+
+

सुकु हत्या दुई हप्तासम्म रहस्यमै, होटलमा सीसीटिभी न परिचयपत्र

विकास रोकामगर विकास रोकामगर
२०८० मंसिर २० गते १७:४२

२० मंसिर, पोखरा । ५ मंसिरमा पोखराकै व्यस्त र मानवीय चहलपहल भइरहने पोखरा बसपार्क नजिकै मारिएकी सुकु विकको घटनामा प्रहरीले अझै दोषी पहिचान गर्न सकेको छैन ।

पोखरा बसपार्क नजिकै नागढुंगास्थित युनिक होटलमा गम्भीर घाइते भएकी तनहुँकी ३८ वर्षीया सुकु विकको त्यसै दिन साँझ ७ बजे चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार तनहुँ भिमादकी विक पोखरा बसपार्क क्षेत्रकै शिला रेस्टुरेन्टमा २ वर्षदेखि काम गर्दै आएकी थिइन् ।

प्रहरीले सुरुमा शंकास्पद ६ जनालाई पक्राउ पनि गरेको थियो । तर, घटनाको ‘क्लु’ फेला नपरेको भन्दै तारेखमा छोडिसकेको छ । ‘उहाँहरुलाई अहिले आवश्यक परेको खण्डमा उपस्थित हुने गरी छोडिएको छ,’ वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले भने ।

प्रहरीका अनुसार हत्या भएको दिउँसो विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका थिए । कोठामा प्रवेश गरेको केही समयमै पुरुष बाहिरिएको र महिला साँझसम्म ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला परेकी थिइन् ।

घटना भएको १५ दिनसम्म कन दोषी पहिचान भएन त ? प्रहरीको तर्क छ, ‘घटनास्थल वरिपरि सीसीटीभी क्यामेरा नै छन् । होटलले ग्राहकको परिचय पत्र खुल्ने कागजात राखेको रहेनछ।’

पोखराका मुख्य बजार क्षेत्रका अधिकांश सीसीटिभी क्यामेरा कामै नदिने रहेको र त्यसले गर्दा पनि अनुसन्धानमा बढी कसरत गर्नुपरेको प्रहरीको भनाइ छ । ‘अहिले जति पनि ठाउँमा सीसीटिभी राखिएका छन्, ती सबै पुराना खालका छन् । मान्छे त परैको कुरा, रातो गाडीलाईसमेत सेतो देखाउँछ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘त्यस्ता सीसी क्यामेरा राख्नु र नराख्नुमा कुनै फरक छैन । त्यसमाथि भएका अधिकांश त बिग्रिइसकेका छन् ।’

घटना भएको होटल पोखराका कुनै पनि होटल व्यवसायी समितिमा आवद्ध नभएको पनि भेटिएको छ । पृथ्वी होटल व्यवसायी समिति अध्यक्ष अमृत घिमिरेका अनुसार समितिमा अहिले २ सय वटा होटल आवद्ध छन् । तर, घटना घटेको युनिक होटल समितिमा दर्ता छैन ।

‘हामीसँग दर्ता भएका होटलहरुमा सुरक्षाका मापदण्ड लागू गर्न कडाइका साथ नै लागिरहेका छौं । प्रत्येक होटलमा सीसीटिभी क्यामेरा राख्ने, ग्राहकको परिचय खुल्ने कागजात राख्ने, इन्ट्री गर्ने सबै गरिरहेकै छौं,’ घिमिरेले भने ।

उक्त घटना वडा प्रहरी कार्यालय, बैदामले अनुसन्धान गरिरहेको छ । बैदाम प्रहरी प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।

‘हामीले घटनाको अनुसन्धान जारी नै राखेका छौं,’ उनले भने, ‘अहिलेसम्म त्यस्तो केही भेटिएको छैन । अनुसन्धानकै क्रममा छौं । अब करिब नजिकनजिक पुगेका छौं ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?