+
+

३१ यात्रु छुटेपछि नेपाल एयरलाइन्सले क्षमा माग्यो, आन्तरिक छानबिन पनि गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १६:१५

१४ मंसिर, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले टिकट काटिसकेका ३१ जना यात्रुहरुलाई नचढाई दुबई उडेको विषयमा क्षमा मागेको छ । साथै यसबारे आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका वाणिज्य विभाग प्रमुखलाई निर्देशन समेत दिएको छ ।

नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ जहाजले बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा सोही उडानमा टिकट काटेका ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको थियो । ती यात्रुहरुलाई होटलमा लगेर राखिएको थियो । सो सम्बन्धी समाचार बिहीबार बिहान अनलाइनखबरमा प्रकाशित भएको थियो ।

बिहीबार दिउँसो नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले विज्ञप्ति जारी गरी यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै ती सबै यात्रुहरुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जनाएका छन् ।

साथै यस्ता घटना फेरि दोहोरिन नदिन र आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभाग प्रमुखलाई विशेष निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

भएको के हो ?

नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ को फ्लाइट बुधबार राति साढे ११ बजे उड्ने भनिएको थियो । सोही अनुसार यात्रुहरुले टिकट काटेका थिए । तर सो जहाज दुई घण्टा अघि (साढे ९ बजे) नै दुबई उडेको थियो । उडान समय अघि सरेको पूर्वजानकारी नपाउँदा ३१ जना यात्रुहरु दुबई जान पाएनन् ।

तिनै यात्रुहरुमध्ये अधिवक्ता प्रज्वल विक्रम राणाले सामाजिक सन्जालमा भिडियो पोष्ट घटना सार्वजनिक गरेका थिए । उनका अनुसार नेपाल एयरलाइन्सले उडान समय अगाडि सरेको जानकारी दिएको थिएन । त्यसैले आफूसहित ३१ जना यात्रुहरु दुबई जान नपाएको उनले बताए ।

यात्रुहरुले राति साढे ११ बजे उड्ने भनिएको जहाज साढे ९ बजे नै उड्दा आफूहरु मर्कामा परेको भन्दै त्यसको लिखित कारण मागेका थिए । त्यसपछि नेपाल एयरलाइन्सका ड्युटी अफिसरले ‘भीभीआईपी फ्लाइट’का कारण यात्रुहरु छुटेको व्यहोराको पत्र दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?