+
+
अन्तर्वार्ता :

प्रत्यूष वन्तको ३२ वर्षे बहस अनुभव : ‘देशभरि नै गफ गर्ने ठाउँहरु चाहिएको छ’

 ‘राम्रो कामका लागि राम्रोसँग गफ हुनुपर्छ, नत्र कुनै पनि पेशा अघि बढाउन सकिन्न'

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते २०:२५

कमलादीस्थित एउटा कार्यालयको बैठक हलबाट सुरु मंगलबारे बहसले भर्खरै ३३ वर्ष टेक्यो । चाडबाडका केही साता, अनि कोभिड कालको भर्चुअल बहस छाड्ने हो भने यो सधैं नियमित छ । बौद्धिक, सामयिक तथा विकास छलफलका उत्सुक श्रोताहरू बबरमहलस्थित मार्टिन चौतारी हलमा भेला हुने गर्छन् ।

जुनसुकै समाज जीवन्त र गतिशील बहसहरू मार्फत झन् सबल बन्दै जान्छ । यस्तै यो नियमित छलफल शृंखलाको एकदमै ठूलो अर्थ छ, नेपालमा ‘जरूरी सार्वजनिक महत्व’ का एजेन्डादेखि सिर्जनात्मक विषयहरूमा नयाँ पुस्ताको रुचि जागृत गर्नका लागि ।

विकास र समाज सम्बन्धी बहस मात्रै नभई मिडिया र प्राज्ञिक विषयहरूमा हुने छलफलहरूबाट लाभान्वित हुने ठूलो समूह तयार भइसकेको छ । कतिले त काठमाडौं बाहिर पनि यसैको सिको गरेका छन् ।

मार्टिन चौतारीका नियमित छलफल सत्रहरूमा भाग लिने बानी बसालेका व्यक्तिहरू यति बेला देश–देशावर फैलिएका छन् । आफ्नो प्राज्ञिक कर्मलाई आलोचनात्मक सोच सहित निरन्तरता दिइरहेका छन् । यी सबै जिज्ञासु बहसकर्ता र श्रोताहरूलाई जोड्ने मियो हुन्, इतिहासकार प्रत्यूष वन्त ।

काठमाडौंमा जन्मे–हुर्केका वन्तले अमेरिकाको ब्रानडाइज विश्वविद्यालयबाट उनले बिए गरे । युनिभर्सिटी अफ पेन्सिलभेनियाबाट इतिहासमा विद्यावारिधि गरेर तीन दशकअघि नेपाल फर्के ।

वन्तसँग कुरा गर्न सजिलो पनि छ, अप्ठेरो पनि । उनी सकभर अन्तर्वार्ताहरूबाटै पन्छिन्छन् । हक्की छन् । उनको बोली खस्रो सुनिन्छ । गफिंदै जाँदा उनी लजालु र अन्तरमुखी किसिमका प्रतीत हुन्छन् ।

२८ वर्षयता स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास) को सम्पादन गर्दै आएका वन्तले मार्टिन चौतारीबाट निस्कने समाज अध्ययन नामक जर्नलमा समेत सम्पादकीय टोलीको सदस्य भएर काम गर्दै आएका छन् ।

अनलाइनखबरका लागि बसन्त बस्नेतसँग गफिने क्रममा वन्त नेपालको खुला समाजका लागि स्वतन्त्र विमर्श र बहसहरू किन आवश्यक छ भन्नेमा मुखर सुनिए । उनले काठमाडौं, मोफसल, गाउँ, शहर, डायस्पोरा सबैतिर धेरै गफ गर्ने, बहस गर्ने बानीले मात्रै समुदायलाई अगाडि लैजाने तर्क गरे ।

 तपाईंहरुले बहस संस्कृति थालेको पनि ३२ वर्ष भइसकेछ ! त्यस सम्बन्धी अनुभव सुनौं न ?

२०४६ सालभन्दा अघि खुल्ला ढंगले छलफल गर्न नपाएका विषयहरूमा जनआन्दोलन पछाडि स्वतन्त्रतापूर्वक छलफल गर्नुपर्छ भन्ने लाग्यो । नेपालको तत्कालीन नयाँ संविधानले दिएको स्वतन्त्रता प्रयोग गरेर हाम्रा अग्रजहरूले अक्टोबर १९९१ मा महिनामा दुई पटक भेट्ने गरी छलफल गर्न थाल्नुभयो ।

छलफलबाट उहाँहरूलाई व्यक्तिगत रूपमा फाइदा हुने हुन्थ्यो । कुनै खास एजेन्डाका लागि बहस गरेको होइन, नागरिकहरूको स्वतन्त्र पहल हो । त्यसरी बहस सुरु भएको करिब साढे तीन महिनापछि म आफ्नो पीएचडी रिसर्च गर्न नेपाल आइपुगें ।

