
काठमाडौं । फ्यानसँग अन्तरक्रिया गर्ने मामिलामा बलिउड अभिनेता शाहरुख खान अगाडि छन् । जन्मदिन, फिल्मको प्रवर्द्धन वा खास अवसरमा उनले सामाजिक सञ्जालमार्फत फ्यानलाई धन्यवाद दिइरहेका हुन्छन् ।
उनले बेलाबेलामा नेपाली फ्यानलाई पनि यसबारे केही भनिरहेका हुन्छन् । यसै महिना आफ्नो जन्मदिनमा शाहरुखले २० नेपाली फ्यानलाई मुम्बईमा भेटेका थिए ।
उनको आगामी फिल्म ‘डंकी’ पुस ५ गते रिलिज हुँदैछ । यसका लागि शाहरुख फिल्मको प्रचारमा कस्सिएका छन् । यसका लागि उनले कुनै मौका बाँकी राखेका छैनन् । उनी यसका लागि फ्यानसँग सामाजिक सञ्जालमार्फत भलाकुसारी पनि गर्छन् ।
बिहीबार शाहरुखले यस्तै गरे । नेपाली फ्यानले ‘डंकी’को गीत ‘लुटुपुट गया’मा नाच्दै गरेको भिडियो एक्समा हालेका थिए । ‘डंकी मेनिया सुरु भयो । इटहरीको हाम्रो समूहले लुटपुट गयामा नाचेको छ । नेपाल लभ यु, किङ खान,’ शाहरुख र तापसी पन्नुलाई मेन्सन गर्दै फ्यानले पोस्ट गरेका छन् ।
शाहरुखले पनि यस्तै रमाइलो पाराले जवाफ दिएका छन् । शाहरुख लेख्छन्, ‘धन्यवाद नेपाल । तिमीहरु यति राम्रोसँग नाचेको भिडियो हेरेपछि म पनि लुटपुटिएको छु । हा..हा ।’
प्रतिक्रिया 4