+
+
सन्दर्भ : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान :

जहाँ लिङ्ग र आवरण हेरेर सम्बोधन गरिन्छ …

विश्व स्वास्थ्य संगठनको सन् २०२१ को तथ्यांक अनुसार अझै पनि नेपालमा प्रत्येक ४ मा १ महिलाले हिंसा भोगेका हुन्छन्। यो सबैको कारण वर्षौंदेखि जरो गाडेर बसेको पितृसत्ताले गर्दा हो।

विपना धिमाल विपना धिमाल
२०८० मंसिर ११ गते ७:३९

प्रसङ्ग

प्रायः सधैं स्कुटरमै यात्रा गर्ने भएतापनि आज बसमै यात्रा गर्ने अवसर जुट्यो। राधेराधेबाट गाडीको ड्राइभिङ क्लास सकेर कोटेश्वरतिर बसमा फर्किंदै थिएँ।

ठिमीबाट एउटा अन्दाजी २३/२४ वर्षको ठिटो गाडीमा चढे। अचानक सबैलाई नमस्कार भनेर आफ्नो कुरा सुरु गरे। एकछिन आफ्नो अफिसतिर हुने औपचारिक कार्यक्रमको झल्को आयो तर पछि सुन्दै जाँदा उनकी बहिनी ब्लड क्यान्सर पीडित रहिछिन् भन्ने थाहा पाएँ।

बहिनीको कान्ति बाल अस्पतालमा उपचार भइरहेको जानकारी गराउँदै सहयोगको लागि यसरी आह्वान गरे, ‘हेल्लो सर अनि सिस्टर ! प्लिज सहयोग गर्दिनुस्। हेल्लो सर अनि सिस्टर सहयोग नगरे पनि बोल्दिनुहोला, हेल्लो सर प्लिज सहयोग गर्दिनुहोला, हेल्लो सिस्टर प्लिज सहयोग गर्दिनुस्!’

अन्तिम सिटबाट सहयोग संकलन गर्दै उनी अगाडि आउँदै थिए, म दोस्रो लहरको सिटमा थिएँ।

मनमनै सोचें, ‘अरे के हो यस्तो, पुरुष चाहिं सर महिला चाहिं सिस्टर ? कि त ब्रदर र सिस्टर भन्नु सबैलाई। कि चाहिं सर म्याम भन्नु, किन यस्तो भेदभाव ?’

प्रसङ्ग

मेरो ज्यान र हाइट सानै छ। त्यति धेरै अग्लो पनि होइन त्यति धेरै मोटो पनि हैन। काम विशेषले आफ्नो जुनियर कर्मचारीसँग कुनै अफिस गएको थिएँ। मेरो जुनियर कर्मचारी चाहिं मभन्दा उमेरमा सानै भए पनि ज्यान अलि ठूलो छ।

हामी परियोजनाका कर्मचारी। अफिसका एक जना महाशयले आवरणको आधारमा मेरो सहपाठीलाई म्याम भन्दै सम्बोधन गर्नुभयो भने मलाई चाहिं बहिनी, नानु यस्तै भन्नुभयो। कति कक्षामा पढ्छ्यौ भने जस्तो तरिकाले कुरा गर्नुभयो।

त्यस्तो फरक सम्बोधन र कुरागराइ मेरो सहपाठीलाई खपिनसक्नुभएछ। उहाँले ‘लौ सर उहाँ म्याडम त मेरो पनि हाकिम हो नि’ भन्नुभएछ। ती सर ट्वाँ पर्नुभएछ र त्यसपछि आफ्नो कुरा गर्ने तरिका फेर्न थाल्नुभयो।

प्रसङ्ग

एक परियोजनाका जिल्ला प्रमुख महिला हुनुहुन्थ्यो। एकदिन गाउँकै एउटा कार्यक्रममा सबै संघ–संस्थाका प्रमुखहरूलाई बोलाइएको थियो। त्यो जिल्लाका लागि नयाँ संस्था र सुरुवाती समय भएका कारण धेरैलाई त्यहाँका प्रमुख महिला हुनुहुन्छ भनेर थाहा रहेनछ।

पत्र काट्दा पनि कार्यालय प्रमुखज्यू भनेर काटिएको थियो। गाडी लिएर ड्राइभरका साथ उहाँ त्यो कार्यक्रममा पुग्नुभयो। कार्यक्रममा सबैले ड्राइभरलाई कार्यालयको प्रमुख सोच्नुभयो र ‘नमस्कार सर आउनुस्’ भन्दै भित्र लगियो। जो मुख्य अतिथि हुनुहुन्थ्यो उहाँलाई एकछिन यता बस्दै गर्नुस् है बहिनी भनियो।

लिङ्गका आधारमा महिला र पुरुषबीच फरक व्यवहार र सम्बोधनका किस्सा त धेरै भोगेकी छु। साथै बाहिरी आवरण, कद र उमेरका आधारमा पनि फरक व्यवहार हुने गरेको छ। जुन तपाईंहरूले पनि वेला मौकामा भोग्नु नै भएको होला।

