+
+

लाहुरे बन्ने सपना पूरा भएन, तेस्रो प्रयासमा रोडिज च्याम्पियन बनें : सञ्जीप राई

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते ११:५७

काठमाडौं । खोटाङका तन्नेरी सञ्जीप राईले हिमालय रोडिज सिजन ५ को उपाधि जिते । उनीबाट सिक्न सकिने कुरा के हो भने पटक-पटक असफल भए पनि हार मान्नु हुँदैन । रोडिजकै तेस्रो र चौथो सिजनको फिजिकल अडिसनबाटै बाहिरिएका सञ्जीप पाँचौं सिजनमा च्याम्पियन बनेका छन् । उनको जीवनको पटकथा यसरी लेखिएको थियो कि धेरैपटकको प्रयासपछि उनले सफलता चुमे ।

लाहुरे बन्न दुईपटक भिडेका उनी त्यसमा पनि फेल भए । प्रयास गर्दागर्दै उमेर पनि ढल्कियो । त्यसपछि उनी संगीतमा लागे । उनले चार हिपहप गीत सार्वजनिक गरिसकेका छन् । सँगै शारीरिक कुशलतालाई उनले रोडिजको माध्यमबाट अघि बढाए । उनको यो अनुभव युवापुस्तालाई अनुकरणीय हुन सक्छ । च्याम्पियन बनेपछि सञ्जीपले अनलाइनखबरसँग संक्षिप्त कुरा गरेका छन् । प्रस्तुत छ उनीसँगको कुराकानी :

जितलाई कसरी लिनुभएको छ ?

मेरो जीवनको अहिलेसम्मको ठूलो उपलब्धि हो यो । यसअघि पनि धेरै ठाउँमा प्रयास गरिरहेको थिएँ । रोडिजमा पनि तेस्रो सिजनमा प्रयास गरें । त्यो सिजनको पनि फिजिकल अडिसन दिएको थिएँ । त्यो बेला सफल भइनँ । चौथोमा पनि प्रयास गरेको हुँ । त्यसमा पनि भएन । अन्ततः मैले पाँचौं सिजनमा आएर प्रयास गर्दा मैले जित्न सफल भएँ ।

तीनचार वर्षदेखिको मेहनत हो । जे बन्छु भनेर लागिरहेको थिएँ, त्यो बन्न पाउँदा म एकदमै धेरै खुसी छु । जुन कुराको पछि लाग्या थिएँ, अन्ततः त्यो कुरा हासिल गरेको छु । म यसलाई मेरो जीवनको महान् उपलब्धि भन्छु ।

जितको लागि के कुरा चाहिने रहेछ ?

सुरुमा त मेहनत गर्नुपर्‍यो । आफैंले आफूलाई विश्वास गर्नुपर्‍यो, निरन्तरता दिनुपर्‍यो । किनभने यो एकैपटक भएको चीज होइन । मैले अघिदेखि नै गरिरहेको चीज हो । निरन्तर रुपमा प्रयास गर्न सके, खोजेको चीज पाउन सकिन्छ भन्ने कुरा हो ।

तपाईंले रोडिजमा सहभागी हुन प्रयास गर्नुको मुख्य कारण के थियो ?

मलाई पहिलेदेखि नै एड्भेन्चर र क्रेजी कुरा गर्न एकदमै रुचि हुन्थ्यो । यी कुरालाई पछ्याउँदै जाँदा म लाहुरेतिर पनि भिड्न पुगें । त्यता सफल भइदिएन । लाहुरे बन्ने उमेर नाघेपछि म यता रोडिजतिर लागेको हो अध्ययनसँगै । खतरा–खतरा चीज गर्न मन लाग्ने । रोडिज यही चीजसँग सम्बन्धित प्लाटफर्म भएको कारणले गर्दाखेरि रोडिजमा म आकर्षित भएको हुँ ।

लाहुरे बन्न हिंडेको मान्छे मोडिएर रोडिजतिर आउनुभएको छ । यो संयोग थियो योजना ?