विकास पाण्डे, ऊर्जा इन्जिनियर हुनुहुन्छ उहाँ लगायत साथीहरू त्यसको पहलकर्ता हो । लेखक मञ्जुश्री थापा पनि त्यसमा सामेल हुनुहुन्थ्यो । विकासले मलाई भन्नुभयो, हामी यस्तो छलफल चलाउने गर्छौं । तिमी पनि आऊ । १९९२ भइसकेको थियो । कति समय चल्ला, कालान्तरमा कस्तो रूप लेला भन्ने कसैलाई पनि चिन्ता थिएन । विषय परिवर्तन गरी–गरी बहस छलफल चलाउने भन्ने थियो ।

 बहसका विषयहरू कसरी छान्नुहुन्थ्यो ?

कुनै लामो सूची बनाएर छलफल गरेको सम्झना छैन । तर १४ दिनपछिको मंगलबार भेट्दा कुन विषयमा कुरा गर्ने भन्ने तय गरिन्थ्यो । कसले लिड गर्ने भन्ने तय गरेर फोटोकपी गरिन्थ्यो । जुन अफिसमा विकास पाण्डे काम गर्नुहुन्थ्यो, त्यसैको एउटा कोठा हामीले प्रयोग गरेका थियौं । तय गरिएको विषयमा व्यक्तिले केही लेखेर दिने चलन थियो । अनि त्यसलाई फोटोकपी गरी बाँड्थ्यौं ।

 त्यस बेला छलफलका लागि कस्ता विषय हुन्थे ?

खासगरी विकास सम्बन्धी अनुभवहरू नै हुन्थे । विकासजी आफैं लघु जलविद्युत्मा काम गर्नुहुन्थ्यो । स्वर्गीय चन्द्र गुरुङ र विकासजी मध्यपश्चिम पहाडमा माइक्रो हाइड्रो जडान गर्ने अभियानमा हुनुहुन्थ्यो । कुनै बेला पद्मरत्न तुलाधर समेत आएर छलफल चलाउनु भएको थियो ।

उसोभए खासगरी पञ्चायतको उकुसमुकुसपछि अभिव्यक्ति स्वतन्त्रताको ताजा सास फेर्ने प्रयास भन्न मिल्छ ?

मिल्छ । अहिलेकी चर्चित लेखिका मञ्जुश्री थापा, अनि मानवशास्त्री राजेन्द्र प्रधानजी पनि हुनुुहुन्थ्यो । सिर्जनात्मक विधाहरूमा पनि कहिलेकाहीं छलफल हुन्थ्यो । तर सन् १९९५ को गर्मी महिनासम्म यो छलफल चलाउने मुख्य व्यक्ति विकास पाण्डे नै हुनुहुन्थ्यो । उहाँ फेरि पढ्न गएको एक महिना जतिपछि म आइपुगें । त्यसपछि मंगलबारे छलफललाई अघि बढाउने जिम्मेवारी मेरो काँधमा आइपुग्यो ।

 व्यक्ति आउने जाने भए पनि बहस संस्कृति रोकिएनछ, होइन त ?

त्यसमा अरू व्यक्ति पनि हुनुहुन्थ्यो, जस्तो प्रसिद्ध वातावरणविद् भूषण तुलाधर । अरू थुप्रै व्यक्ति सामेल हुनुहुन्थ्यो । एक जनाले मात्रै गरेर यो चलेको होइन । धेरैको हात छ, यसमा ।

कमलादीबाट थापाथलीमा चाहिं कहिले कसरी आइपुग्यो यो बहस ?

सन् १९९५ को कुनै महिना म नेपाल आउनुअघि नै यो थापाथली आइसकेको थियो । भुइँको चकटीमा बसेर मंगलबारे चल्थ्यो । यो नियमित बहससँगै एउटा अर्को  चाहिं प्राज्ञिक खालको चलाउनुपर्छ भन्ने मैले कुरा राखें । त्यसपछि १९९६ को कुनै महिनामा बिहीबार अर्को छलफल सुरु भयो ।

कतिले चाहिं मंगलबार र बिहीबारको विषयले झुक्किने भयो भनेर गुनासो गरेपछि विकासे छलफल र प्राज्ञिक छलफल मिसाइयो । त्यसपछि बहस अझै बढ्ता हुँदै गयो । राजा ज्ञानेन्द्रले प्रजातन्त्र हरण गरेपछि भने कतिपय राजनीतिक मुद्दाहरूमा पनि प्रवेश गरेर छलफल गर्न थाल्यौं ।

साहित्य, पुस्तक, समाजको हरेक पक्षमा हामी गयौं । चाडबाड र कोभिड कालमा केही रोक बाहेक अनवरत चलिरहेको छ । पहिलो लकडाउन खुकुलो भएपछि चानचुन एक वर्ष जुममा चलायौं । दोस्रो लकडाउन खुकुलो भएपछि हामीले इनपर्सन नै चलाउन थाल्यौं ।

 तपाईंको टिमलाई यी काम गर्न केले उत्प्रेरित ग‍र्‍यो ?

