+
+

गोरखामा बहुमूल्य क्वार्ज क्रिष्टल पत्थर ६ महिनादेखि प्रहरी कार्यालयमै

गोरखा दरबार कि संग्रहालय राख्ने भन्ने अन्योल यथावत

विकास मरहट्टा विकास मरहट्टा
२०८० मंसिर १९ गते १३:३८

१९ मंसिर, गोरखा । गोरखामा व्यक्तिको घरबाट प्रहरी कार्यालय लगिएको बहुमूल्य पत्थर क्वार्ज क्रिष्टल गोरखा दरवारमा राख्ने भनी मन्त्रिपरिषदले गरेको निर्णय अझै कार्यान्वयन हुन सकेको छैन ।

गोरखा नगरपालिका–७ सतिपीपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको ५४ किलोग्रामको सो पत्थर ३० साउनमा बसेको मन्त्रिपरिषद बैठकले गोरखा दरबारमा राख्ने निर्णय गरेको थियो ।

तर गोरखा दरबारमा राख्ने वा गोरखा संग्रहालयमा भन्ने बिषयमा प्रष्ट निर्देशन नआउँदा अन्योल भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । ‘दरबारमा राख्ने भन्ने त भयो, तर माथिल्लो दरबारमा राख्ने कि तल्लो दरबार भन्ने यकिन गरेर आएको छैन, त्यसैले हामी पनि अन्योलमा छौं’, उनले भने ।

यस बिषयमा केही दिनअघि गृहमन्त्रालयले आफूसँग राय सल्लाह समेत मागेको उनले जानकारी दिए । उनले भने, ‘तल्लो दरबार राख्दा ठीक कि माथि दरबार भनेर गृहबाट मलाई सोध्नुभएको थियो, मैले गोरखा संग्रहालयमा राख्यो भने नयाँ पुस्तालाई अध्ययन अनुसन्धानका लागि सहयोग पुग्छ, राख्नका लागि छुट्टै कोठा पनि छ, तर धार्मिक हिसाबले पूजापाठका लागि हो भने माथिल्लो दरबारमा राख्न उपयुक्त हुन्छ किनकि तल पूजा गर्न मिल्दैन भनेर सुझाव दिएको थिएँ ।’

गोरखा सदरमुकाम माथिको पहाडमा रहेको गोरखनाथ गुफासँगै रहेको दरबारलाई माथिल्लो दरबार र सदरमुकाममा संग्रहालय राखिएको दरबारलाई तल्लो दरबार भनेर चिन्ने गरिएको छ । कहाँ राख्ने भन्नेबारे प्रष्ट निर्देशन आए लगत्तै तोकिएको स्थानमा राखिने उनले जानकारी दिए ।

उक्त पत्थर राख्ने स्थानबारे निर्णय गर्न सम्बन्धित निकायमा आफूले सक्दो पहल गरिरहेको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । ‘ढुंगाको बिषयमा बुझ्न केही दिनअघि म आफैं खानी तथा भूगर्भ बिभाग गएको थिएँ, तर पत्र नआएकाले ढिला भएको हो भन्नुभयो । त्यहीँबाट गृहमन्त्रीलाई फोन पनि गरेँ, अब छिट्टै हुन्छ भनेर आश्वासन दिनुभयो’, उनले भने ।

मन्त्रिपरिषदले गोरखा दरबारमा राख्ने निर्णय गरे पनि कुन दरबारमा भन्ने बिषयमा बहस भइरहेको उनले जानकारी दिए । उक्त ढुंगा कहाँ राख्दा उपयुक्त भन्ने बिषयमा सबैसँग राय सुझाव लिएर त्यही अनुसार माथिल्लो निकायलाई सुझाव दिने उनको भनाइ छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म ढुंगा कहाँ राख्ने भन्ने टुंगो नलागेकामा आश्चर्य प्रकट गरे ।

‘दुई महिनाअघि उद्योग मन्त्रालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रतिनिधि भएर म गएको थिएँ । त्यहीबेला ढुंगा कहाँ राख्दा उपयुक्त हुन्छ रिपोर्ट माग्ने त्यही आधारमा निर्णय गर्ने भन्ने थियो, अहिलेसम्म निर्णय भएको रहेनछ ?’ उनले आश्चर्य जनाए ।

यसबारे आफूले थप फलोअप गर्ने उनले बताए । उक्त ढुंगा अहिले जिल्ला प्रहरी कार्यालयभित्रै राखिएको छ । गोरखा दरबारमा राख्ने कि संग्रहालय भन्ने प्रष्ट निर्देशन नआएकै कारण ढुंगा प्रहरी कार्यालयभित्रै थन्क्याएर राखिएको हो ।

लाखौं रकममा उक्त ढुंगा किनबेच हुन लागेको सूचना पाएसँगै प्रहरीले राममाया शाहीको घरमा पुगेर उक्त ढुंगा बरामद गरेको थियो । बरामद भएको दिनदेखि उक्त ढुंगा प्रहरी कार्यालयमा नै छ । उक्त ढुंगा दर्शनका लागि भन्दै प्रहरी कार्यालय पुग्नेको संख्या बढी नै रहेको छ । गोरखा आएका बेला उच्च पदस्थ व्यक्तिहरुले पनि उक्त ढुंगा निरीक्षण गर्ने गरेका छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?