योजना चाहिं हुँदै होइन । लाहुरेमा भिड्न तीन वर्षको टाइम हुन्छ । त्यो टाइममा लाहुरे नै बन्छु भनेर लागेको थिएँ । दुईपटक प्रयास गर्दा पनि सफल नभइसकेपछि उमेर पनि गयो, त्यसपछि गर्दै आएको शारीरिक कसरतलाई निरन्तरता दिन चाहें । रोडिज पनि शारीरिक र मानसिक कुरासँग सम्बन्धित भएकाले त्यो चीजमा इन्गेज भएको हो ।

तपार्इंलाई रोडिजमा सबैभन्दा कठिन लागेको टास्क के थियो ?

सबैभन्दा कठिन त अडिसनमा पास हुनै गाह्रो हो । त्यो पास गरेपछि जर्नीमा गएपछि मलाई कठिन लागेको टास्क पहिलो टास्क नै हो । डुंगा बोक्ने टास्क थियो । टीममा हुने टास्क थियो त्यो । एकजनाको मात्र रणनीतिले काम गर्दैन थियो । सबैजनाको नमिल्दा हामीलाई गाह्रो भएको थियो । दोस्रो भनेको सेमिफाइनलको टास्क थियो । त्यो निकै कठिन थियो । बीचमा भएका टास्क तुलनात्मक रुपमा सजिला थिए । म अचेत नै भएको थिएँ ती टास्क गर्दा ।

एउटै ग्याङबाट दुईजनाले फाइनलमा प्रतिस्पर्धा गर्दा कस्तो अनुभव हुने रहेछ ?

मैले सुरुदेखि नै आफ्नो उत्कृष्टता दिन खोजिरहेको थिएँ । जसरी हुन्छ, आजभन्दा भोलि राम्रो गर्नुपर्छ भन्ने थियो । अन्तिममा विश्व भाइ र म एउटै टिमबाट फाइनलमा पुग्यौं । फाइनलमा पनि मैले विश्व भाइलाई जित्छु भन्दा पनि आफ्नो राम्रो गर्छु भन्ने थियो । मसँग नै थियो मेरो लडाइँ । रोडिजमा आउनुभएका सबैजना एकदमै खतरनाक नै हुनुहुन्थ्यो । तर कतिपय ठाउँमा उहाँहरुको रणनीति र तर्कले साथ नदिएको पनि हुन सक्छ । मेरो भने भनेजस्तै हुँदै गयो । फाइनल पनि चुनौतीपूर्ण थियो । विश्व भाइले राम्रो गर्छ र मैले पनि राम्रो गर्नुपर्छ भन्ने थियो । आफ्नो राम्रो गर्दा मेरो राम्रो भयो ।

जीवनलाई कता लैजाने योजना छ अब ?

रोडिजभन्दा अघि म संगीतमा काम गरिरहेको मान्छे हो । संगीतमा पनि हिपहप र र्‍याप गर्दै आइरहेको थिएँ । मेरा गीत आइरहेका छन् । चार गीत रिलिज भइसकेका छन् । म अब म्युजिकलाई नै निरन्तरता दिन्छु । रोडिजसँग सम्बन्धित अरु काम पनि गर्छु । मेरो फिटनेस यात्रा निरन्तर नै छ । मानसिक सक्रियता र स्वास्थ्यका लागि संगीत गर्छु । फिजिकल एक्टिभका लागि जिम गर्छु । मेरो नयाँ गीत चाँडै आउँदैछ । हिजो मात्र भिडियो सुट गरेको छु ।

एकपटक असफल भएर निराश हुने युवापुस्तालाई के भन्न चाहनुहुन्छ ?

मेरो पनि असफलता धेरै ठाउँमा भएको थियो । मैले लाहुरेकै कुरा जोडें । लाहुरे लड्ने उमेर सकिनेबित्तिकै मैले आफूलाई स्वीच गरिहालें । म लाहुरे बन्दिन भनेपछि मैले रोडिज भेटें । यो पनि नभएको भए, अरु केही गर्थें होला । तर निरन्तरता चाहिं दिनुपर्छ । चार-पाँच वर्ष कन्टिन्यु गर्ने, त्यो भएन भने अर्को गर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?