यसका लागि हामी हुर्कंदाखेरिको अनुभव यस्तो भनेर सोच्न आवश्यक छ जस्तो लाग्दैन । मैले आफ्नो प्राज्ञिक कर्म अगाडि बढाउन र नेपाली समाज थप बुझ्नका लागि यस्तो खालको छलफलमा भाग लिइरहनुपर्छ भन्ने लाग्थ्यो । सन् ९० को दशकमा यस्ता छलफलहरू काठमाडौंमा अरू ठाउँमा पनि हुन्थे । मैले आफूले बाहेक अरूहरूले पनि यस्तो छलफल काठमाडौंमा चलाउँदा भाग लिएकै हो ।

व्यक्तिगत रूपमा सोच्दा, म काठमाडौंमा पञ्चायतकालमा जन्मिएर हुर्किएको, लामो समय विद्यार्थीको रूपमा देश बाहिर समय बिताएको मान्छे हुँ । म नेपाल फर्कंदा पञ्चायत ढलिसकेको थियो । त्यसपछि नेपाली समाजमा भएका परिवर्तनहरू बुझ्नका लागि पनि यस्ता छलफलहरू आफूले पनि चलाउने, त्यसमा भाग लिने, मानिसहरूलाई बोलाउने र आफूभन्दा बढी नेपाली समाज बुझेको मानिसको कुरा सुनेर ज्ञान सिक्ने भनेर म लागें ।

मार्टिन चौतारीको छलफलमा कमलमणि दीक्षितसहितका सहभागीहरु । तस्वीर : विकास रौनियार ।

यस्ता समूहमा अरू–अरू अन्य–अन्य विचारले पनि लागेको हुनुपर्छ । उहाँहरूलाई पनि तत्कालीन हिसाबले कुनै बौद्धिक फाइदा नहुने भए यति लामो समयसम्म उहाँहरू प्रतिबद्ध भएर लाग्नुहुन्थेन होला ।

यसरी बुझ्दा, लोकतान्त्रिक समाजमा अरूको ज्ञान र अनुभवबाट सिक्ने यस्तो शृंखलाहरू काठमाडौं मात्र होइन, देशभरि नै चाहिन्छ । यस्तो चलाउन सम्भव पनि छ । हामी कुनै एकदम विशेष शक्ति भएका मानिसहरू परेनौं ।

हामी साधारण र सानो समूहले यो चलाइरहेको हुनाले अरूहरूले पनि सानो समूह मिलेर नेपालका ठूला–साना शहरहरूमा मज्जाले यस्तो बहस शृंखला चलाउन सकिन्छ ।

कतिपयले त यस्तो अभ्यास गरिरहेकै छन् नि ? कतिले त नामकै पछाडि चौतारी पनि राखेका छन् !

यस्तो पनि प्रभाव परेको रहेछ भने राम्रै हो । सानो ठाउँमा पनि यस्तो छलफल चलाइरहन सकिन्छ । हरेक हप्ता नसके पनि महिनामा दुईपटक गर्न सकिन्छ । यस्तो छलफलहरूको टड्कारो आवश्यकता छ ।

सानो समूहले पनि चलाइरहन सक्छ भनेर हामीले देखायौं । अरूहरूले पनि देखाइरहनुभएको छ । छलफल गर्नुपर्ने विषयको केही कमि छैन । कहिले-कहिले वक्ताहरू खोज्न गाह्रो हुन्छ तर मिहिनेत गर्दा त्यो पनि सम्भव छ ।

हामीले चाहिं छलफलका लागि छुट्टै ठाउँ व्यवस्थित गरेका छौं । हामीलाई चाहिएर पनि होला । तर धेरै शहरमा कलेज, स्कुल, स्थानीय क्लब, पुस्तकालयका कोठामा यस्ता छलफल मज्जाले गर्न सकिन्छ ।

यसको लागि विशेष ठाउँ चाहिन्छ भन्ने पनि छैन । सुरुमा त हामीले एकजना अग्रजको अफिस कोठामा नै गरेको हो नि त ! यसरी सानो समूह मिलेर पनि देशभरि यस्ता छलफल शृंखला प्रशस्त चलाउन सकिन्छ ।

तर अब यस्ता बहस किन गर्ने ? जबकि हातैमा फेसबुक, ट्वीटर, अरू–अरू सामाजिक सञ्जाल छन् । आफूलाई मन लागेका कुरा जतिबेला पनि लेख्न सकिन्छ । मानिसले प्रतिक्रिया कमेन्टमा लेखिहाल्छन् । अब पनि पहिला पहिला जस्तो भौतिक रूपमै एकठाउँमा आउन, छलफल गर्न आवश्यक छ ?

