+
+

एनएसएलमा आज ‘डबल हेडर’ : झापा र पोखरा तथा धनगढी र ललितपुर भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १६ गते ८:१०

१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा मा आज दुई खेल हुँदैछ । यस सिजन शनिवारको दिन दुई/दुई खेल अर्थात ‘डबल हेडर’ हुन्छ ।

पहिलो खेल झापा एफसी र पोखरा थण्डर्सबीच हुनेछ । पोखराको लागि यो तेस्रो र भने झापाकको लागि दोस्रो खेल हुनेछ ।

दुई खेलमा अपराजित रहेको पोखराले दुवै खेलमा क्लिनसिट राखेको थियो । पहिलो खेलमा एफसी चितवनलाई १-० ले पराजित गरेको पोखराले दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो । त्यही अपराजित यात्रालाई कायम राख्ने योजनामा पोखरा छ ।

पोखराका मुख्य प्रशिक्षक नविन न्यौपानेले यसअ३ नै टोलीको पहिलो लक्ष्य सेमिफाइनल अर्थात क्वालिफायर पुग्नु रहेको बताइसकेका छन् ।

पोखराको मार्कीमा आयुष घलान र कप्तानमा दिनेश राजवंशी छन् । यी दुवैले एक/एक पटक प्लेअर अफ दि म्याचको अवार्ड समेत जितिसकेका छन् ।

उता पहिलो पटक एनएसएल खेलिरहेको झापाको मार्की तथा कप्तानमा राष्ट्रिय टिमका सर्वाधिक गोलकर्तामध्ये एक अन्जन विष्ट छन् । स्पानिस मुख्य प्रशिक्षक रहेको झापा सिजनको पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीसँग १-० ले पराजित भएको थियो । झापा एनएसएलमा पहिलो अंक र जितको लक्ष्यमा हुनेछ । पोखरा र झापाबीचको खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

यस्तै आजको दोस्रो खेल दुई अपराजित टोली धनगढी एफसी र ललितपुर सिटी एफसीबीच हुनेछ । यो खेल साँझ साढे ५ बजे दशरथ रंगशालामै हुनेछ । दुवै टोली अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छन् ।

धनगढीले यसअघिका दुवै खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । एक जित र एक बराबरी खेलेको ललितपुर ४ अंकसहित दोस्रो स्थानमा छ । काठमाडौं रेजर्स र पोखरा थण्डर्ससँग समान अंक भएपनि ललितपुर गोलअन्तरमा अघि छ ।

पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ ले पराजित गरेको धनगढीले दोस्रो खेलमा एफसी बुटवल लुम्बिनीलाई १-० पराजित गरेको थियो ।

आशिष चौधरी मार्की रहेको धनगढीको कप्तानमा देवेन्द्र तामाङ छन् । उसका लागि विदेशी खेलाडीहरु आफिज ओलावाले, अमह हिजाजी, फोडे फोफाना र गोलकिपर मोहम्मद ताहाले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यस्तै ललितपुरको मार्की तथा कप्तानमा अनन्त तामाङ छन् । यस टिममा अनन्त सहित राष्ट्रिय टिमका सनिश श्रेष्ठ, दिनेश हेन्जन र सेसेहाङ आङदम्बे छन् ।

यस्तै फ्रेन्च गोलकिपर जेफ्री बाल्टुस र फरवार्ड पापा इबोउ केबे पनि यस टिममा छन् । अन्य विदेशी खेलाडीमा नाइजेरियाका इमोह इजेकेल र ओमलाजा करिम तथा भारतका निखिल कदम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?