+
+

उत्तरकोरियाले सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि सेना पठायो-सोल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १५:५५

११ मंसिर, काठमाडौं । उत्तरकोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ ।

यसै सिलसिलामा उत्तरकोरियाले दक्षिण कोरियासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनःस्थापना गर्नका लागि उसको दक्षिणी सीमामा सेना पठाएको सोलको सेनाले सोमबार बताएको छ ।

गत साता प्योङयाङले जासुसी उपग्रह प्रक्षेपण गरेपछि जवाफमा सोलले सीमामा हुने तनावलाई कम गर्ने उद्देश्यले गरिएको सम्झौतालाई आंशिक रूपमा निलम्बन गरेको थियो । जवाफमा प्योङयाङले पुनः सम्झौता गर्न बाध्य नहुने चेतावनी दिंदै उक्त सम्झौतालाई पूर्ण रूपमा रद्द गरेको थियो ।

प्योङयाङले हालै सुरक्षा चौकीहरू पुनःस्थापना गर्नका लागि सशस्त्र कर्मचारी र उपकरणहरू पठाएको एक सैन्य अधिकारीले एएफपीलाई सोमबार बताएका छन् ।

उत्तर कोरियाली सैनिकहरूले ‘शुक्रबारदेखि सुरक्षा चौकीको पुनर्निर्माण गरेको देखेको’ एक सैन्य अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले बताएको छ । पाँच वर्ष पुरानो सैन्य सम्झौताअन्तर्गत हटाइएका सबै ११ चौकीहरू पुनःस्थापना गर्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाको सेनाले जारी गरेको एउटा तस्बिरमा उत्तर कोरियाका चार सैनिकले दुवै मुलुकलाई विभाजन गर्ने असैन्यकृत क्षेत्रमा एउटा काठको सुरक्षा चौकी पुनर्निर्माण गरिरहेको देखाइएको छ ।

उत्तरकोरियाको हतियार कार्यक्रमहरूको तीव्र विकासले सोललाई चिन्तित बनाएको छ । दक्षिण कोरियाले उत्तरकोरियाको उपग्रह प्रक्षेपणपछि सीमामा ‘निगरानी र जासुसी स्रोत’ तैनाथ गरेको छ । आणविक हतियारयुक्त उत्तर कोरियाको बढ्दो खतराविरुद्ध सुरक्षित रहन ‘आवश्यक उपाय’ भएको उसको सेनाले बताएको छ ।

जवाफमा प्योङयाङले दुवै कोरियाबीच ‘सैन्य सिमाङ्कन रेखाको छेउमा थप शक्तिशाली सशस्त्र बल र नयाँ प्रकारको सैन्य हार्डवेयर तैनाथ गर्ने’ बताएको छ ।

गत साता ‘मल्लिगयोङ-१’ को प्रक्षेपण मे र अगस्टमा दुई असफलतापछि आकाशमा सैन्य निगरानी सुरक्षित गर्ने प्योङयाङको तेस्रो प्रयास थियो ।

विशेषज्ञहरूका अनुसार जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा सफलतापूर्वक स्थापना गरेपछि विशेषगरी दक्षिण कोरिया तथा कुनै पनि सैन्य सङ्घर्षमा महत्त्वपूर्ण तथ्याङ्क प्राप्त गर्ने दिशामा उत्तरकोरियाको जासुसी जानकारी एकत्रित गर्ने क्षमतामा सुधार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?