+
+

भ्रष्टाचार मुद्दाका दोषी यातायातका पूर्वकार्यालय प्रमुखसहित ५ जना कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १६:४२

१९ मंसिर, विराटनगर । यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान भएका छन् ।

राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् ।

फैसलापछि फरार भएका तत्कालिन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो । मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका कर्मचारीहरुविरुद्ध भ्रष्टाचार र राजस्व हिनामिना गरी दुई वटा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले ८ चैत २०७९ मा विशेष अदालत काठमाडौँले उनीहरुलाई दोषी ठहर गरेको थियो ।

दुई वटा मुद्दामा प्रतिवादी बनाइएका उपसचिव रमेश प्रसाद दाहाल, विष्णुप्रसाद पौडेल र नयराज नेपाल, होमनाथ भट्टराईसहित ११ जना दोषी ठहर भएका थिए ।

तत्कालिन कार्यालय प्रमुख नयराज नेपाललाई ८ वर्ष कैद र १२ करोड, ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना, लेखापाल मणिराज दाहाललाई ७ बर्ष ११ महिना २३ दिन कैद र ४ करोड, ३४ लाख ५ हजार ५९४ जरिवाना भएको थियो ।

त्यस्तै कर्मचारी कुमारबहादुर कटुवाललाई ६ वर्ष कैद र १ करोड, १ लाख ६५ हजार ८१२ जरिवाना, टीकाराम अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ जरिवाना र देवराज नेपाललाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

पक्राउ परेका पाँच जना फरार प्रतिवादीबाट ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ जरिवाना असुल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीको आर्थिक वर्ष २०६९–०७० र २०७०–०७१ मा ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७१–०७२, २०७२–०७३ र २०७३–०७४ फागुन मसान्तसम्म ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिना भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष २०६९–०७० र ०७०–०७१ सम्म भएका राजस्व अनियमितताको मुद्दामा तत्कालिन उपसचिव भट्टराईलाई दुई वर्ष छ महिना कैदसहित १४ लाख पाँच हजार बिगो र त्यसको दोब्बर जरिवाना र पौडेललाई ८ वर्ष कैद र दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको थियो ।

लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल र लेखापाल टंकबहादुर खड्कालाई आठ– आठ वर्ष कैद, दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको थियो । कायम गरेको थियो ।

सोही कार्यालयको राजस्व हिनामिनाको अर्को मुद्दामा उपसचिव रमेशप्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार बिगो, विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद र पाँच करोड ८३ लाख ९२ हजार बिगो र नयराज नेपाललाई आठ वर्ष कैद र ६ करोड १७ लाख ६४ हजार बिगो कायम गरिदिएको हो ।

तीन जनाको हकमा विगो भन्दा दोब्बर जरिवानाको फैसला भएको थियो । लेखा अधिकृत टीकाराम अधिकारीलाई ९ वर्ष कैद र १४ करोड ७ लाख ९६ हजार बिगोको दोब्बर जरिवाना तोकेको थियो । लेखा अधिकृत कुमार कटवाललाई ६ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपैयाँ बिगोको दोब्बर जरिवानाको फैसला भएको थियो ।

राजस्व हिनामिना प्रकरणका मुख्य नाइके लेखापाल सुरेश अधिकारीलाई ९ वर्ष कैद, १५ करोड ३ लाख ९९ हजार ९८६ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो ।

लेखापाल देवराज नेपाललाई साढे ८ वर्ष कैद र ११ करोड २२ लाख ६३ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो । रुद्रप्रसाद दाहाललाई ८ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार ५०९ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?