+
+

७ लाख लिएर रुसी सेनामा पठाइन्थे नेपाली, म्यानपावर सञ्चालक पनि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते २०:३०

२० मंसिर, काठमाडौं । नेपाली युवालाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ती गराउने लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली युवालाई भारत, यूएई हुँदै रुससम्म पुर्‍याएको आरोपमा उनीहरुलाई पक्राउ गरेको एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरलाई बताए ।

पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार, दाहाल पहिले कन्सल्टेन्सी चलाउँथिन् ।

पासपोर्ट बाहकमध्ये कतिपयलाई रुस लैजाने तयारी गिरोहले गरिरहेको एसएसपी खत्रीले बताए ।
अनुसन्धान अधिकृतहरुका अनुसार, सुजाताले रुस पठाउन भिसा प्रोसेसिङका लागि मात्र आफूले सहयोग गर्ने गरेको बयान दिएकी छन् । ईश्वरले पनि इन्कारी बयान दिएका छन् ।

तर, उनका दाजु भने नेपालीलाई रुस लैजान प्रत्यक्ष संलग्न रहेको खुलेको प्रहरीले बताएको छ । उनको खोजी भइरहेको छ ।

पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा प्रकरणका मुख्य आरोपी हुन् । उनी म्यानपावर सञ्चालकसमेत हुन् । काठमाडौं प्रहरीका डीएसपी अंगुर जिसीका अनुसार, उनले दुई पटक गरेर १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन् ।

‘सुरुमा ११ जना र दोस्रो पटक गरेर ७ जना पठाएको भनेका छन्’, उनले भने, ‘पहिले नेपालबाटै पनि उनीहरुलाई लगिएको देखिएको छ । पछि यूएई र भारतबाट लगिएको देखिन्छ ।’

प्रहरीका अनुसार हरिबहादुर पूर्वसैनिक समेत हुन् । उनले ५ वर्षअघिदेखि मेनपावर कम्पनी चलाउँदै आएका थिए । उनले नेपाली सुरक्षा निकायका अधिकृतहरुलाई नै समेत प्रलोभन देखाएर रुस पठाएको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, यो गिरोहले रसियामा राम्रो तलब सुविधा भएको र ग्रिन कार्ड पनि चाँडै पाइने भन्दै सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गरेको थियो ।

‘पहिले टिकटक, पछि फेसबुक र अन्य माध्यमबाट ७ लाख जति खर्च हुन्छ, मासिक २ लाख रुपैयाँ कमाई हुन्छ भनेर प्रचार गरेको देखिन्छ’, उनले भने, ‘योग्यता र समयअवधि अनुसार वृद्धि हुँदै जाने भन्ने विभिन्न माध्यमबाट प्रचार भएपछि नेपाली युवा प्रलोभनमा परेको देखिन्छ ।’

कसरी जान्थे रसिया ?

प्रहरीका अनुसार, विभिन्न माध्यमबाट प्रकाशित विज्ञापन हेरेर सम्पर्कमा आएका युवाहरुको कागजात एजेन्टले संकलन गरेर ५/१० जनाको समूह बनाएर भिसा प्रक्रिया थाल्ने गरेका थिए ।

त्यसपछि एजेन्टमार्फत रसिया जान लागेका व्यक्तिहरुको पासपोर्ट जम्मा गरेर नेपालस्थित रसियन दूतावासमा अनलाइन फर्म भर्ने गरेका थिए । यसका लागि पक्राउ परेकी सुजाताले सहजीकरण गर्ने गरेको प्रहरीको भनाइ छ ।

पासपोर्टको अगाडि पछाडिको प्रतिलिपि र निमन्त्रणा पत्र राख्नुपर्नेमा त्यो कार्ड अनुप दनुवारले बनाएर पठाएको देखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीले बताए ।

श्रम कार्यालयबाट सामूहिक रुपमा स्वीकृति लिएर जानुपर्नेमा भिजिट भिसा, नियन्त्रणा पत्र लगायतको आधारमा पठाउने गरेको पाइएको उनी बताउँछन् ।

यसरी रसिया पुगेकामध्ये दुई जना युवा फर्किएर नेपाल आएका छन् । उनीहरु प्रहरीको सम्पर्कमा भएपनि जाहेरी नदिँदा कानुनी प्रक्रिया जटिल बनेको छ । उनीहरुलाई गिरोहका सदस्यले पैसा फिर्ता दिएपछि जाहेरी दिन मानेका छैनन् ।

थप पीडित भए सम्पर्क गरिदिन समेत जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुरोध गरेको छ । ‘यो एउटा सानो पिक्चर मात्र हो, थप आउनै बाँकी छ’, एसएसपी खत्री भन्छन्, ‘थप अनुसन्धानपछि सार्वजनिक गर्छौं ।’ यो गिरोहबाट जम्मा कति जान रुस गएका थिए भन्ने खुलेको छैन ।

पक्राउ पर्ने अन्यमा काठमाडौं, जोरपार्टीका सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका मनिष न्यौपाने, काठमाडौं–१६ का रोजल महर्जन, बुढानीलकण्ठका क्षितिज गिरी, सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल छन् ।
त्यस्तै, बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?