+
+

मानवअधिकार फिल्म फेस्टिभल मंसिर २३ देखि काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १६:४४

काठमाडौं । ‘सामूहिक अधिकार’को नारासहित मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा मंसिर २३ देखि २६ गतेसम्म फेस्टिभल हुन लागेको हो ।

पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको हलमा कार्यक्रम संचालन हुनेछ । महोत्सव उद्घाटन लाइभ संगीतसहित राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गर्नेछन् । सुभांगी खड्का निर्देशित २५ मिनेट लामो वृत्तचित्र ‘द एज अफ लर्निङ’ ओपनिङ फिल्मको रुपमा छ ।

डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सनसहित २६ देशका ५४ फिल्म स्क्रिनिङ हुने जनाइएको छ । नेपालसहित फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्याण्ड, म्यानमार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटाली, आयरल्याण्ड, किर्गिस्तान, जर्जिया, पोल्याण्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतका फिल्म प्रदर्शन हुने जनाइएको छ ।

फेस्टिभल जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन् । महोत्सवमा जुरीबाट छनौट भएका उत्कृष्ट पाँच फिल्मलाई अन्तर्राष्ट्रिय फिचर, अन्तर्राष्ट्रिय सर्ट फिक्सन, ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा पुरस्कृत गरिने भएको छ । एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिने भएको छ ।

फिल्म प्रदर्शनसँगै फिल्मकर्मी, दर्शक र मानव अधिकारकर्मीबीच छलफल पनि चलाइने भएको छ । यसवर्ष महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिक अधिकार ः अन्तर्राष्टिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र फिल्मकर्मीबीच दुईवटा प्यानल छलफल राखिएको छ ।

अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि हुनेछ । समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शन हुनेछ । समापन समारोह मङ्सिर २६ गते काठमाडौँको नेपाल पर्यटन बोर्डमा सम्पन्न हुनेछ ।

महोत्सव निर्देशक पाण्डव खत्रीले महोत्सवले नेपाली फिल्म र फिल्मकर्मीलाई ‘एक्सपोजर’को अवसर मात्रै होइन, मानवअधिकारको विषयलाई थप शसक्त बनाउनसमेत भूमिका खेल्ने बताए । पछिल्लो समय विश्वमा युद्ध अपराध, मानवताविरुद्धको अपराध, मानव अधिकारको उल्लङ्घन, विभिन्न समूह र समुदायप्रति हुुने विभेद बढ्दै गएकाले यस्तो महोत्सवको सान्दर्भिकत झन् बढेको खत्रीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?