लैङ्गिक समानताका बारेमा थुप्रै बहसहरू भएतापनि अझै पनि महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन। कुनै पनि कार्यालयमा महिला हाकिम छन् भने पनि उनीहरूलाई दिदीबहिनीको सम्बोधन गर्ने गरिन्छ जबकि त्यही पदमा पुरुष हुँदो हो त सर हजुर भन्दै सम्बोधन हुनेथियो।

यसो भनिरहँदा मैले यहाँ जी–हजुर र चाप्लुसी खोजेको भन्ने अर्थ नलागोस्। सामान्य रूपमा सबैलाई समान व्यवहार होस् भन्ने मेरो तात्पर्य हो।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहँदा यस्ता खालका फरक व्यवहार र विभेदका विषयमा पनि बहस हुन जरुरी छ। हेर्दा सामान्य लागेतापनि यस्ता सम्बोधन र व्यवहारहरूले विशेषगरी युवा उमेरका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक र महिला कर्मचारीलाई हीनताबोध हुन्छ। हेपिएको महसुस हुन्छ। साथै आत्मविश्वास घट्ने र आफूलाई अझै प्रमाणित गरेर देखाउनुपर्ने जस्तो दबाब आइपर्छ।

सँगसँगै मानसिक रूपमा पनि असर परिरहेको हुन्छ। मैले केही साथीहरूसँग यस बारेमा सोध्दा प्रायः सबैले लिङ्ग र आवरणको आधारमा आफूले त्यस्तो फरक सम्बोधन र व्यवहार भोगेको अनुभव बाँड्नुभयो।

एक जना युवा अवस्था कि साथीले भन्नुभयो, ‘यस्तो फरक व्यवहार त मैले कति भोगें कति, एक त महिला त्यसमाथि सानो कदको ज्यान र युवा वयकी महिलालाई बहिनी नानु लगायतका सम्बोधनबाट सुरु हुन्छ। कहिलेकाहीं त सिधै तिमी भनेर पनि सम्बोधन गर्छन्। कार्यालयमा राम्रै पदमा काम गरिरहेको भए पनि पुरुष कर्मचारी र मलाई गर्ने व्यवहार एकदम फरक छ। सानो देखेर सुरुमा त कुरै सुन्न नचाहने पनि हुन्छन्। यस्तो कुराले कति नराम्रो लाग्छ नि ! कहिले त दिनभरी मूड खराब हुन्छ।’

छोरा भएर यस्तो, छोरी भएर यस्तो हुनुपर्ने/गर्नुपर्ने भन्ने भन्दा पनि मानव भएर बाँच्न दिनुपर्छ। अवसर पाएमा सबैले काम/प्रगति गर्न सक्छन्। जात, लिङ्ग या सम्पन्नताको आधारमा कोही ठूलो या सानो छैनन् भन्ने सोच राखौं। यति मात्र गरिदिंदा पनि महिला तथा सीमान्तकृत समुदायले आत्मसम्मानका साथ काम गर्न र बाँच्न पाउने छन् र देश विकासमा योगदान पुर्‍याउन सक्नेछन्

लैंगिक समानताको कुरा गर्दा हाम्रा स–साना व्यवहारबाट नै असमानता सुरु हुने गर्दछ। समानतामूलक समाज निर्माण नै दिगो विकासको एउटा लक्ष्य हो। समानताले शान्तिपूर्ण समाजको निर्माण गर्न सक्दछ जहाँ सबैले आफ्नो दक्षताको भरपूर उपयोग गर्ने सक्ने वातावरणको निर्माण हुनेछ। असमानताको अवस्थामा द्वन्द्व, झै–झगडा र विद्रोहको स्थिति सृजना हुनेछ र आफ्नो दक्षताको पनि उपयोग हुन नसकी देश विकासमा बाधा पुग्नेछ।

सम्बोधन र बोली व्यवहारहरू भनेका हाम्रा धारणा र सोचसँग सम्बन्धित हुन्छ। कुनै मन नपरेको मान्छेसँग हामीले बोल्ने बोली र आफूले एकदम सम्मान गर्ने व्यक्तिसँग हाम्रो बोली व्यवहार पक्कै फरक हुन्छ।

त्यस्तै महिला भएकै आधारमा अथवा बाहिरी आवरणका आधारमा फरक बोली तथा व्यवहार गर्नु पनि असमानता नै हो। त्यसैले हेर्दा सामान्य सम्बोधन अर्थात् बोलीमा बहस गरेको जस्तो लागेतापनि यो हाम्रो सोच र धारणासँग सम्बन्धित हुन्छ। यस्ता फरक बोली व्यवहारहरू हटाउन जरुरी छ। लैंगिक समानताका लागि अब भाषागत क्रान्ति पनि जरुरी छ।

एकछिन परिकल्पना गरौं त, समानतायुक्त समाज जहाँ कुनै किसिमको भेदभाव छैन, सबै जना आत्मसम्मानका साथ बाँचिरहेका, स्रोत सामग्रीमा बराबर पहुँच, सूचनाको हक, शिक्षामा समानता, हेर्ने दृष्टिकोणमा समानता, जात, लिङ्ग, धर्म, भूगोल, शारीरिक, मानसिक अवस्था र बाहिरी आवरण कुनै पनि कुराले हेपाहा व्यवहार नभएको। आहा कति राम्रो हुन्थ्यो नि !