कोभिडको एकदम डरलाग्दा पक्षहरूको माझमा हामीले एउटा कुरा सिक्यौं । कोभिड अगाडि मैले जुमको नाम पनि सुनेको थिइनँ । तर जुमले संसारभरका मान्छे जुटाउन सक्छ इत्यादि भन्ने ठूला बहसहरू भए । जुममा हुने केही बहसमा अहिले पनि म बेला–बेलामा भाग लिइरहेकै हुन्छु ।

विशेष गरेर उत्तर अमेरिकाका केही कलेजमा विद्यार्थी कोभिडको कारणले एक वर्षसम्म आफ्नो कलेजमा आउन नसक्दाको अनुभवले के सिकायो भने राम्रो शिक्षा पाउनको लागि यो अनलाइन माध्यमले मात्र सम्भव हुँदैन भन्ने कुरा अहिले प्रष्ट हुँदै आएको छ । कोभिडको समय विद्यार्थी कलेज जान सकेनन्, आफ्ना शिक्षकहरूलाई भेट्न सकेनन्, त्यो स्पष्ट कुरा भयो ।

कलेजहरू पठाउने हाम्रा नेपाली सहकर्मीले नै के भन्न थालेका छन् भने उनीहरूले पहिला पढाएका विद्यार्थी भन्दा यस्ता खालका विद्यार्थी विभिन्न हिसाबले कमजोर छन् । अहिले त एनेकडोट्सका आधारमा मात्र भनिंदैछ यो कुरा । किनभने हामी भर्खर कोभिडबाट गुज्रिएर आउँदैछौं, लामो समय नभइसकेको हुनाले यसलाई वास्तवमा अनुसन्धानले नै देखाउने अवस्था अहिले छैन होला । तर मलाई चाहिं जुम, सामाजिक सञ्जाल, अनलाइन शिक्षाले मान्छेको ज्ञानको ठूलो अभिवृद्धि हुन्छ भन्ने कुरामा पटक्कै विश्वास छैन ।

 त्यसो भए फेसबुक, ट्वीटरले बुद्धि बढाउँदैन ?

फेसबुक, ट्वीटरले केही कुरा खोजिरहेको मानिसलाई सूचना दिन्छ । कनेक्ट पनि गराउँछ । तर ज्ञानको फराकिलो उद्देश्य बढाउनका लागि भौतिक रूपमै भेटघाट, हरेक लोकतान्त्रिक समाजमा भेटघाट गरेर आफ्ना अनुभवहरू अरूलाई बाँड्ने स्थलहरू चाहिन्छ, इनपर्सन नै ।

मार्टिन चौतारीको बहसमा लेखक खगेन्द्र संग्रौला र मानवशास्त्री मेरी डेसेन । तस्वीर : विकास रौनियार ।

सामाजिक सञ्जालबाट यो केही सम्भव त पक्कै होला । तर हाम्रो जस्तो समाजमा इनपर्सन फोरमहरूको आवश्यकता छ नै । हाम्रो मात्रै होइन, अरू देशहरूमा पनि छ जस्तो लाग्छ । किनभने कोभिड कालमा जुममा कार्यक्रम गर्ने धेरै सेमिनार अहिले इनपर्सन मोडमा फर्किइसकेका छन् । यो क्रम बढ्दो छ । त्यो सबै अनलाइन नै गर्न सकिन्थ्यो भने मानिसलाई प्लेनमा उडाएर, टाढा–टाढाको दूरीबाट बोलाएर खर्च गरेर होटलमा राखेर किन सेमिनार गरिन्थ्यो होला र ? सबै जुममै चलाइन्थ्यो होला नि !

इनपर्सनमा एउटा सौन्दर्य छ । त्यस्तो खालको छलफलबाट आउने फाइदाहरू अनलाइनमा सम्भव छैन । कम्तीमा मेरो अनुभवमा मैले देखेको छैन ।

 उसोभए प्रविधिले हामीलाई नयाँ–नयाँ कुरा परिचित गराए पनि व्यक्ति–व्यक्ति भेटघाट गरेर ज्ञान अनुभव आदान–प्रदान गर्ने कुरा छाड्नुभएन ?

