+
+

तस्करले अमेरिका पुर्‍याएका पुरातात्विक मूर्ति नेपाललाई फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते ११:०५
Photo Credit : Gokul Shrestha

न्यूयोर्क । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।

न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई मूर्ति हस्तान्तरण गरिएको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुंगाको मूर्ति रहेका छन् । ती मूर्तिहरु १६ औं र १७ औं शताब्दीका छन् ।

न्यूयोर्कका जिल्ला न्यायाधिवक्ता एल्विन ब्राग जुनियर, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिकारी, होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन्स, न्यूयोर्क र गृह मन्त्रालयका अधिकारीहरुले कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमलाई मूर्ति हस्तान्तरण गरे ।

नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याइएका नेपालका पुरातात्विक वस्तुहरु फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्तिहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको कार्यवहाक महावाणिज्य दुत गौतमले बताए । उनले नेपालको पुरातात्विक सम्पदा फिर्ता गरेकोमा कृतज्ञता ज्ञापन गर्दै यसको अनुसन्धानमा खट्ने अधिकृतहरुलाई विशेष धन्यवाद व्यक्त गरे ।

जिल्ला न्यायाधिवक्ता ब्रागले आफूहरु पुरातात्विक वस्तुहरूको तस्करी नेटवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएको भन्दै जति जटिल भए पनि यस्तो जालो तोड्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालबाट हराएका अन्य ऐतिहासिक वस्तुहरुको खोजीका लागि सधैं सहयोग गर्ने पनि बताए ।

यसअघि महावाणिज्य दूतावासको पहलमा १०औं शताब्दीदेखि १७औं शताब्दीका १६ वटा पुरातात्विक मूर्ति तथा वस्तु स्वदेश फर्काउन नेपाल सरकार सफल भएको छ । प्राप्त भएका मूर्ति परराष्ट्र मन्त्रालय, नेपाल पुरातत्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने महावाणिज्य दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?