+
+

११ किलो सुन तस्करी प्रकरण : ९ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १६ गते ११:२८

१५ मंसिर, काठमाडौं । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । तीनजनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएएको छ ।

आलुको बोरामा सुन लुकाएर तस्करी गर्दैगर्दा दोलखा प्रहरीले बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र सुनसँगै पक्राउ परेकाहरुको वयानको आधारमा लामाबगरमा ढुंगा मुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद भएको थियो । यही ११ किलो सुन बरामद प्रकरणमा अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो ।

जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले शुक्रबार नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र तीन जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

चिनियाँ नागरिकसँग मिलेर सुन तस्करीमा संलग्न महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन अदालतले आदेश दिएको छ । महिमा विरुद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ १५ पैसा विगो तथा दिपेन्द्र शाक्य र तिलक विकविरुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा विगो कायम गरी मुद्दा दायर भएको थियो ।

यही समूहका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाइदिन अदालतको आदेश छ । केशर तामाङ र माधव कुमार मगरले ११ किलो सुन बोरामा राखेर ओसार पसार गर्दै लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको थियो ।

यसैगरी सुनमाला तामाङ र चेतनाथ न्यौपानेलाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

पक्राउ परेकामध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएर काठमाडौंमा बेच्ने गरेको पाइएको थियो । यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो । पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो । त्यही अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका थिए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय, दोलखाबाट अनुसन्धान भइरहे पनि यसमा संगठित अपराधको कसुर पनि आकर्षित हुने भएपछि सीआईबीले पनि अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?