छाड्नु भएन । यसो भन्नाले फेरि जुममा केही कार्यक्रम नै नगरौं भनेको होइन । नेपालभन्दा बाहिर अग्रज सहकर्मीहरू र मभन्दा पनि युवा पुस्ताका धेरै मानिस अहिले विदेशका प्राज्ञिक संघ–संस्थामा पढाउने, अनुसन्धान गर्ने कर्ममा लाग्नुहुन्छ । उहाँहरू यहाँ आउँदा झ्याप्प समातेर बोलाए भइहाल्यो ।

तर मानौं, उहाँहरू नआउँदाको अवस्थामा जुमबाट उहाँहरूको ज्ञान हामीलाई चाहिन्छ भने प्रस्तुतीकरण गर्दा केही आपत्ति भएन । तर सधैं–सधैं यस्तो खालको शृंखलाहरू चलाउँदा त्यति बलियो हुन्छ जस्तो मलाई लाग्दैन ।

अहिले इनपर्सन र भर्चुअल दुवै भएको हाइब्रिड शृंखला पनि चलाइन्छ । तर इनपर्सन फोरमहरूको आवश्यकता जुम अथवा अरू अनलाइन भर्चुअल प्लेटफर्महरू आउँदैमा कम भएको छैन । यस्तो बहसको संस्कृति प्रवद्र्धन गर्न खर्चबर्च पनि जुट्नुप‍र्‍यो ।

अहिलेको जस्तो दौडधुपको समयमा मानिसलाई फुर्सद मिलाउन पनि कठिनै होला । यी सबै कुरा यस्तो हतारोको समयमा कसरी मिलाउने ?

मार्टिन चौतारी जस्ता संस्था चलाउन खर्च त चाहिन्छ नै । हाम्रा अरू परियोजनाहरूबाट हामीले सेमिनार हलको भाडा तिरिरहेका छौं । तर हामीले कहिल्यै पनि छलफलको शृंखला चलाउनका लागि भनेर पैसा मागेका पनि छैनौं, खोजेका पनि छैनौं, खोज्दैनौं पनि । त्यो अरू परियोजनाहरूले सपोर्ट गरेका व्यक्तिहरू म लगायत अरूहरूको समयबाट चल्छ । त्यसको लागि छुट्टै पैसा खोज्नुपर्छ जस्तो हामीलाई लागेन ।

म यो भन्छु कि यस्ता खालको छलफल शृंखला हाम्रो देशको विभिन्न देशहरूमा चलाउनका लागि पैसा चाहिन्छ जस्तो मलाई लाग्दैन । चाहिने व्यक्तिको समय र प्रतिबद्धता हो । मानिलिऔं, ८ जना व्यक्ति मिलेर एउटा समूह निर्माण भयो, त्यसले पोखरा अथवा धरान अथवा विराटनगर अथवा बुटवल अथवा कतै यस्तो छलफल चलाउन चाह्यो भने ८ जनामध्ये पालो पालो गरेर चलाउँदा ८ हप्तामा बल्ल एक जनाको पालो आउने भयो ।

८ हप्तामा एक पटक पालो आउँदा वर्षमा खुबै भए ६ वटा छलफल चलाउनुपर्ने हुन्छ । यस्तो छलफलमा रुचि भएका व्यक्ति, जिज्ञासा भएका र केही प्रश्नहरूको उत्तर खोजिरहेका व्यक्तिहरू छन् भने मज्जाले वर्षमा ६/७ वटा यस्तो शृंखला एउटा व्यक्तिको काँधमा पर्ने गरेर चलाउनुप‍र्‍यो । त्यो भनेको व्यक्तिको समय चाहियो । त्यसपछि ठाउँ चाहियो । अघि मैले भने झैं स्कुल, कलेज, पुस्तकालय, क्लब लगायतका कोठाहरूमा यो छलफल चलाउन सकिन्छ ।

यसरी तपाईंहरूले जुन संरचना बनाउनुभएको छ यो सधैं चाहिन्छ नै भन्ने छैन ?

छैन । सधैं एकै ठाउँमा हुनुपर्छ भन्ने पनि छैन । मानौं काठमाडौं पछि मैले नेपालमा धेरै चिनेको शहर पोखरा हो । म त्यहाँ वर्षमा धेरै पटक गइरहन्छु । पोखरामा पृथ्वीनारायण क्याम्पस जस्तो ठूलो कलेज छ । त्यहाँ विद्यार्थीको संख्या हेर्नुभयो भने अमेरिकामा मैले पहिले पढेको विश्वविद्यालयमा जति विद्यार्थी छन्, एउटा पीएन क्याम्पसमा त्योभन्दा बढी विद्यार्थी छन् ।

पीएन क्याम्पसको विभिन्न हलहरूमा मैले आफूले लेक्चर पनि दिएको छु । त्यहाँका विद्यार्थी र फ्याकल्टीहरूले गफ दिन बोलाएको बेला गएर कुरा पनि गरेको छु । त्यहाँ थुप्रै हल छन् जहाँ मज्जाले यस्ता छलफल शृंखला चलाउन सकिन्छ ।

पोखरामा अन्य ठाउँहरू पनि छन् । महेन्द्रपुलमा एउटा लाइब्रेरी छ त्यसैमा साथीहरूले बेला–बेलामा छलफल चलाउनुहुन्छ । ठाउँको पनि कमि छैन । अब कमि के रह्यो त ? तपाईंले प्रश्नमा फुर्सद भन्नुभयो ।

