+
+

भारतको सेयर बजारले बनायो नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १९:११

१९ मंसिर, काठमाडौं । भारतीय सेयर बजार बम्बई स्टक एक्स्चेन्ज परिसूचक (बीएसई सेन्सेक्स)ले उच्च अंकको रेकर्ड बनाएको छ ।

मंगलबार कारोबार बन्द हुँदा सेन्सेक्स ६९,२९६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ४३१ अंकले बढी हो ।

विगत ५२ हप्तालाई हेर्ने हो सेन्सेक्स न्यूनतम विन्दु ५७,०८४ अंकसम्म झरेको थियो । यो अंक ९ महिनाअघि मार्चमा तय भएको थियो ।

त्यस्तै निफ्टी–५० अघिल्लो दिनको तुलनामा १६८ अंक बढेर २०८५५ अंकमा पुगेको छ । ठूला पुँजीका ५० कम्पनीको सूचक जनाउने निफ्टी–५० लाई भारतमा सबैभन्दा महत्वका साथ हेरिन्छ । यो सूचकको ५२ हप्ताको न्यूनतम अंक ९ महिनाअघि (गत मार्चमा) १६,८२८ अंकसम्म झरेको थियो ।

मंगलबार फाइनान्सियल क्षेत्र सबैभन्दा बढी ५.३५ प्रतिशतको वृद्धि देखिएको छ ।

मुख्यतः अमेरिकी लगानी संस्था डेभलपमेन्ट फाइनान्स कर्पोरेसनले गौतम अडानी ग्रुपलाई सफाइ दिएसँगै सो ग्रुप अन्तर्गतका कम्पनीहरुको मूल्यमा उच्च वृद्धि हुन गई सेन्सेक्स वृद्धिमा बल पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि ११ महिनाअघि जनवरीमा अमेरिकी रिसर्च कम्पनी हिंडनबर्गले अडानी ग्रुपका कम्पनीहरुले सुशासन उल्लंघन गरेको भन्दै एक रिपोर्ट सार्वजनिक गरेको थियो, जसका कारण सो ग्रुपअन्तर्गतका कम्पनीहरुको मूल्यमा भारी गिरावट आएको थियो ।

यतिबेला लगानीकर्ता गौतम अडानी पनि ब्लुमवर्ग अर्बपति सूचीमा १६ औं स्थानमा पर्न सफल भएका छन् । उनको सम्पत्ति ७०.२ अर्ब डलर पुगेको छ ।

भारतको सेयर बजारमा चुनावको रौनकले समेत असर पारेको जानकारहरुको भनाइ छ । उनीहरुका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढका प्रमुख राज्यको चुनावमा भारतीय जनता पार्टीको जितले पनि अडानी ग्रुपका कम्पनीको मूल्य बढाएको हो ।

अर्कोतर्फ भारतीय अर्थतन्त्र सबल अवस्थामा रहनुले सेयर बजारलाई सकारात्मक प्रभाव परेको भारतको इन्भेस्टमेन्ट एडभाइजरी कम्पनी लिक्वायडका सहसंस्थापक तथा प्रमुख लगानी अधिकृत कुणाल अम्बास्ताको भनाइ छ ।

भारतको आर्थिक अवस्था अन्य मुलुकको तुलनामा सकारात्मक रहेकाले लगानीको प्रतिफल अपेक्षाकृत रहेको उनले बताए ।

उनले जीन्यूजलाई भनेका छन्, ‘भारतको आर्थिक सम्भावना अपेक्षाकृत सकारात्मक छ, बलियो कर्पोरेट आयसँगै करिब ६ प्रतिशत आर्थिक वृद्धिको निरन्तर पूर्वानुमानले बजारलाई समर्थन गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?