।

कांग्रेसका सांसद जीवन परियारले नेपालका लागि चिनियाँ राजदूतले राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र नबुझाउँदै किन भेट गरेको भनी जिज्ञासा राखे । ‘२६ पुस २०७९ मा चिनियाँ राजदूतलाई ओहोदाको प्रमाणपत्र नबुझाउँदै भेटेको आएको थियो । यो कूटनीतिक मर्यादाभित्र पर्छ कि पर्दैन ?’ परियारले प्रश्न गरे ।

जवाफमा पौड्यालले त्यसमा कुनै सत्यता नरहेको बताए ।

एमाले सचेतक बर्तौलाले व्यक्तिगत लाभ हानि र आफ्नो मात्रै वृत्ति विकास हेर्ने, समूहमा काम गर्न र अरुको हितका लागि नसोच्ने प्रवृत्ति रहेको भनी उजुरीहरु परेको सम्बन्धमा जवाफ मागे । २०४४ सालबाट सरकारी सेवामा प्रवेश गरको र निरन्तर सेवाप्रति समर्पित रहेको जवाफ दिए । आफू सामूहिकतामा विश्वास गर्ने र सबैको वृत्ति विकासका लागि काम गर्नुपर्छ मान्यतामा अगाडि बढेको स्पष्टीकरण दिए ।

सुरुमा पौड्यालको कार्य योजना सुनेपछि सांसदहरुले प्रश्न गरेका थिए । पौड्यालले पनि एकसरो प्रश्नको जवाफ दिए । त्यसपछि फेरि सांसदहरुले पूरक प्रश्न गरे । पूरक प्रश्नमा सांसदहरुले फेरि सरकारी कर्मचारीलाई आएको छात्रवृत्तिमा छोरीलाई पठाएको र उनीमाथि लागेको भनिएका नैतिकता र आचरणमाथिका प्रश्नहरु नै दोहोर्‍याए ।

एमाले सांसद देवेन्द्र दाहाल, कांग्रेस सांसद जीवन परियार, जसपा सांसद प्रकाश अधिकारीले छात्रवृत्तिका विषयमा उठेका प्रश्न झुटा सावित हुन सकुन् भनेर फेरि त्यही विषय उठाए । जवाफमा उनले आफ्नी छोरीले विदेशमै हाईस्कुल पढेको र त्यसक्रममा १४ लाख विद्यार्थीमा प्रथम हुन सफल भएको सुनाए । आफ्नी छोरीले आफ्नै क्षमताले आंशिक छात्रवृत्ति पाएको जवाफ दोहोर्‍याए ।

त्यसपछि पौड्याललाई बिदाइ गरेर सुनुवाइ समिति प्रस्ताव अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुट्यो ।

ज्येष्ठ सदस्य अनुपस्थितिमा निर्णय

साढे तीन बजे नै सुनुवाइ समितिको बैठक सकिएको थियो । निर्णय लिन समिति थप सवा घण्टा आन्तरिक छलफलमा जुट्यो । स्वास्थ्यको कारण देखाएर ज्येष्ठ सदस्यको रुपमा समितिको सभापतित्व गरिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपतिशमशेर जबरा बाहिरिए ।

त्यसपछि आन्तरिक छलफलमा समिति बैठकको सभापतित्व अर्का ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए ।

आन्तरिक छलफलमा एमालेले पौड्यालको अनुमोदन गर्ने विषयमा थप पाँच दिन समय लिएर निर्णय लिने प्रस्ताव राख्यो । उक्त प्रस्तावको प्रतिवाद गर्दै कांग्रेस नेता रमेशजंग रायमाझीले भने, ‘५ दिन रोक्ने जिम्मा कसले लिने हो ? कार्यविधि र अभ्यास बाहिर गएर केही निर्णय गर्न हुन्न ।’

एमाले सांसद ईश्वरी घर्तीले पौड्यालको विषयमा प्रश्न उठेको बताइन् । प्रश्न उठेका विषयमा थप अध्ययन नगरी निर्णय गर्नु पनि उचित नहुने बताइन् । प्राप्त सिफारिसमाथि धेरै अध्ययन नै नगरी अनुमोदन गर्ने गर्दा संसदीय समितिको महत्व र गरिमामा समेत आँच आएको उनको भनाइ थियो ।

‘उहाँ (पौड्याल)को विषयमा यो कुरा उठ्यो । हामी रबरस्ट्याम्प बन्यौं । समितिको वजन हुनुपर्यो । आजको आजै अहिलेको अहिल्यै सुनुवाइ अरे’ उनले भनिन्, ‘छानबिन हुँदैन भनेर उजुरीको संख्या घटिरहेको छ यसलाई राम्रो भन्ने कि चिन्ता गर्ने ?’

