+
+

झुलाघाटबाट छुट्दैछ एमालेको गाडी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १७:५०
मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका लागि झुलाघाट जाने क्रममा बैतडीको पाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली । तस्वीर : रासस ।

१३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि (बिहीबार) देखि १८ सय ७९ किलोमिटर लामो क्याराभान सुरु गर्दैछ । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित क्याराभानका निम्ति शीर्ष नेताहरु बुधबार बैतडीको गोठालापानी बजार पुग्दैछन् ।

गोठालापानीमै बास बस्ने ओली सहितको टोलीले त्यहाँबाट साढे १८ किलोमिटर पश्चिम झुलाघाट पुगेर बिहीबार बिहान ८ः३० बजे क्याराभानको सुरुवात गर्नेछ । त्यहाँ अध्यक्ष ओलीले उद्घाटन मन्तव्य राख्ने केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए । ‘अध्यक्ष कमरेडले झण्डोत्तोलन गरेपछि एमालेको गाडी अगाडि बढ्छ, त्यो क्याराभान तीन सातामा पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ’, अधिकारी भन्छन् ।

यो क्याराभानमा एमालेले शक्ति प्रदर्शनकै रुपमा कार्यकर्ता उतार्दैछ । गत ६ मंसिरको केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले यो यात्रा सडक आन्दोलनको थालनी हुने बताएका थिए । त्यसैअनुसार, पार्टी पंक्ति परिचालित गर्ने एमालेको तयारी छ । त्यो केन्द्रीय कमिटी बैठक अगाडि भने एमालेले मध्यपहाडी लोकमार्ग भएर चल्ने यो यात्रालाई वार्षिक कार्यक्रमभित्र राखेको थियो ।

गत वर्ष मंसिरको आमचुनावमा अपेक्षित मत नआएपछि एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाएको थियो र त्यही मिसन ग्रासरुटकै समीक्षाका आधारमा एक वर्षे कार्यक्रम तय गरेको हो । पार्टी सचिव योगेश भट्टराई, क्याराभानबाट एमालेले मुख्यगरी चार सन्देश दिने बताउँछन् ।

पहाडी क्षेत्रबाट बसाइ सर्ने क्रम नरोकिएको र गाउँमा युवाहरुको आकर्षण नदेखिएकाले त्यसलाई रोक्न पनि यो क्याराभानबाट सहयोग पुग्ने एमालेले विश्वास लिएको छ ।

उनका अनुसार, राष्ट्रिय एकता र सामाजिक÷धार्मिक सद्भाव, संविधान र व्यवस्थाको रक्षा, विकास र समृद्धिमा जोड, अनि पार्टी सुदृढीकरण क्याराभानको उद्देश्य हो । ‘हामी जनताको कुरा सन्छौं । अराजकता र सद्भाव भड्काउने कुरा कसरी फैलिरहेको छ भन्ने पहिचान गर्छौं’, भट्टराई भन्छन् ।

राष्ट्रिय एकतालाई बलियो बनाउन मध्यपहाडी, महेन्द्र राजमार्ग र हुलाकी राजमार्गमा पनि यस्तो यात्रा गर्ने उनी बताउँछन् । ‘जनताको गुनासो सुनेपछि उनीहरुमा आशावादिता सिर्जना गर्नु एमालेको दायित्व हो, हामी त्यो काम गर्छौं’, भट्टराई भन्छन् ।

एमाले नेताहरुका अनुसार क्याराभानको दोस्रो उद्देश्य भने अहिलेको संविधान र व्यवस्थालाई मजबुत बनाउनु हो । व्यवस्था र संविधानविरोधी गतिविधिबारे सरकारले केही नबोलेकाले क्याराभानबाट प्रतिवाद गर्ने एमालेको तयारी छ । ‘हामी संविधान र व्यवस्था जोगाउन सरकारको ध्यानाकर्षण गराउँछौं’, सचिव भट्टराई भन्छन् ।

एमालेको तेस्रो उद्देश्यमा मध्य पहाडी क्षेत्रको विकासलाई जोड दिनु रहेको नेताहरुले बताएका छन् । पहाडी क्षेत्रबाट बसाइ सर्ने क्रम नरोकिएको र गाउँमा युवाहरुको आकर्षण नदेखिएकाले त्यसलाई रोक्न पनि यो क्याराभानबाट सहयोग पुग्ने एमालेले विश्वास लिएको छ ।

