+
+
Shares

रूसबाट नराम्रो खबर आयो, नाति टुहुरो भयो

‘परिवार टुहुरो बनाएर कोही रूस नजाओस्’

सुदिप श्रेष्ठ सुदिप श्रेष्ठ
२०८० मंसिर १३ गते २१:१०
गंगाराजका बाबु कृष्णबहादुर ।

१३ मंसिर, इलाम । पेन्सन पनि नपाउने, शान्ति सेना पनि जान नपाउने हल्ला चलेपछि इलाम–९ सुकिलुम्बाका गंगाराज मोक्तानले नेपाली सेनामा पाँच वर्ष खाएको जागिर बीचैमा छाड्ने निर्णय गरेका थिए ।

गंगाराज २०७२ सालमा घर फर्किए । इलाममै केही गर्ने भन्दाभन्दै तीन वर्ष यसै बित्यो ।

पत्नी याङ्किला शेर्पासँग सल्लाह गरेर २०७६ सालमा उनी दुबई उडे । घर छाड्ने बिहान छोरा गंगाराजलाई देख्न पाएका थिएनन्, ६८ वर्षे पिता कृष्णबहादुर र आमा सन्तमायाले । अघिल्लो साँझ नै उनी बुवा–आमासँग छुटेर अलिक वरको आफ्नो घर आएथे । बिहानै पत्नी याङ्किला र अढाइवर्षे छोरासँग बिदा भई काठमाडौं गए । केही दिनपछि दुबई उडे ।

अनलाइनखबरका लागि कुरा गर्ने क्रममा कृष्णबहादुरले दुःखमनाउ गरे, ‘उता (रूस) बाट नराम्रो खबर आयो, ३२ वर्षमै कान्छो छोरो ढल्यो, सानो नाति टुहुरो भो !’

दुबई जान भनेर हिंडेका गंगाराज कसरी रूस पुगे, यसको पनि सानो किस्सा छ । दुबईबाट पत्नी याङ्किलासँग गंगाराज टेलिफोनमा भनिरहन्थे, ‘सोचे जस्तो कमाउनै सकिनँ । यसरी कसरी चल्छ होला !’

गंगाराजको घर

दुबईबाट माल्टा जान पाइन्छ भनेर दलाललाई ६ लाख बुझाइसकेका रहेछन् गंगाराजले । प्रयास पार नलागे पनि उनी हार मान्नेवाला थिएनन् । कमाएको ७ लाख रुपैयाँ अरू खर्चेर उनी झन् ठूलो जोखिम लिन तयार भए ।

प्रयास साकार हुने देखेपछि गंगाराजले याङ्किलालाई फोन गरे, ‘रूस जान्छु यतैबाट । साथीहरू धमाधम गइरहेका छन् । त्यहाँ कमाइ हुन्छ रे !’

याङ्किलाले पतिको पीडा सुने पनि रूस जाने सल्लाह दिइनन् । युद्धग्रस्त रूसमा जाँदा के कसो हुने हो भन्ने आशंका उनलाई पनि थियो ।

तर गंगाराज रोकिएनन् । बचेखुचेको कमाइ रूसका नाममा फसिसकेको थियो । एक हप्ता पनि नसोची असोजको दोस्रो साता उनी रूस उडेको परिवार बताउँछ ।

याङ्किला पश्चात्ताप गर्छिन्, ‘यस्तै हुन लेखेको रैछ, र त उहाँले रूस जाने जिद्दी छोड्नुभएन । थोरै समय दुःख गर्न सक्यो भने पछि छोराको भविष्य राम्रो हुन्छ भन्ने सोच्नुभयो होला ।’

छोरालाई राम्रो स्कुल पढाउने, राम्रो ठाउँमा घर बनाउने अधुरो सपना छाडेर गंगाराज रूसमै विलाएका छन् ।

गंगाराज मोक्तान

रूस पुगेको १५ दिनसम्म इमो र टेलिग्राममा नियमित सम्पर्क भए पनि एकैचोटि कात्तिक २६ गते लक्ष्मीपूजाको दिन गंगाराजले परिवारसँग सम्पर्क गरेका थिए । उनले आफू रूस र युक्रेनको युद्धग्रस्त क्षेत्रमा एक हप्ता बसेको, र दुई दिनको आराम समय लिएर आएको पत्नी याङ्किलालाई बताएका थिए ।

कात्तिक २८ गते टेलिग्राममा गंगाराज अनलाइन देखिए पनि त्यो दिन उनको फोन आएन । एकैपल्ट रूसस्थित नेपाली दूतावासबाट फोन आयो– गंगाराज बिते ।

यो मंसिर १० को कुरा थियो ।

याङ्किलाले भनिन्, ‘२९ गते भाइटीकाकै दिन घटना भएको रहेछ, हामीलाई १२ दिनपछि मात्र खबर आयो । पैसा कमाएर सुख पाउने सपना अधुरै रह्यो ।’

यो संवाददाताले गंगाराजका छोरालाई उनी स्कुल जाने बाटोमा भेट्यो । अहिले उनी सात वर्षमा हिंड्दैछन् ।

याङ्किलाका अनुसार पति गंगाराजका नागरिकता र अन्य कागजात दुबईमा नै छन्, जसलाई ताप्लेजुङका कुनै साथीकहाँ छाडिएको छ । उनले परिवारको सम्पर्कमा आइदिन पतिका ती साथीलाई आग्रह पनि गरिन् ।

विलखबन्दमा छ गंगाराजको परिवार । दुबईमा जेनतेन कमाएको पैसा माल्टा र रूस जानका लागि एजेन्टहरूलाई बुझाउँदैमा सकियो । रूसमा गएर कमाउनै नपाई उनी बिते । याङ्किलाले भावुक हुँदै भनिन्, ‘ज्यान जोखिममा राखेर, परिवार टुहुरो बनाएर कोही रूस नजाओस् !’

इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले गंगाराजको शव ल्याउन दूतावाससँग आफ्नो नियमित सम्पर्क भइरहेको बताए । उनले भने, ‘गंगाराजको शव आएपछि मात्र परिवारजनले सद्गत तथा अन्य मृत्युकार्य गर्ने निर्णय गरेको छ, हामीले सबै प्रक्रिया पुर्‍याएर चाँडोभन्दा चाँडो शव ल्याउने प्रयास गरिरहेका छौं ।’ उनले सरकारसँग छिटो शव ल्याइदिन पनि आग्रह गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?