जिन्दगीमा आफूलाई रुचि भएको विषयमा आफ्नो समय खर्च गर्ने आफ्नो प्राथमिकता अनुसार हुन्छ । अब जीवनमा केही नयाँ कुरा सिक्नु परेको छैन, केही कौतूहल छैन, सिर्जनशीलताबारे केही चासो छैन भने त्यस्ता व्यक्तिहरूलाई यो छलफल शृंखलाहरूमा खासै रुचिको विषय हुँदैन ।

 अघि तपाईंले गफ दिन बोलाउँछन् भन्नुभयो । गफ दिने, खुरुखुरु काम गर्नुपर्दैन । यस्तो बौद्धिक विलासिता गरेर बस्ने ? गफमा रमाउने ? समय कटाउने ? देश विकास गर्नुपर्दैन भन्ने मान्छेहरू पनि त छन् ?

गफलाई मैले मजाले प्रयोग गरेको हुँ । गफ भन्ने कुरा गम्भीर हो । विशेष गरेर लोकतान्त्रिक समाजको लागि त धेरै ठूलो कुरा हो । गफ विना विकास गर्नु भनेको त्यो वाहियात् विकास हो । म तपाईंभन्दा अलि जेठो छु । राजा महेन्द्र यो देशको राजा हुँदा जन्मिएको मान्छे हो ।

सानो छँदाखेरि म राजदरबारबाट धेरै नजिक ठाउँमा जन्मेर हुर्केको मान्छे हुँ । राजा महेन्द्रले त्यतिबेला के भन्थे भने ‘हामीले कुराभन्दा बढी काम गर्नुपरेको छ ।’ यो उनको एउटा ‘महान् वाणी’ थियो । र, म स्कुल जाँदाजाँदै राजा महेन्द्र त बिते । म स्कुल जाने पहिलो दिनभन्दा एक रात अगाडि राजा महेन्द्र बिते ।

उनी बितिसकेपछि स्कुल जानको लागि जुन ठाउँमा आएर म बस चढ्थें– त्यो बस चढ्ने केशरमहलमा उहाँको त्यही महावाणी धेरै वर्षसम्म हरियो बोर्डमा लेखेर राखिएको हुन्थ्यो ।

मार्टिन चौतारीको बहसमा लेखक मञ्जुश्री थापा । तस्वीर : विकास रौनियार ।

अहिले मलाई के सम्झना छ भने त्यो पञ्चायतको एउटा नारा थियो । लोकतन्त्रमा पनि पञ्चायतकै नारा पर्याप्त हुने भए त मलाई केही भन्नु छैन । तर मैले यसरी बुझाएँ, लोकतन्त्रमा हामीले काम गर्नुपरेको छ हो । काम त गर्नु परेको छ, त्यसमा कुनै शंकै छैन ।

तर काम चाहिं कसरी गर्नु परेको छ ? के गर्नुपरेको छ भन्ने छलफल नगरी गरेको कामको म लोकतन्त्रमा खासै महत्व देख्दिनँ । हामीलाई काम सिध्याउनुपरेको होइन नि त ! हामीलाई त राम्रो काम राम्रोसँग सिध्याउनु परेको होला नि त ! हामीलाई जे पनि विकास गर्नु परेको होइन होला नि ! हामीलाई समतामूलक, समावेशी विकास गर्नुपरेको होला नि त !

ती सबै काम कसरी गर्ने भन्ने कुराको ब्रह्मज्ञान त लोकतन्त्रमा सबैसँग हुँदैन । त्यो नभएको हुनाले नै यस्तो खालको बहस चाहिएको हो नि त ! आफूभन्दा बढी जानेको व्यक्तिबाट कुरा सिक्ने र एउटा लोकतन्त्रको लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा आफू नागरिक हुने — त्यो रुचिले नै म यस्तो खालको छलफलमा भाग लिइरहेको छु ।

मलाई यस्तो कुरामा रुचि नहुने व्यक्तिहरूमाथि केही कमेन्ट गर्नु छैन । उहाँहरूलाई यो देश कतै पुग्छ जस्तो नि लाग्दैन, उहाँहरूको रुचि अन्य–अन्य विषयमा छ भने त्यो रुचि अनुसारकै कामहरू गरे भइहाल्यो । तर यस्तो गर्न चाहने माथि पनि टिप्पणी चाहिं उहाँहरूले गर्नु अलि बेकार पनि होला ।

त्यो पनि कुनै न कुनै खालको गफै न भयो अथवा त्यो पनि कुनै न कुनै प्रकारको बहस नै भयो फेरि । बहसलाई निषेध गर्ने खालको बहस भयो होला त्यो !