हो, यस्तै समाजको परिकल्पना गर्दै लैंगिक समानता र सामाजिक समावेशीकरणमा धेरै अगाडिदेखि बहस तथा विभिन्न नीति कार्यक्रम गरिंदै आएको छ।

विश्व स्वास्थ्य संगठनको सन् २०२१ को तथ्यांक अनुसार अझै पनि नेपालमा प्रत्येक ४ मा १ महिलाले हिंसा भोगेका हुन्छन्। यो सबैको कारण वर्षौंदेखि जरो गाडेर बसेको पितृसत्ताले गर्दा हो। जे भए पनि पुरुष ठूलो/बलियो, महिला सानो/कमजोर नै हो भन्ने सोच हावी भएको छ। यस्ता फरक खालका सम्बोधन आउँदामा अचेल झनक्क रिसाएर जवाफ दिने गर्दिनँ। बरु विस्तारै सम्झाउने बुझाउने गर्छु। किनभने उसको सामाजिकीकरण अर्थात् हुर्किएको तरिका नै विभेदकारी छ भने उसको सोच र व्यवहार पनि त्यस्तै हुने गर्दछन्।

सानैदेखि छोरी मान्छे भनेको अर्काको घर जाने जात, सबैलाई रिझाएर खानुपर्ने भनेर सिकाइएको हुन्छ। नारीको गहना लज्जा हो, लजाउने सहनशील हुनुपर्छ, महिलाको परिचय नै उनको पुरुषबाट हुन्छ जस्ता भनाइहरू हामीले बच्चैदेखि सुन्दै भोग्दै आएका छौं। उता, छोरा मान्छे कमाएर ल्याउनुपर्ने, लजाउन रुन नहुने, निडर हुनुपर्ने भन्दै सिकाइएको हुन्छ।

यिनै पृष्ठभूमिमा हामीले महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फरक हुने गरेको छ। महिला र पुरुष बाहेक अर्को लिङ्ग नै हुँदैन भन्ने सोच पनि हावी भएको छ। यसले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई त आफ्नो परिचय स्थापित गर्न नै गारो परिरहेको छ। समाजले स्वीकार्न अझै पनि गाह्रो रहेको अवस्था छ।

स्मरणरहोस्, मानवअधिकारको दृष्टिबाट सबै व्यक्ति बराबर छन्। लिङ्गको आधारमा हुने विभेद मानवअधिकारको गम्भीर उल्लंघन हो।

त्यसैले आउनुहोस्, तपाईं हामी सबै हातेमालो गरौं। समानतायुक्त समाज निर्माणको लागि। मैले यसो भन्दा ठूलो काम जस्तो सुनिएला तर वास्तवमै यो तपाईं हाम्रो स–सानो कदमबाट सुरु हुन्छ। जस्तो सुरुमा त विशेषगरी औपचारिक कार्यक्रम तथा कार्यालयहरूमा लिङ्ग र बाहिरी आवरणका आधारमा फरक सम्बोधन नगरौं। बाहिरी आवरण या लिङ्गका आधारमा मनमनै धारणा बनाउन छोडिदिऔं (अंग्रेजीमा जजमेन्टल भनिन्छ क्यारे !)।

सबैलाई समान व्यवहार र सम्मान गरौं। सबैको आत्मसम्मानको ख्याल राखौं। आफ्ना सन्तानलाई समान शिक्षा अवसर दिने र समान व्यवहार गरौं। घरभित्रको काम महिलाको मात्र हो भन्ने सोच हटाऔं र सानैबाट बालबालिकालाई विभिन्न विभेदकारी सोचबाट टाढा राखौं।

छोरा भएर यस्तो, छोरी भएर यस्तो हुनुपर्ने/गर्नुपर्ने भन्ने भन्दा पनि मानव भएर बाँच्न दिनुपर्छ। अवसर पाएमा सबैले काम/प्रगति गर्न सक्छन्। जात, लिङ्ग या सम्पन्नताको आधारमा कोही ठूलो या सानो छैनन् भन्ने सोच राखौं। यति मात्र गरिदिंदा पनि महिला तथा सीमान्तकृत समुदायले आत्मसम्मानका साथ काम गर्न र बाँच्न पाउने छन् र देश विकासमा योगदान पुर्‍याउन सक्नेछन्।

(धिमाल लैंगिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा काम र्छिन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?