+
+

एक्सन-थ्रीलर ‘११ः५५’को घोषणा : शीर्ष भूमिकामा सृष्टि श्रेष्ठदेखि महेश त्रिपाठीसम्म (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १६:२४

काठमाडौं । बिहीवार आयोजित पत्रकार सम्मेलनमा कथानक फिल्म ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । केशव पाण्डेको निर्देशनमा बन्न लागेको फिल्मलाई क्राइम थ्रीलर भनिएको छ ।

महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजको अभिनय हुनेछ । निर्देशक पाण्डेसँगै अग्रज र शेखर ज्ञवालीको पटकथा रहेको फिल्मको छायांकन शनिबारदेखि हुने जनाइयो ।

विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता छन् ।

‘म राम्रो दर्शक हुँ । एक दशकदेखिको चलचित्र सम्बन्धी अनुभवलाई संगालेर कथा तयार गरेको हुँ’, निर्देशक पाण्डेले भने, ‘यो चलचित्रमा कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र देखिनेछन् ।’

निर्देशक पाण्डेको चलचित्र सम्बन्धी स्वअध्यनले आफूलाई प्रभावित बनाएको लेखक तथा कलाकार अग्रजले बताए । उनले भने, ‘हामी प्रवासमा एक साँझ भेटिदा चलचित्र सम्बन्धी भएको छलफलले आजको सहकार्य जुरेको हो । क्राइम, थ्रिलर र सस्पेन्स भएता पनि पूर्ण रुपमा मनोरन्जनात्मक चलचित्र बन्ने छ ।’

अभिनेत्री श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन । ‘मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थेँ । यो चलचित्रमार्फत हामी पात्रको रुपमा चिनिने छौं । मेरो करिअरलाई अगाडि बढाउने खालको चलचित्र बन्ने छ भन्नेमा विश्वस्त छु’, उनले भनिन् ।

अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । ‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो । नयाँ टिम देखिएता पनि चलचित्रप्रतिको अध्ययन र अनुभवले हामी भित्र रहेको प्रतिभा पर्दामा देखिन्छ भन्नेमा विश्वस्त छु’ उनले भने ।

डेब्यु गर्न लागेका अभिनेता सागर खनालले चलचित्रको सैद्धान्तिक अध्ययनलाई व्यवहारिकरुपमा प्रयोग गर्न लागेको बताए । ‘यो मेरो डेब्यु चलचित्र भएता पनि सबैको भूमिका बराबर छ । पहिलोपटक पर्दामा देखिदा नै अभिनयमा पोख्त टिमसँग सहकार्य गर्न पाउँदा र उस्तै भूमिका पाउँदा उत्साहित छु’, खनालले भने ।

प्रद्युम्न मिश्रको छायांकन, पासाङदावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायदको कार्कीको मुख्य सहायक निर्देशन हुनेछ ।

फिल्मको कथावस्तु ६ पात्र वरपर घुम्छ । विभिन्न विशेषता बोकेका चरित्रले निम्त्याउने घटनाक्रमले सिर्जना गर्ने परिस्थिति यसमा चित्रण गरिने जनाइएको छ ।

तस्वीर : शंकर गिरी /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?