मैले भनें नि आफ्नो रुचि अनुसार हरेक हप्ता भेट्नुपर्छ, गफ गर्नुपर्छ भनेर कसले भन्यो र ? तर तपाईं बैंकर हुनुहुन्छ भने नेपालमा बैंकिङका तमाम समस्या छन् । व्यावसायिक चुनौती छन् ।

तपाईंले बैंकरको संस्था बनाउनुभएको छ, तपाईं यस्तो खालको छलफलको कुनै पनि शृंखला गर्नुहुँदैन भने बैंकिङ तपाईंको जागिर भयो । त्यो व्यवसाय नेपालमा उत्थान गर्नको लागि तपाईंको रचनात्मक केही योगदान गर्ने रुचि नै छैन भने तपाईं जागिर खानुस्, मलाई केही भन्नु छैन । तर यो चाहिं स्वीकार्नुस् न, लोकतन्त्रमा तपाईंको व्यवसायभित्र पनि गर्नुपर्ने धेरै काम छन् । त्यसले लोकतन्त्रलाई मजबुत बनाउँछ ।

उदाहरणको लागि, मलाई अनुसन्धानको रुचि छ । नेपालका धेरै बैंकरहरूले तपाईंहरूले नै लिने अन्तर्वार्तामा के भनेको सुनेको छु भने राष्ट्र बैंकले फलानो खालको तथ्यांक निकालिदिएन ।

राष्ट्र बैंकले नै सबै काम गर्थ्यो भने तपाईंको बैंक किन चाहिन्थ्यो ? तपाईंको कमर्सियल बैंकले काम गर्ने अलिकति बाटोहरू नयाँ भएको हुनाले नै राष्ट्र बैंकले अथवा सरकारले स्थापना गरेको वाणिज्य बैंकले गर्न नसकेको काम चाहेको हुनाले त निजी बैंकहरू चाहिएको नि त ! त्यो बैंकबाट तपाईंको काम अगाडि बढाउनको लागि तपाईंहरूको बैंकर एसोसिएसन छ भने त्यसले एउटा नियमित छलफलको शृंखला चलाओस् ।

यो काम विश्वविद्यालयहरूले गर्नुपर्छ भन्ने हो ?

पक्कै पनि हो । तर उहाँहरूले सार्वजनिक रूपमा छलफल किन गर्नुहुन्न त्यो उहाँहरूलाई सोध्नुपर्दछ । मेरो आफ्नो विश्लेषणमा त्यो नर्मल लाग्छ । आफूले काम गर्ने ठाउँ, संस्था अथवा विभागका कमि–कमजोरी बारे गफ गर्नु भनेको त ती कमी–कमजोरी हटाउन जिम्मेवार हुनु हो । वा, प्रतिबद्धता गर्नु पनि हो नि !

देश नै खत्तम हुन लाग्यो भन्न त सजिलो छ नि ! विभागमा तपाईंले गर्ने काम के हो त ? फलानो पार्टीले यसो गर्‍यो, उसो गर्‍यो भनिरहन त सजिलो छ । विश्वविद्यालय भित्र यस्तो हुनुपर्थ्‍यो भन्न सजिलो छ ।

नेपालका सबै विश्वविद्यालयहरूका विभागले सेमिनार चलाउनुपर्दछ भनेर मैले हजार चोटि भनिसकें । त्यहाँ किन भएको छैन भन्दा यो काम गर्नुपर्छ भन्ने धेरै व्यक्तिको मनमा यस्तो कुरा छ : त्यो काम गर्दा मलाई के फाइदा वा बेफाइदा हुन्छ ? मैले यो गर्दा मसँग को रिसाउँछ वा खुसी हुन्छ ? भनी हिसाब बढी हुन्छ । त्यो हिसाब लोकतन्त्रका लागि बेफाइदा हुन्छ ।

नेपालका सबै विश्वविद्यालयमा छलफल गर्ने कोठा छ । विद्यार्थी छन् । चिया खानलाई सबै आफू–आफू मिलेर चिया खाए भयो नि त ! यति काम गर्नलाई हामीलाई स्रोत चाहिंदैन नि ! कसैले यो गर भन्दिनु पनि पर्दैन ।

तपाईंले कुरा उठाइरहनुभएको छ । यसको जवाफ चाहिं के पाउनुभएको छ ?

 यस्तो कुराहरू त मैले धेरै अग्रजलाई पनि सोधें । एक जनाले गजब रमाइलो जवाफ दिनुभयो । यो गरें भने मलाई के फाइदा हुन्छ भनी सोध्नुभयो के, धेरै वर्ष अगाडि ।मैले यति मात्रै भनें कि तपाईं गलत व्यवसायमा हुनुहुँदोरहेछ । हरेक काम गर्दा फाइदा चाहिने हो भने बुद्धिको काम गर्ने तपाईंको व्यवसाय होइन रहेछ भनी मनमनमा भनें ।

उहाँलाई चाहिं तपाईंलाई के फाइदा हुन्छ मलाई थाहा छैन भनें । त्यो त तपाईंले नै फिगर आउट गर्नुपर्‍यो । ठूलो ठूलो संस्थामा यस्तो काम गर्नुपर्छ भनी कुदेर हिंड्नुपर्ने व्यक्ति नहुँदा लोकतन्त्रमा बहस जति हुनुपथ्र्यो त्यति नभएको खोज्दै जाँदा एउटा कारण यसमा भेटिन्छ ।

  हामी यति बढी किन शक्ति केन्द्रित भयौं होला ?

