+
+

कांग्रेसको लुम्बिनी सम्मेलन : तल्ला समितिलाई पनि जिम्मेवारी दिन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते २०:४६

१७ मंसिर, बुटवल । नेपाली कांग्रेसको पहिलो लुम्विनी प्रदेश सम्मेलनले आगामी चुनावमा विचार सिद्धान्त नमिल्ने दलहरुसँग गठबंधन गर्न नहुने प्रस्ताव पारित गरेको छ । विचार, सिद्धान्त नमिल्ने दलहरुसँगको गठबन्धनले पार्टीको तल्लो तहसम्म वैचारिक विचलन आएको ठहर गर्दै अब गठबन्धन नगर्ने प्रस्ताव पारित गरिएको हो ।

कांग्रेसको लुम्बिनी प्रदेश समितिका महामन्त्री बिक्रम खनालले चुनावमा आफ्नो विचार लिएर एक्लै जान महासमिति बैठकलाई सुझाब दिनेगरी प्रस्ताव पारित भएको बताए । चुनावमा बहुमत नआएको अवस्थामा सरकार बनाउन अरु दल सँग मिलेर गठबन्धन बनाउन सकिने तर चुनाव अघि गठबन्धन नगर्ने अधिकांश प्रतिनिधिको धारणा अनुसार प्रस्ताव पारित गरिएको खनालले बताए । सम्मेलनले संघीय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न केन्द्रसँग माग गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

शनिबार सुरु भएर आइतबार सकिएको सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रीय समितिलाई आग्रह गरेको हो।

सम्मेलनको समापनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले संघीय संरचना अनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरे। ‘संघीय लोकतान्त्रिक गणतन्त्र अनुसार हाम्रो पार्टीको संरचनालाई पनि चलायमान बनाउनुपर्‍यो । स्थानीय क्रियाशील बनाउने र निर्देशन गर्ने काम पार्टीको स्थानीय समितिले गर्नुपर्छ’,  उनले भने, ‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ । केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पनि आग्रह गर्छौं । ’

प्रदेश सभापति पुनले संघीय सरकारले पनि संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिएर प्रदेशलाई चलायनमान गराउन सम्मेलन मार्फत आग्रह गरिएको जानकारी दिए ।

प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्ने सुझाव सम्मेलनमा उठेको छ । मुलुकको विकास र समृद्धिको लागि अरु पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नु पर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने गर्ने निर्णय गरेको छ । संघदेखि वडा संरचनासम्म अरु पार्टीसँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने प्रदेश सभापति पुनले बताए ।

कांग्रेसको क्रियाशीलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनीले आग्रह गरेको छ ।

पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट स्वत: प्रतिनिधि रहने व्यवस्था खारेज गर्न र सबैले तलैदेखि लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ ।

सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरु, प्रदेश अधिवेशन प्रतिनिधि, जिल्ला सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी ७ सय भन्दा बढी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?