News Summary
Generated by OK AI. Editorially reviewed.- लगातारको वर्षाका कारण पहिरोले पृथ्वी राजमार्गको धादिङ खण्डमा ७ ठाउँमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
- बीपी राजमार्ग र कान्तिलोकपथ बन्द छन् भने त्रिभुवन राजपथ अत्यावश्यक सामग्रीका लागि एकतर्फी सञ्चालनमा छ ।
- बाटो अवरुद्ध हुँदा कालीमाटी बजारमा तरकारी तथा फलफूल आपूर्ति ८५ प्रतिशतभन्दा बढी घटेर ९७ हजार ६ सय ५१ किलोमा सीमित भएको छ ।
- आपूर्ति घटेसँगै हरियो धनियाँ प्रतिकिलो ४ सय ५० रुपैयाँ पुगेको छ भने हरियो प्याज, काउली र हरियो खुर्सानीको मूल्य पनि बढेको छ ।
९ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशभरि निरन्तर पानी परिरहेको छ ।
लगातारको वर्षाका कारण देशका मुख्य तथा ग्रामीण राजमार्गहरूमा गएको पहिरोले यातायात आवागमन पूर्णरूपमा प्रभावित हुँदा यसको प्रत्यक्ष असर संघीय राजधानी काठमाडौंको भान्सामा परेको छ ।
पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ । कतिपयप ठाउँमा पहिरो पन्छाइसकिएको र कतिपय ठाउँमा पन्छाउने काम जारी छ ।
बीपी राजमार्ग र कान्तिलोकपथ बन्द छन् । यी राजमार्गहरूमा ठाउँठाउँमा पहिरो खसेका कारण बिहानैदेखि सवारीसाधनहरू आवतजावत गर्न सकेका छैनन् ।
काठमाडौंको लाइफलाइन मानिने त्रिभुवन राजपथ (हेटौँडा–नौबिसे–काठमाडौं) सडक एकतर्फी मात्रै सञ्चालनमा छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अत्यावश्यक सामग्री काठमाडौं ल्याउनका लागि त्रिभुवन राजपथ एकतर्फी खुला राखिएको छ ।
बाटो अवरुद्ध हुँदा उपत्यकामा तरकारी तथा फलफूलको आपूर्तिमा भारी गिरावट आएको छ भने बजारमा तरकारीको थोक मूल्यमै अचाक्ली वृद्धि भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार हिजो बिहीबार तरकारी, फलफूल, माछा लगायत कुल ६ लाख ५७ हजार ३ सय ८ किलो कृषि उपज भित्रिएकोमा आज शुक्रबार आपूर्तिमा ८५ प्रतिशतभन्दा बढीको गिरावट आइ जम्मा ९७ हजार ६ सय ५१ किलो मात्र भित्रिएको छ ।
आपूर्तिमा आएको यो संकुचनसँगै बजारमा ३६ वटा विभिन्न तरकारी तथा मसलाजन्य उपजको थोक मूल्यमा हिजोको तुलनामा आज भारी वृद्धि भएको छ । फलफूलको मूल्य भने तुलनात्मक रूपमा स्थिर देखिएको छ ।
बाटो अवरुद्ध हुँदा सबैभन्दा ठूलो मार हरियो सागपात र धनियाँमा परेको छ । हिजो बिहीबार प्रतिकिलो औसत १ सय २५ रुपैयाँमा बिक्री भएको हरियो धनियाँको थोक मूल्य आज एकैदिन ३ सय २५ रुपैयाँले बढेर ४ सय ५० रुपैयाँ पुगेको छ ।
त्यसैगरी हरियो प्याज १ सय ७५ रुपैयाँबाट बढेर २ सय ७५ रुपैयाँ, जिरीको साग १ सय रुपैयाँबाट १ सय ७५ रुपैयाँ र सेलरी ३०० रुपैयाँबाट बढेर ३ सय ५० रुपैयाँ कायम भएको छ ।
नेपाली भान्सामा नियमित प्रयोग हुने रायोको साग ८० रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ, पालुङ्गो साग १ सय रुपैयाँबाट १ सय १० रुपैयाँ, तोरीको साग ६५ रुपैयाँबाट १ सय १० रुपैयाँ र सौफको साग १ सय रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ पुगेको छ ।
दैनिक उपभोग्य प्रमुख तरकारीहरू गोलभेँडा, काउली र बन्दाको भाउ पनि उकालो लागेको छ । बिहीबार ७५ रुपैयाँमा किनबेच भएको ठूलो नेपाली गोलभेँडा र ८५ रुपैयाँ पर्ने ठूलो भारतीय गोलभेँडा दुवैको मूल्य आज प्रतिकिलो ९५ रुपैयाँ कायम छ ।
सानो लोकल गोलभेँडा ५५ रुपैयाँबाट ६३ रुपैयाँ र टनेलको सानो गोलभेँडा ६८ रुपैयाँबाट बढेर ७५ रुपैयाँ ६३ पैसा पुगेको छ ।
यसैगरी स्थानीय काउली हिजोको ९७ रुपैयाँबाट बढेर १ सय २८ रुपैयाँ पुगेको छ भने लोकल बन्दा ४५ रुपैयाँबाट ६० रुपैयाँ र रातो बन्दा ४५ रुपैयाँबाट ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै हाइब्रीड सेतो मूला ४५ रुपैयाँबाट ५५ रुपैयाँ र गान्टे मूला १ सय रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ पुगेको छ ।
हिजो १ सय १५ रुपैयाँ प्रतिकिलो रहेको हरियो भटमास आज १ सय ९० रुपैयाँ पुगेको छ । तितो करेला ६४ रुपैयाँबाट बढेर ७५ रुपैयाँ, लौका ५४ रुपैयाँबाट ६५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँबाट ४५ रुपैयाँ पुगेको छ । यसैगरी डल्लो हरियो फर्सी ३५ रुपैयाँबाट बढेर ५५ रुपैयाँमा किनबेच हुँदा लाम्चो भन्टा ३५ रुपैयाँबाट ४५ रुपैयाँ र डल्लो भन्टा ४५ रुपैयाँबाट ५५ रुपैयाँ कायम छ ।
मसलाजन्य उपजहरूमा हरियो खुर्सानीको मूल्यले आकाश छोएको छ । हिजो बिहीबार ९५ रुपैयाँ प्रतिकिलो रहेको लामो हरियो खुर्सानी आज २ सय ११ रुपैयाँ पुगेको छ भने माछे खुर्सानी ७५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, अकबरे खुर्सानी ९८ रुपैयाँबाट १ सय २५ रुपैयाँ र भेंडे खुर्सानी ७५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ ।
तरकारीको मूल्यमा सर्वत्र उछाल आउँदा स्याउ, केरा, अनार, मौसम, जुनारलगायतका प्रमुख फलफूलहरूको मूल्य भने हिजोकै दरमा स्थिर रहेको समितिले जनाएको छ । यातायात सुचारु नहुँदासम्म खुद्रा बजारमा पुग्दा उपभोक्ताले यी तरकारीहरूमा अझ बढी मूल्य तिरेर खरिद गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4