+
+

नेपालमा राजस्थानको न्यूनचापीय प्रणालीको असर, पानी पर्ने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते ८:०४

१२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित पश्चिम भूभागमा सोमबारदेखि लागेको बादल आज बिहान पनि कायम छ । आज दिउँसोतिर भने पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

मौसमविद रोजन लामिछानेका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत छ ।

आज रातिदेखि भने पश्चिमतिरबाट मौसममा क्रमिक सुधार देखिने मौसमविद लामिछानेले जानकारी दिए ।

नेपालमा अहिले पश्चिमी वायुको साथै राजस्थानमा बनेको न्यूनचापीय प्रणालीको असर छ । त्यसैको असरले बादल लागेको छ ।

बादल लागेको बेला जाडो बढेको महसुस हुने भए पनि सोमबारको तुलनामा मंगलबार बिहान न्यूनतम तापक्रम बढी छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको रेकर्ड अनुसार आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस छ । सोमबार योभन्दा पनि कम ९.५ डिग्री सेल्सियस मापन भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज बिहान लुम्बिनी र गण्डकीमा मौसम सफा छ । तर सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश र कोशीमा आंशिकदेखि सामान्यदेखि बदली छ ।

बादल लागेको बेला हुस्सु कुहिरो नलाग्ने भएकाले अहिले हुस्सु कुहिरोको रिपोर्ट प्राप्त नभएको महाशाखाका मौसमविद लामिछानेले बताए । काठमाडौं आसपासका उच्च पहाडी भागमा पनि हिमपातको सम्भावना नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?