+
+

राष्ट्रिय बीमा संस्थान बन्यो कम्पनी, १ वर्षभित्र आईपीओ आउने

सरकारको शतप्रतिशत लगानीको राष्ट्रिय बीमा संस्थान नयाँ कानुनअनुसार कम्पनीमा रुपान्तरण भई बीमकको अनुमति प्राप्त गरेको छ । अब उसले १२ वर्षदेखि नभएको लेखापरीक्षण ६ महिनाभित्र सक्नुपर्नेछ ।

विजय पराजुली विजय पराजुली
२०८० मंसिर १९ गते २०:२९

१९ मंसिर, काठमाडौं । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा संस्थानलाई शर्तसहित कम्पनीमा रुपान्तरण हुन स्वीकृति दिएको छ । ६ वटा शर्तसहित संस्थानलाई जीवन बीमक कम्पनीको प्रमाणपत्र जारी गरिएको प्राधिकरण स्रोतले जनाएको छ ।

बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन पारित भएर २३ असोज २०७९ देखि कार्यान्वयन आएसँगै संस्थान अनिवार्यमा रुपमा कम्पनीमा जानुपर्ने बाध्यता सिर्जना भएको थियो ।

नयाँ कानुन आएपछि राष्ट्रिय बीमा संस्थान ऐन खारेज भएपछि राष्ट्रिय बीमा संस्थानलाई एक वर्षभित्र कम्पनीमा रुपान्तरण गर्नैपर्ने बाध्यता आएको थियो ।

सोहीअनुसार मन्त्रिपरिषद्ले १६ कात्तिक २०७९ मा संस्थानलाई कम्पनीमा रुपान्तरण गर्ने भनी निर्णयअनुसार बीमा प्राधिकरणले १८ कात्तिक २०८० मा संस्थानलाई कम्पनीकरणको पूर्वस्वीकृति दिएको छ । त्यसकै आधारमा राष्ट्रिय बीमा संस्थान कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनीमा रुपान्तरण भएको छ ।

संस्थानको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड राखिएको छ । कम्पनीमा दर्ता भएर जीवन बीमकको रुपमा दर्ता गरी प्रमाणपत्र पाउँ भनी प्राधिकरणमा निवेदन दिएकाले ६ वटा शर्तसहित प्राधिकरणले जीवन बीमा कम्पनीको प्रमाणपत्र दिएको हो ।

संस्थानका आर्थिक वर्ष २०६८/६९ पछिको लेखापरीक्षण स्वीकृत हुन बाँकी छ । प्राधिकरणले नयाँ कम्पनीलाई कम्पनीमा रुपान्तरण हुन अगाडिको आर्थिक वर्षको वित्तीय विवरणको लेखापरीक्षण गराई त्यसको प्रतिवेदन ६ महिनाभित्र बीमा प्राधिकरणमा पेश गर्न निर्देशन दिएको छ ।

यस्तै साविकको राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत हुनुअघिका आर्थिक वर्षहरुको सम्पत्ति तथा दायित्वको बीमाङ्कीबाट मूल्यांकन गराई त्यसको प्रतिवेदन ६ महिनाभित्र प्राधिकरणमा पेश गर्न पनि निर्देशन दिएको हो ।

त्यस्तै, राष्ट्रिय जीवनबीमा कम्पनी लिमिटेडले १ वर्षभित्र ५ अर्ब चुक्ता पूँजी पुर्‍याउनुपर्ने भएको छ । कम्पनीमा नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत सेयर लगानी छ भने उसले थप पूँजी लगानीको प्रतिवद्धता जनाइसकेको छ । नेपाल सरकारले पनि थप पूँजी लगान्ी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई सेयर जारी गर्नुपर्ने प्राधिकरण स्रोतले जनाएको छ ।

‘प्राधिकरणबाट अनुमति प्राप्त गरेको मितिले १ वर्ष भित्र बीमा ऐन, २०७९ को दफा ३६ तथा बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ को खण्ड (क) बमोजिम निर्धारण गरेको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ तथा ऐनको दफा ४४ बमोजिमको सेयर संरचना कायम गरी सोको विवरण प्राधिकरणमा पेश गर्ने,’ प्राधिकरणले तोकेको शर्तमा भनिएको छ ।

ऐनको दफा ४४ मा बीमकले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्याउनुपर्ने व्यवस्था छ ।

बीमा प्राधिकरणले संस्थानलाई कम्पनीमा रुपान्तरण गरी बीमा व्यवसायको प्रमाणपत्र दिँदा १ वर्षभित्र उक्त सेयर संरचना कायम गर्नुपर्ने शर्त तोकेको हो ।

यी हुन् प्राधिकरणले तोकेका ६ शर्त :

१. इजाजत प्राप्त गरेको ६ महिनाभित्र बीमा ऐनको दफा ३० को उपदफा (१) बमोजिम राष्ट्रिय जीवन बीमा कम्पनी लि.को नाममा जीवन बीमा व्यवसाय प्रारम्भ गर्नुपर्नेछ ।

२. प्राधिकरणबाट अनुमति प्राप्त गरेको मितिले १ वर्ष भित्र बीमा ऐन, २०७९ को दफा ३६ तथा बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ को खण्ड (क) बमोजिम निर्धारण गरेको चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ तथा ऐनको दफा ४४ बमोजिमको सेयर संरचना कायम गरी सोको विवरण प्राधिकरणमा पेश गर्ने ।

३. साविकको राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत हुनुअघिका आर्थिक वर्षहरुको सम्पत्ति तथा दायित्वको बीमाङ्कीबाट मूल्यांकन गराई सोको प्रतिवेदन ६ महिना भित्र प्राधिकरणमा पेश गर्ने ।

४. साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६८÷६९ तथा सो अघिका आर्थिक वर्षहरुका वित्तीय विवरण स्वीकृत हुँदा प्राधिकरणबाट लगाएका शर्त तथा आदेश पालना गरी ६ महिनाभित्र र साविकको संस्थान कम्पनीमा परिणत हुनु अघिसम्मका आबहरुका वित्तीय विवरणको लेखापरीक्षण गराई सोको प्रतिवेदन प्राधिकरणमा पेश गर्ने ।

५. कर्मचारी सेवा शर्त विनियमावली, आर्थिक प्रशासन विनियमावली, जोखिमाङ्कन, ग्राहक सेवा, बजार प्रर्वद्धन र पुनर्वीमा सम्बन्धी कार्यविधि तथा दिग्दर्शन र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (१) बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति, प्रक्रिया तथा कार्यक्रम अद्यावधिक गरी १ (एक) महिनाभित्र प्राधिकरणमा पेश गर्ने ।

६. अन्य शर्त तथा अवस्थाका हकमा बीमा ऐन, २०७९ को दफा २९ को उपदफा (५) बमोजिम प्राधिकरणले जारी गरेका निर्देशिका तथा तोकेका अन्य शर्तहरुको समेत पालना गर्नुपर्ने ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?