साथै उनले पौड्यालले समितिमा दम्भ देखाएको बताइन् । ‘प्रस्तावित व्यक्तिलाई दम्भ छ । हामीले उजुरी आएको कुरामा सोधी खोजी गर्न नपाउने ? आजै हतार गरेर आजको आजै निर्णय नगरौ’ घर्तीले आन्तरिक छलफलमा भनिन् ।

एमाले सचेतक बर्तौलाले पनि ‘एक/दुई दिन पर्खिने’ प्रस्ताव राखे । १/२ दिन राखौं । पर्सि नै बैठक राखेर अगाडि बढाउन सकिन्छ । दुई तिहाइ पुर्याउने गरी प्रयास भइरहेको छैन । यसकारण समितिको वजनको ख्याल गरौं भन्ने लाग्छ ।’

एमालेका अर्का सांसद देवेन्द्र दाहालले पौड्याल योग्य रहेको तर, अलिकति समय लिन आवश्यक रहेको बताए । कांग्रेस सांसद जीवन परियारले थपे, ‘छोरीको छात्रवृत्ति परराष्ट्र सचिवको रूपमा पाएको हो कि सामान्य भन्दा त्यो झुटा हो भन्नुभयो । त्यसकारण निर्णय नरोकौं ।’

बरु उनले आगामी दिनदेखि अनुमोदन भएकै दिन निर्णय नगर्ने गरी समिति सहमतिमा जान सक्ने र आगामी दिनमा सुनुवाइ सकेर स्पष्टीकरण र उजुरीको विषयलाई एकठाउँमा राखेर अध्ययन गरेर मात्रै निर्णय प्रक्रियामा जान सकिने प्रस्ताव गरे ।

जसपा सांसद प्रकाश अधिकारीले अनुमोदन गरेकै दिन निर्णय लिने विषयमा कार्यविधिमै रोकेर जानुपर्ने प्रस्ताव राखे ।

आन्तरिक छलफलमा समितिको सभापतित्व गरेका कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समितिले आफ्नो कामको विषयमा आन्तरिक समीक्षा गर्न जरुरी रहेको बताए । तर, पौड्यालको अनुमोदनको निर्णय तत्काल गर्ने प्रस्ताव गरे ।

‘कार्यविधि सच्याउनु छ भने सच्याउँ, अल्पमत, बहुमत वा दुई तिहाइ नगरौं । आज निर्णय गरौं’ उनले भने । एमाले सांसदहरुलाई सम्बोधन गर्दै उनले भने, ‘म यो कुर्सी (सभापतिको हैसियत) को तर्फबाट विनम्रताका साथ आग्रह गर्न चाहन्छु – यसलाई आज निर्णय गरौं ।’

एमालेका एक नेताका अनुसार राजनीतिक रुपमा पौड्यालको अनुमोदन रोक्ने वा अस्वीकृत नै गर्ने तयारी चाहिं थिएन । तर, उनीमाथि लागेका आरोप र प्रश्नहरुको गहिराइसम्म पुगेर मात्रै निर्णय गर्नुपर्छ भन्नेमा थियो । त्यस अनुसार सुनुवाइ समितिमा एमाले प्रस्तुत भएको हो ।

समितिका एक सदस्यका अनुसार, आरोप पुष्टि गर्ने आधार भेटाइएन । केही दिन लम्ब्याउँदैमा प्रमाण भेटिने सम्भावना पनि देखिएन । साथै, नैतिकता, आर्थिक विषयहरु र कर्मचारीको वृत्ति विकासमा असहयोग गरेका जस्ता विषयहरु पनि प्रमाणसहित आउन सकेनन् ।

ती सांसदका भनाइमा, ‘एमाले र कांग्रेस दुवै पार्टीका परराष्ट्रमन्त्री हुँदा काम गरेका व्यक्ति हुन् पौड्याल । प्रधानमन्त्री प्रचण्डको विशेष चासोका कारण सिफारिस भएको सत्य भएता पनि उहाँ प्रोफेसनल व्यक्ति नै हो भन्ने निचोडमा पनि पुगियो र आइतबार नै निर्णय भयो ।’

तर, समिति आगामी दिनमा सुनुवाइ सकेकै दिन अनुमोदनको निर्णय नगर्ने सहमतिमा पुगेको छ । सचेतक बर्तौलाका अनुसार ‘उजुरी अध्ययन गर्ने, त्यसको तथ्य र प्रमाण उजुरीकर्तासँग खोज्ने र त्यसपछि सुनुवाइमा बस्ने । प्रस्तावित व्यक्तिको स्पष्टीकरण सुनेपछि सबैलाई एकै ठाउँमा राखेर अध्ययन गरेर अर्को बैठकमा मात्रै निर्णय लिने गरी कार्यविधि सच्याउने सहमति भएको छ ।’

कांग्रेस सांसद जीवन परियार पौड्यालको अनुमोदनको निर्णयका लागि केही दिन पर सार्ने विषय सकारात्मक सोचका साथ आएको तर, निर्णय गर्दा पौड्यालकै पालादेखि भएको भन्ने नपरोस् भन्नका निम्ति आइतबार नै निर्णय भएको बताउँछन् ।

‘नयाँ अभ्यासका लागि उहाँ (भारतराज पौड्याल) लाई नै प्रयोग नगरौं भन्ने भयो । अब आगामी दिनमा त्यै दिन निर्णय हुँदैन’ परियारले भनेका छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?