+
+

वृद्धाश्रमले दलितलाई बस्न नदिएको आरोप

हरि अधिकारी हरि अधिकारी
२०८० मंसिर २२ गते १०:४४

२२ मंसिर, विराटनगर । विराटनगरको एक वृदाश्रममाथि दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप लागेको छ । उर्लाबारी नगरपालिकाको सिफारिस लिएर विराटनगरको जागृति वृद्धाश्रम गएकी ६२ वर्षीया शोभा सुन्दासलाई आश्रमले थर सोधेर फर्काइदिएको आरोप लागेको हो ।

शोभाका सन्तान छैनन् । आफन्त पनि छैनन् । अर्काको घरमा बस्दै आएकी उनले वृद्धा आश्रममा बस्न चाहेपछि उर्लाबारी नगरपालिका–१ की वडा सदस्य टीका भुजेलले विराटनगरको जागृति वृद्धश्रममा बस्नका लागि वडाबाट सिफारिस पत्र बनाइदिएकी थिइन् । तर थर सोधेर आश्रमले शोभालाई फर्काएको वडा सदस्य भुजेलले बताइन् ।

‘उहाँको कोही छैन, असहाय मान्छे हो,’ भुजेलले भनिन्, ‘आश्रममा के थरी भनेर सोध्दा उहाँले दमाई भन्नुभयो, त्यसपछि यस्तो जातको त हामीले राख्ने गरेको छैन भन्नुभयो ।’

उर्लाबारी नगरपालिका–३ ले शोभा सुन्दासलाई यही मंसिर १४ गते सिफारिस पत्र बनाइदिएको थियो । सोही सिफारिस पत्र बोकेर उनी १५ गते आश्रम गएकी थिइन् । तर आश्रमका सञ्चालकले ‘दलित रहेछौ’ भन्दै बस्न नदिएपछि उनी उर्लाबारी–७ मा अर्काको घरमा बस्दै आएको वडा सदस्य भुजेलको भनाइ छ ।

सहारा खोज्दै आश्रम पुगेकी शोभा आश्रमबाटै अपहेलित भएको भन्दै दलित अधिकारकर्मीको सहयोगमा प्रहरी कार्यालय पुगेकी थिइन् । उनले बिहीबार नै जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दिएकी छन् ।

वडा सदस्य भुजेलले जातकै कारण शोभालाई आश्रममा बस्न नदिइएको दाबी गरिन् । ‘२१ औं शताब्दीमा जातीय विभेदले गर्दा आश्रममा बस्न नपाउने दुःखलाग्दो घटना भयो,’ उनले भनिन्, ‘आश्रमले नराखेपछि उहाँ अहिले उर्लाबारी–७ मा अर्काको घरमा हुनुहुन्छ ।’

दलित अधिकारकर्मी उमेश विश्वकर्माले पनि जातका आधारमा वृद्ध महिलामाथि विभेद भएको बताए । ‘वडाको सिफारिस पत्र लिएर आएकी महिलालाई दलित रहेछौ, दलित राख्ने गरेको छैन भन्दै फर्काए,’ दलित अधिकारकर्मी विश्वकर्माले भने, ‘जातका आधारमा विभेद गरेपछि महिलाले जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि निवेदन दिनु भएको छ ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले आश्रमले बस्न नदिएको जाहेरी परेपछि बुझ्ने काम भइरहेको बताए ।

आश्रम अध्यक्ष भन्छन्– नराख्ने भनेको छैन

जागृति वृद्धाश्रम सञ्चालक समितिले भने जातकै आधारमा महिलामाथि विभेद नगरेको दाबी गरेको छ ।

आश्रमको अहिलेको भवन साँघुरो भएका कारण केही समयपछि राख्ने भनेको आश्रम अध्यक्ष भुवनेश्वरी आचार्यले जानकारी दिइन् । ‘मैले राख्दिनँ भनेको होइन, राख्ने हो, संरचना बन्दैछ, बनेपछि राख्छौं भनेको हो,’ आश्रम अध्यक्ष आचार्यले भनिन्, ‘हामीले त्यस्तो भनेकै होइन ।’ आफूले जातका आधारमा विभेद नगर्ने उनले बताइन् ।

आश्रममा अहिले सात जना वृद्धा छन् । आश्रमको भवन निर्माणकै क्रममा रहेका कारण दुई कोठामा सात जनालाई राखिएको उनले बताइन् । ‘आश्रमको संरचना बन्दैछ, सात जना छन्, बस्नका लागि दुई वटा कोठा मात्रै छ,’ उनले भनिन्, ‘मैले राख्दिनँ भनेको छैन, अलिक दिन थामिदिनु तपाईंहरुले भनेको हो ।’ भवन बनिसकेपछि ती महिलालाई राख्ने उनले बताइन् ।

 

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?