+
+

‘चित्रा’बाट आशावादी निर्देशक लामिछाने भन्छन्- यसमा लार्जर द्यान लाइफ कथावस्तु छ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १६:१०

काठमाडौं । निर्देशकलाई कसरी बुझ्नुहुन्छ ? प्रश्न भुईंमा खस्न नपाउँदै घनश्याम लामिछानेले भने, ‘दृश्य निर्माण गरेर कथा भन्ने वाचक ।’ उनको जवाफ जति छोटो छ, त्यसलाई पर्दामा उतार्ने काम भने मुस्किल ।

आफू दर्शक भएर अरुले निर्देशन गर्ने फिल्ममा उनी के चाहन्छन् ? उनको जवाफ छ, ‘प्रस्तुतीकरणलाई हेर्छु, कति डिटेल र गहिराइमा पुगेर विषयवस्तुको प्रस्तुति दिएको छ भनेर हेर्छु ।’ निर्देशकमा आफ्नो शैली हुनुपर्छ भन्ने उनको मान्यता छ ।

उनलाई निर्देशकले दिने स्टाइल कथाले निर्धारण गर्छ भन्ने लाग्छ । त्यही भएर उनी निर्देशन गर्दा पहिला कथा हेर्छन् र त्यसले माग गर्ने स्टाइलमा फिल्म बनाउनतिर लाग्छन् ।

हुन सक्छ यही कारण उनी ‘धौली’भन्दा ‘पञ्जैबाजा’मा परिपक्व देखिए । त्योभन्दा पनि ‘चित्रा’मा परिपक्व देखिने उनको चाहना छ । त्यो पूरा हुन्छ कि हुँदैन पुस २७ गते थाहा हुनेछ । यतिबेला भने उनी फिल्मको पोस्ट–प्रोडक्सनमा व्यस्त छन् ।

‘चित्रा’मा भिन्न शैलीको कथावस्तु र शैली पेश गरिएको लामिछानेको कथन छ । अघिल्ला फिल्मलाई सामाजिक यथार्थको निकट रहेर बनाएको भन्ने लामिछाने ‘चित्रा’लाई चाहिं ‘लार्जर द्यान लाइफ’ शैलीमा बनाएको बताउँछन् ।

अरुबाट प्रभावित नभएर चित्रा बनाएको उनको दाबी छ । ‘देखासिकीमा हामीले कथा भन्यौं । कथा भएनन् भनेर खोज्दै पनि हिंड्यौं । तर हामीले घर समाजमै रहेका कथा भनेनौं । प्रस्तुतिमा त प्रभावित भयौं–भयौं, कथा छनोट गर्दा पनि प्रभावित बन्यौं । हामी त्यसबाट पर रहँदै बाबु र छोरीको आफ्नो कथा भनेका छौं,’ उनी भन्छन् ।

फिल्मले बाबुछोरीको स्नेहको कथा भन्ने उनी बताउँछन् । केटाकेटी र पतिपत्नीको प्रेमका कथाको दायराबाट बाहिर निस्कनुपर्ने धारणा उनको छ । ‘यसमा परिवारभित्रको बाबुछोरीको प्रेमको कहानी छ, स्नेहको कहानी छ, वात्सल्यको कथा छ । यो कथासँग दर्शकले आफूलाई पनि जोड्न सक्नुहुन्छ,’ उनी भन्छन् । साथै फिल्म मनोरञ्जक रहेको तर्क उनको छ ।

‘फिल्मलाई मनोरञ्जनात्मक बनाउने कोसिस गरेको छु । पहिलो हाफ यथार्थसँग नजिक लाग्छ भने दोस्रो हाफले अलिकति नाटकीय मोड लिंदै लार्जर द्यान लाइफ शैलीको देखिन्छ,’ उनी भन्छन् ।

लामिछानेले यो फिल्मबाट सन्तोष अधिकारीलाई डेब्यु गराएका छन् । बाल कलाकार आयुषी ढकालको अभिनयबाट उनी खुसी छन् । ‘म आयुषीको कामबाट निकै प्रभावित भएँ,’ उनले भने, ‘६–७ वर्षको नानीबाट यस्तो किसिमको अभिनय आएको छ कि जुन व्यावसायिक कलाकारबाट पनि हम्मेसी पाउन मुस्किल पर्छ ।’

यो फिल्ममा प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रधान, प्रकाश घिमिरेको पनि अभिनय छ । सानैदेखि लामिछानेको रुचि कलाकारितातिर थियो । साथीले २०५१ सालमा नाटकमा कलाकार हुँदै निर्देशन सहायक बनाएपछि सुरु भएको उनको यो यात्रा फिल्मको निर्देशनसम्म आइपुगेको हो ।

२०५७ सालमा साथीभाइले नाटक मात्र किन गर्ने भनेर फिल्म बनाउन हौसाएपछि आफू यतातिर लागेको उनको भनाइ छ । उनले त्यतिबेला ‘प्रेम मिलन’ नामको डिजिटल फिल्म बनाएर निर्देशनमा डेब्यु गरे ।

गुरुङ साथीहरुले ‘रोधी’ नामक गुरुङ फिल्मको जिम्मा पनि ६० सालमा उनैलाई दिए । उनले त्यसपछि अर्को गुरुङ फिल्म ‘च्यागीं’ निर्देशन गरे । २०७० सालमा ’धौली’ फिल्मबाट भने उनी नेपाली फिचर फिल्म निर्देशनमा प्रवेश गरे ।

उनी अंग्रेजीका मास्टर थिए । ‘धौली’पछि भने उनले प्राध्यापन पेशालाई किनारा गर्दै आफूलाई ’फुलटाइम’ फिल्म लाइनमा होमेका छन् । यसबाहेक ‘लण्डन टु पेरिस’ उनको निर्माणाधीन फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?