+
+
ब्लग :

खस्किंदो उडान सुरक्षा

अत्यधिक भत्ता, वायुसेवाको अनौपचारिक विशेष सुविधा, विदेश तालिम समेतले गर्दा सीमित वर्गका कर्मचारीको हालीमुहाली रहँदै आएको पाइन्छ। उडान सुरक्षा जस्ता गम्भीर कार्यलाई कमाइखाने भाडोको रूपमा विकास गरिनु उडान सुरक्षामा गम्भीर लापरबाही हो।

एलेक्स सुनार एलेक्स सुनार
२०८० मंसिर १७ गते १२:००

नेपाल नागरिक उड्डयन प्राधिकरण उडान सुरक्षा प्रत्याभूति गर्ने सरकारी संयन्त्र हो। आफ्नो जिम्मेवारी अनुसार सुरक्षित र भरपर्दो छ भन्ने प्रमाणीकरण गरेर उडान सञ्चालन गर्नु प्राधिकरणको आधारभूत जिम्मेवारी हो। तर कतिपय गैरजिम्मेवार निर्णयका कारण प्राधिकरणले आफ्नो छवि उडान असुरक्षा सुनिश्चित गर्ने संस्थाको रूपमा विकास गरिरहेको भान हुन्छ। यसका केही दृष्टान्त यहाँ प्रस्तुत गरिएको छ।

पोखरामा गत वर्ष माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटना भयो। दुर्घटना हुनु केही समय पहिला मात्र सो विमानस्थल सञ्चालनमा आयो जसको अत्यावश्यक डाटाहरू समेत आफ्नो एरोनोटिकल इन्फर्मेसन पब्लिकेशन (एआईपी) मा प्रकाशित थिएनन्। जहाजको उडानलाई निकै आवश्यक पर्ने सेफ्टी डाटाहरू समेत प्रकाशन नगरी उडान सञ्चालनको लागि वायु सेवा कम्पनीहरूलाई दबाब दिनु प्राधिकरणको सुरक्षाप्रतिको गैरजिम्मेवारीको पराकाष्ठा हो।

यद्यपि यो विषय कसैको जिम्मेवारीभित्र परेन। सो गम्भीर त्रुटिलाई महानिर्देशकीय घेराभित्र राखेर विभिन्न बहानावाजीमा सो त्रुटिका जिम्मेवार अधिकारीहरू कारबाहीको दायरामा नआउनु गम्भीर सवाल हो। भयानक दुर्घटना पश्चात् समेत यस किसिमको लापरबाही गर्ने अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याइएन, बरु भूमिका बढाइयो। यद्यपि प्राधिकरण अधिकारीहरूले उडान सुरक्षाको प्रत्याभूति गर्ने एक मात्र व्यक्ति मै हुँ जसरी गैरजिम्मेवार तरिकाबाट सम्बद्ध अधिकारीहरूको हुर्मत लिन छाडेनन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कमर्सियल पाइलट लाइसेन्स वितरण गर्दछ। वायु सेवा कम्पनीका कमर्सियल पाइलटहरूलाई लाइसेन्स प्रदान गर्ने अधिकारीले नै सो परीक्षामा प्रश्न बनाउने, उत्तर परीक्षण गर्ने र सोको आधारमा कमर्सियल लाइसेन्स दिने कार्य गर्दछ।

नियमत: एउटै व्यक्ति परीक्षा लिने, प्रश्न बनाउने र उत्तर परीक्षण गर्ने कार्यमा संलग्न हुनु परीक्षा पारदर्शिताको सवालमा गम्भीर त्रुटि हो। उसो त कैयौं दुर्घटना, घटना वा बेथिति हुँदा समेत सो जिम्मेवारीमा वर्षौंदेखि एकै व्यक्ति कार्यरत हुनसक्छन्। बारम्बार दुर्घटना हुँदा पनि फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागमा कार्यरत अधिकारीहरू सोही स्थानमा कार्यरत रहनुले उडान सुरक्षामा गम्भीर सवाल उठ्ने गरेका पाइन्छन्। यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणको मालदार अड्डाको रूपमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागमा नयाँ कर्मचारीको सरुवा गर्नु पनि फलामको चिउरा चपाउनु सरह हुन्छ।

अत्यधिक भत्ता, वायुसेवाको अनौपचारिक विशेष सुविधा, विदेश तालिम समेतले गर्दा सीमित वर्गका कर्मचारीको हालीमुहाली रहँदै आएको पाइन्छ। उडान सुरक्षा जस्ता गम्भीर कार्यलाई कमाइखाने भाडोको रूपमा विकास गरिनु उडान सुरक्षामा गम्भीर लापरबाही हो।

