+
+

कोशीको बजेटप्रति सत्तारुढ सांसद नै असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १७:५३

१२ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा आफ्ना योजना समावेश नगरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउनेमा मुख्यमन्त्रीकै दल नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका सांदसहरु छन् ।

गत असारमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले मुख्यमन्त्री केदार कार्कीप्रति असन्तुष्टि जनाएका हुन् ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले मुख्यमन्त्रीले यसअघि गरेको सहमति उल्लङ्घन गरेको बताए । ‘बजेट निश्चित क्षेत्रमा केन्द्रित छ, हामीले दिएको योजनालाई बेवास्ता गरिएको छ’, उनले भने, ‘बजेट कसैको गोजीबाट मागेको कुरा होइन, आफ्नो झोलाबाट दिनेजस्तो ठान्नुपर्दैन ।’

मुख्यमन्त्रीले २५ लाख रुपैयाँ भन्दा कमका योजना नराख्ने भनेर आफ्नो क्षेत्रका साना बजेट कटौती गरेकामा सिटौलाले असन्तुष्टि जनाए । ‘पाँडेपजनी ढंगले बजेट विनियोजन गर्ने, राजनीतिक प्रतिशोधको भावना राख्ने हो भने सरकारको भविष्य के हुन्छ’, उनले भने, ‘९० प्रतिशत सांसद असन्तुष्ट हुनुहुन्छ ।’ बजेटमा पुनर्विचार नगरे सरकारको भविष्यमा प्रश्न उठ्ने उनले बताए ।

मंगलबारको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका उपनेता राम रानाले सांसदले छनोट गर्ने योजनामा मुख्यमन्त्रीले सहमति उल्लंघन गरेको बताएका थिए । कोशीमा प्रदेशसभा सदस्यको योजनाका लागि डेढ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट प्रत्येक क्षेत्रका सांसदका योजनामा डेढ करोड रुपैयाँ पर्ने गरी विनियोजन गर्ने सहमति भएको उनको भनाइ थियो । तर मुख्यमन्त्री कार्कीले बजेट कम दिएको र योजना पनि आफुखुशी छनोट गरेको आरोप लगाए ।

एमाले सांसद लिलाबल्लभ अधिकारीले मुख्यमन्त्रीले गाइजात्रा प्रस्तुत गर्न खोजेको टिप्पणी गरे । अमरदहदेखि डाइनिया सिक्टीसम्मको सडक अलपत्र हुँदा पनि बजेट विनियोजन नगरी अर्कै सडकलाई बजेट हालिएको भन्दै उनले असन्तुष्टि जनाए । ‘बजेट जस्केलाबाट आएको छ, जसका लाठी उसका भैसी देखिएको छ’, सांसद अधिकारीले भने, ‘खान त खानुहोस्, मह काढ्नेले अलिअलि हात चाट्छ सहुँला तर बाल्टी नै घोप्ट्याएर खानुभयो भने पच्दैन ।’

अर्का सांसद रामप्रसाद महतोले पनि मुख्यमन्त्रीले आफूखुसी बजेट कटौती गरेको बताए । सांसदले सुझाव दिएको योजनाहरु मुख्यमन्त्रीले हटाइदिएको उनको गुनासो छ । ‘जानीजानी छानीछानी हटाइएको छ योजनाहरु’, उनले भने, ‘तपाईलाई हामीले मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दैगर्दा ठूलै आशा थियो, त्यसैले यसलाई कसरी सम्बोधन गर्ने तपाईंको जिम्मेवारीमा छ ।’

सांसद उमाकान्त गौतमले मुख्यमन्त्रीबाट सांसदको हुर्मत लिने काम भएको बताए । ‘सांसदले गाउँ टोलमा वितरण गरेको योजना कटौती गरेको बताउँदै उनले भने, ‘हामीले के जवाफ दिने होला ।’

सांसद होमबहादुर थापाले बजेट सच्याउन आग्रह गरे । रोहितबहादुर कार्कीले सांसदले पेश गरेको योजनालाई निरन्तरता दिन मुख्यमन्त्रीलाई आग्रह गरे ।

सांसद बिजयकुमार राईले बजेट फिक्सिङ भएको हुनसक्ने बताए । सांसद एकराज कार्कीले बजेटले सांसदमा निराशा आएको बताए । एमालेकै सांसद मीना श्रेष्ठले यसअघि समावेश भएका योजनालाई कटौती गरेको बताउँदै बजेटलाई सच्याउन आग्रह गरिन् ।

कांग्रेस सांसद गोपाल तामाङले समान वितरणको पक्षमा कोही नदेखिएको बताए । उनले आफ्ना क्षेत्रका १३ वटा योजना काटिएपनि अहिलेको बजेट पास गर्न आग्रह गरे ।

कांग्रेसकै गोबिन्द गिरीले सरकारले आफ्ना क्षेत्रका योजना कटौती गरेको गुनासो गरे । कांग्रेस सांसद गयानन्द मण्डल गनगाई मुख्यमन्त्रीले सोधेर नै आफ्ना केही योजना राखेको बताए । कांग्रेसकै सांसद सदानन्न मण्डलले आफूपनि केही हदसम्म असन्तुष्ट रहेको बताए । आफ्ना केही योजना छुटेको उनको भनाइ छ ।

कांग्रेसकै शोभा चेम्जोङले कडा रोग लागेका विरामीलाई प्रदेश सरकारले गर्दै आएको सहयोग कटौती गर्नु गलत भएको बताइन् ।सांसदहरुको गुनासो सम्बोधन गर्न बजेट संशोधन गरेर भएपनि जानुपर्ने उनले बताइन् ।

कांग्रेसका खगेनसिंह हाङ्गामले मुख्यमन्त्रीले बजेटमाथि अन्धाधुन्ध डाडुपन्यु चलाएको आरोप लगाए । ‘केहीसमय अगाडि पाकेको खाना थियो, पछि उहाँले (मुख्यमन्त्री) बासी खानामा तातो खाना मोलेर अन्धाधुन्ध डाडु पन्यू चलाउँदाखेरि केही मिश्रण राम्रो भएन होला, त्यसैले सोचजस्तो स्वादिष्ट भएन’, उनले भने, ‘स्वाद नआएपछि असन्तुष्टि हुन्छ तर यसलाई सहर्ष स्वीकार्नुपर्छ ।’

कांग्रेस सांसद प्रदीप सुनुवारले बजेटप्रति सांसदहरुले उठाएको गुनासो जायज भएको बताए । प्रदेशसभामा बजेट प्रतिस्थापन विधेयकमाथि सोमबारदेखि छलफल सुरु भएको हो । यो विधेयक बुधबार पारित गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?