चौथो उद्देश्य भने पार्टी संगठन सुदृढीकरण हो । एमालेले आगामी चुनाव–०८४ मा एकल बहुमतको सरकार बनाउनेगरी गरिरहेको गतिविधि अन्तर्गत यो क्याराभानलाई महत्वपूर्ण मानेको छ । यो अभियानबाट विशेष गरी युवा पंक्तिलाई पार्टीमा आवद्ध गर्ने र मुलुकको नेतृत्वदायी शक्ति एमाले नै भएको सन्देश दिन खोजेको छ । नयाँ राजनीतिक शक्तिहरुको प्रभाव शहरी क्षेत्रमा देखिएकाले मध्य पहाडी लोकमार्ग भएर खुल्दै गरेका नयाँ बजारहरुमा एमाले पुग्ने उद्देश्य लिएको देखिन्छ ।

क्याराभानका क्रममा एमालेले तयार गरेको कार्यक्रमहरु हेर्दा पनि संगठनात्मक अवस्थाको सुधार नै मुख्य देखिन्छ । हरेक दिन औसतमा १०० किलोमिटर भन्दा बढी कुद्ने अभियानका क्रममा बन्दै गरेका बजारहरुमा सभा, भेटघाट र अन्तर्क्रिया राखेको छ ।

गोठालापानी, सिलगढी, मंगलसेन, दैलेख, सुर्खेत, रिम्ना, वामीटक्सार, कुस्मा, सन्दरबजार, बट्टार, कुन्तावेंसी, चरिकोट, हर्कपुर, भोजपुर, बसन्तपुर, फिदिम र च्याङ्थापुमा एमालेका नेताहरुले सम्बोधन गर्नेछन् ।

यी ठाउँहरुमा त्यहाँका नागरिकका समस्या सुन्ने, विकास निर्माणको अवस्था अवलोकन गर्ने, नयाँ काम गरिरहेका व्यक्तिहरुसँग सम्वाद गर्ने र नेतृत्वले पार्टीको कुरा राख्ने छन् । अभियानलाई शक्ति प्रदर्शनको स्वरुप दिन सम्बन्धित प्रदेश, जिल्ला र पालिकालाई मानिस उतार्ने जिम्मा दिइएको छ । सम्बन्धित कमिटीले केन्द्रीय नेतृत्व सहितको क्याराभानलाई स्वागत गर्नेदेखि बास राख्नेसम्मको व्यवस्था गर्नेछ ।

‘केन्द्रीय टोलीमा १५० जना भन्दा बढी हुनेछन् । त्यसमा प्रदेशबाट खटिएकासहित विशाल मानिसहरुको क्याराभान हुनेछ । गाडीको लस्कर देखिनेछ’, केन्द्रीय कार्यालय सचिव अधिकारी भन्छन् ।

अभियानका क्रममा बास बस्ने ठाउँहरूः

मंसिर–१३ : गोठालापानी
मंसिर–१४ : अमरगढी
मंसिर–१५ : सिलगढी
मंसिर–१६ : मंगलसेन
मंसिर–१७ : दैलेख
मंसिर–१८ : सुर्खेत
मंसिर–१९ : रुकुमकोट
मंसिर–२० : गलकोट
मंसिर–२१ : पोखरा
मंसिर–२२ : गोरखा
मंसिर–२३ : बगरकोट
मंसिर–२४ : धुलिखेल
मंसिर–२५ : मन्थली
मंसिर–२६ : दिक्तेल
मंसिर–२७ : भोजपुर
मंसिर–२८ : बसन्तपुर
मंसिर–२९ : संक्रान्तिबजार
मंसिर–३० : फिदिम
पुस–१ : चिवाभञ्ज्याङ

सभा/भेला/भेटघाट

गोठालापानी
सिलगढी
मंगलसेन
दैलेख
सुर्खेत
रिम्ना
वामीटक्सार
कुस्मा
सन्दरबजार
बट्टार
मण्डन कुन्तावेंसी
चरिकोट
हर्कपुर
भोजपुर
बसन्तपुर
फिदिम
च्याङ्थापु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?