रामेछाप विमानस्थलमा पाइलट बीच सामान्य धकेलाधकेल भयो। दुर्गम विमानस्थलमा सबै ककपिट सुरक्षाको जिम्मा वायु सेवा कम्पनी र पाइलट इन कमाण्ड वा मुख्य पाइलटलाई दिने गरी कानुनी प्रष्टता छ। यद्यपि मिडियामा एक्सनको रूपमा देखाउन नाम नै सार्वजनिक गरेर त्यहाँ कार्यरत विमानस्थल प्रमुख एयर ट्राफिक कन्ट्रोलरलाई निलम्बन गरियो।

केही समय पहिला लुक्ला विमानस्थलमा कार्यरत एक जना कार्यालय प्रमुख र ड्युटी अधिकृतलाई सफाइ समेतको मौका नदिएरै चौबिस घन्टे सरुवा गरियो। टिकटक वा अन्य कुनै माध्यमबाट आएका अनधिकृत सूचनाकै आधारमा सफाइको समेत मौका नदिएर निलम्बन वा सरुवा गर्नु सामान्य मानवअधिकार र उडान सुरक्षाका दृष्टिकोणले सही होइन।

केही समय पहिला एयर ट्राफिक कन्ट्रोलरको निर्देशन विपरीत एयर इन्डिया र नेपाल वायु सेवाको जहाजबीचको भर्टिकल सेपेरेसन मिनिमा १००० फिट भन्दा केही कम हुँदा, निर्देशन नदिइकन भर्टिकल डिसेन्ट गर्ने पाइलटलाई गर्नुपर्ने कारबाही अप्रोच कन्ट्रोलर (एटीसी) लाई सस्पेन्ड गरेको भनी मिडिया ट्रोल गर्ने काम भयो। तर केही समयपश्चात् त्यही स्तरमा भएको हिमालय एयरलाइन्स र टर्किस एयरलाइन्सको हेड-अन गराउँदा न पाइलटलाई कारबाही भयो न एयर ट्राफिकलाई।

अत्यावश्यक सेवामा कार्यरत रहेको सुरक्षा संवेदनशीलतासँग जोडिएका व्यक्तिहरूलाई विना आधार सामान्य सूचनाकै भरमा हुर्मत लिनु असुरक्षालाई थप मलजल गर्नु हो। कारबाही वा मिडिया ट्रोल हुने त्रास मनमा राखेर ककपिट छिरी जहाज उडाउने पाइलट होस् वा सूचना दिएर नेभिगेट गर्न सघाउने एयर ट्राफिक कन्ट्रोलर होस्, उनीहरूको मनमा भय सृजना गर्नु उडान सुरक्षाका दृष्टिकोणले अत्यन्तै संवेदनशील विषय हो।

लुक्ला, रामेछाप वा काठमाडौं जस्ता हरेक घटनामा एयर ट्राफिक कन्ट्रोलरहरू विनासित्ति कारबाहीको भागीदार भए। मिडिया ट्रोलले गर्दा उनीहरूको सामाजिक जीवन समेत बदलियो। अनौपचारिक मिडियाबाट प्राप्त हुने अप्रमाणित सूचनाको आधारमा प्रभावित भएर कसैको जीवनलाई नै प्रभावित गर्ने गरी कारबाही गर्दा सम्बद्ध व्यक्तिहरूको मनोदशा कस्तो बन्ला ? यो विचारणीय प्रश्न हो।

नियामक भूमिकाको नाममा कार्य सम्पादन गर्न आवश्यक वातावरण बिथोल्नु पक्कै पनि उडान सुरक्षामा गम्भीर सवाल हो। सत्य, तथ्य छानबिन समेत नगरी कारबाही वा गर्नुपर्ने कार्य नगर्ने पोखरा विमानस्थलको जस्ता घटनाहरूमा व्यवस्थापनको परस्पर विपरीत कार्य उडान सुरक्षालाई प्रतिकूल रहन्छन् नै। विभागीय मन्त्रालय वा राज्यका अन्य प्रमुख निकायले समेत यस किसिमका घटनालाई बेलैमा अध्ययन गरी उचित काम–कारबाहीको वातावरण तत्काल मिलाउनुपर्छ।

(लेखक टेक्सास अमेरिकामा उड्डयन व्यवस्थापन अध्ययनरत छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?