+
+
Shares

खानेतेल भन्सार शुल्कमा भारतको भारी कटौती, नेपाली उद्योगलाई धक्का

भन्सार शुल्क कटौतीका कारण खुला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपालतर्फ अवैध रूपमा खानेतेल भित्रिने जोखिम उच्च हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले पाम, भटमास र सूर्यमुखी खानेतेल आयातमा लाग्ने आधारभूत भन्सार शुल्क घटाएर २४ सेप्टेम्बरदेखि लागु गरेको छ ।
  • कच्चा सूर्यमुखी तेलको भन्सार १० प्रतिशतबाट शून्य र कच्चा पाम तथा सोयाबिन तेलको १० प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ ।
  • भारतको भन्सार कटौतीले नेपालका तेल उद्योगको प्रतिस्पर्धा घट्ने, उत्पादन कटौती र रोजगारीमा असर पर्ने जोखिम बढेको छ ।

८ असोज, काठमाडौं । चाडपर्वको मुखैमा भारतले खानेतेल आयातमा लाग्ने भन्सार शुल्कमा भारी कटौती गरेको छ ।

भारतको केन्द्र सरकारले पाम, भटमास (सोयाबिन) र सूर्यमुखी लगायत खानेतेलमा लाग्ने आधारभूत भन्सार शुल्कमा भारी कटौती गर्ने घोषणा गरेको हो । यो परिमार्जित भन्सार दर २४ सेप्टेम्बर (आज बिहीबार) देखि लागु भएको छ ।

त्यहाँका उपभोक्तालाई चाडपर्वमा सस्तो तेल उपलब्ध गराउने र महँगी घटाउने उद्देश्यले भारत सरकारले यो निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार कच्चा सूर्यमुखी तेलमा लाग्दै आएको १० प्रतिशत भन्सार शुल्कलाई पूर्णरूपमा खारेज (शून्य) गरिएको छ भने प्रशोधित (रिफाइन्ड) सूर्यमुखी तेल आयात शुल्क ३२.५ प्रतिशतबाट घटाएर २२.५ प्रतिशत कायम गरिएको छ ।

कच्चा पाम तेल र कच्चा सोयाबिन तेलका हकमा सरकारले आधारभूत भन्सार शुल्क १० प्रतिशतबाट आधा घटाएर ५ प्रतिशत बनाएको छ ।

यसैगरी प्रशोधित पाम तेल र प्रशोधित सोयाबिन तेलमा लाग्ने शुल्क ३२.५ प्रतिशतबाट घटाएर २७.५ प्रतिशतमा झारिएको छ ।

यसअघि सन् २०२५ को सुरुवाती समयमा पनि भारतले कच्चा तेलको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो, र त्यसैको निरन्तरता स्वरूप अहिले यो थप कटौती गरिएको जनाइएको छ ।

भारतीय उद्योग विज्ञहरूले भन्सार कटौतीको यो निर्णय घरेलु बजारका लागि अत्यन्तै महत्त्वपूर्ण समयमा आएको बताएका छन् । इन्डियन भेजिटेबल आयल प्रोड्युसर्स एसोसिएसनले घरायसी उपभोगका साथै होटल, रेस्टुरेन्ट, क्याटरिङ र मिठाई उत्पादन क्षेत्रमा खानेतेलको माग ह्वात्तै बढ्ने समयमै तेलको खुद्रा मूल्य घट्ने अपेक्षा गरेको छ ।

सूर्यमुखी तेलमा गरिएको भारी कटौतीले यसलाई निकै सस्तो बनाउने र विशेषगरी दक्षिण भारत, जहाँ यसको खपत उच्च छ, त्यहाँका उपभोक्तालाई बढी फाइदा पुग्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

नेपालमा कस्तो पर्छ असर ?

भारतको यो निर्णय भारतीय उपभोक्ताका लागि खुसीको खबर भए पनि नेपालको अर्थतन्त्र र उद्योगका लागि भने ठूलो टाउको दुखाइको विषय बनेको छ ।

नेपालको वैदेशिक व्यापारमा खानेतेल (भटमास, पाम र सूर्यमुखी) सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पर्छ । नेपाली उद्योगीहरूले तेस्रो मुलुकबाट कच्चा तेल ल्याएर प्रशोधन गरी ‘साफ्टा’ सम्झौता अन्तर्गत भारतमा शून्य भन्सारमा पठाउँदै आएका थिए ।

भारतमा भन्सार महँगो हुँदा नेपाली तेलले त्यहाँ राम्रो बजार पाएको थियो । तर, अब भारतमै कच्चा तेलको भन्सार शून्यदेखि ५ प्रतिशतमा झरेपछि भारतीय उद्योगहरूले सिधै सस्तोमा तेल आयात गर्न सक्छन् ।

नेपालमा प्रशोधन गरेर पठाउँदा लागत महँगो पर्न गई नेपाली तेलले भारतीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने छैन । यसले गर्दा मोरङ–सुनसरी, पर्सा र रुपन्देही करिडोरमा रहेका दर्जनौं खानेतेल उद्योगहरूको उत्पादन कटौती भई तिनमा समस्या उत्पन्न हुने जोखिम बढेको छ । ती उद्योगमा काम गर्ने कामदारको रोजगारी गुम्न पनि सक्छ ।

भारतमा खानेतेल निकै सस्तो हुने र नेपालमा आयात करका कारण महँगो हुने स्थिति बने अर्को गम्भीर समस्या निम्तिन सक्छ । खुला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपालतर्फ अवैध रूपमा खानेतेल भित्रिने जोखिम उच्च हुन्छ ।

भन्सार छलेर आउने यस्ता सस्तो तेलले नेपालका साना व्यवसायी र कानुनी रूपमा चलेको स्वदेशी बजार प्रणालीलाई नै अस्तव्यस्त बनाउन सक्ने सरोकारवाला बताउँछन् ।

चालु आर्थिक वर्ष पहिलो दुई महिनामा निर्यातको पहिलो स्थानमा सोयाबिन तेल छ । जुन ३६ अर्ब ४ करोड रुपैयाँ बराबर भएको छ ।

यस्तै सूर्यमुखी तेल निर्यात २ अर्ब ८ करोड बराबर छ । पाम तेल निर्यात १ अर्ब ९३ करोड बराबर भएको छ । नेपालमा खपत हुने बाहेक उत्पादित सबै तेल भारत निर्यात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?