+
+

वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत निर्यात

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १२:१२

काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत भारत निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् गत २८ जेठबाट भारतीय बजारमा बिक्री गर्न सुरु गरेको थियो ।

प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम ७०० मेगावाटसम्म विद्युत निर्यात गरेको थियो । निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट  ८ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष २०८०-८१को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

सुख्खायाम सुरु भएसँगै खोला र नदीमा पानीको बहाव घटेकाले देशभित्रका जलविद्युत गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत आयात सुरु भएको छ । जसकारण शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक विद्युतको अधिकतम माग १ हजार ७०० मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत आयात सुरु गरिएको बताए ।

‘अहिले विद्युत उत्पादन र माग करिब करिब बराबरी छ, हाम्रा अर्धजलाशययुक्त विद्युतगृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘पिक समयमा आयात गर्दा विद्युतको दर महंगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ, त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरुमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत् थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ ।’

चैत र वैशाखमा विद्युत आयातको परिणाम केही बढे पनि यस वर्ष आयातभन्दा निर्यात बढी हुने उनको भनाइ छ । ‘आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत निर्यात पुनः सुरु हुने छ,यस वर्ष करिब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिंदैछ, त्यसैले अर्को वर्ष २५-३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुने छ,’ घिसिङले भने ।

प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । यसैगरी असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यातबाट आर्जन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?