यसको उत्तर मलाई भन्दा बढी तपाईंलाई थाहा होला । नेपाल शक्ति प्रेमी समाज हो । राणाशासन सकिएको वर्ष हेर्दा ओहो ७३ वर्ष सकियो भन्ने त लाग्छ नि ! तर ७३ वर्ष भनेको त एउटा जीवनकाल मात्र हो नि ! काठमाडौंका मेरा धेरै नातेदार जुद्धशमशेरको पालामै जन्मेका घर मुलीको घरमा बस्छन् । तपाईं र मैले जुद्धशमशेरलाई देखेनौं ।

७३ वर्षको जुन अवधि गुजारेर आयौं, राणाकालीन अवस्था भन्दा नेपाली समाज धेरै अगाडि बढी सक्दासक्दै पनि शक्तिको पूजा गर्ने, के बोल्दा कसलाई के फाइदा हुन्छ ? त्यसले गर्दा मलाई के फाइदा हुन्छ भनी राणाशासन कालको मोडलबाट हामी धेरै टाढा पुगिसकेका छैनौं ।

लोकतान्त्रिक समाजमा नागरिकहरूले आफूलाई आवश्यकता र महत्वपूर्ण लागेका विषयमा आफैंले पहलकदमी लिएर अगाडि बढ्ने, त्यसमा प्रतिबद्ध भएर काम गर्ने मनस्थिति अझै पनि कमजोर छ । दलहरू आफैंले पनि यो कुरालाई अण्डरमाइन गरिरहेका छन् ।

विश्वविद्यालयमा भागबन्डा अहिले सबैले भनिराख्छौं नि ! विश्वविद्यालय स्वतन्त्र रूपमा राखेर काम गर्न दिनुपर्ने संस्थामा आफ्नो मान्छे खटाउने काम दलहरूले जुन दिनसम्म गरिरहनुहुन्छ, त्यतिबेलासम्म तपाईंले सोधेको प्रश्न जायज भइराख्छ ।

 बहसको कुरा गर्दा बढ्ता विश्वविद्यालय ठोकिन्छ । व्यक्तिका प्रयत्न भन्दा खासमा बहस राज्यको तर्फबाट, वा हुनुपर्ने विश्वविद्यालयमा नै हो ?

त्यसमा त कुरै छैन नि ! भागबन्डा, अरू विभिन्न कारणले प्राध्यापकहरूले काम गर्न सकेनन् भने विद्यार्थीलाई कसले रोकेको छ ? मानौं, विद्यार्थी पनि दलगत रूपमा परिचालित हुनुहुन्छ रे ! तर, हरेक क्याम्पसमा दलसँग आवद्ध नभएका थुप्रै विद्यार्थी हुनुहुन्छ होला नि ! उहाँहरू जुटेर छलफल शृंखला चलाउन केले रोक्यो ? ठाउँ छ, लजिस्टिक अरू कुराहरू छन् । केही कुराहरू आफैंले पैसा तिरेर किन्न सकिन्छ । त्यस्तो गर्नु पर्‍यो के !

  काठमाडौंमा मात्रै नभएर देशका विभिन्न ठाउँमा बहस गर्नुपर्‍यो, होइन ?

हरेक ठाउँमा बहस गर्न सकिन्छ । गफ गरेर कहीं पुगिंदैन भन्ने व्यक्तिहरू पनि देशमा टन्न छन् । त्यस्तो लाग्ने स्वतन्त्रता पनि छ होला । छलफल गरेर कसलाई के फाइदा हुन्छ भन्ने तरिकाले नसोचौं न ! छलफल गर्दा मभन्दा बढी थाहा पाएको व्यक्तिबाट केही सिक्छु । मैले थाहा पाएको कुरा उसले सिक्छ ।

एकप्रकारको निरन्तरको सिकाइ हुन्छ । लोकतान्त्रिक समाजमा नागरिकहरूलाई चाहिने सूचनाहरूको लागि अर्को स्रोतका रूपमा सोच्दा भइहाल्यो नि ! फाइदा–बेफाइदा हुने हिसाबले मूल्यांकन नगरे भइहाल्यो नि !

बहसलाई स्वस्थ अन्तरक्रिया सोच्छौं । तर कहिलेकाहीं बहस अस्वस्थ, अप्रिय पनि भइदिन्छन् । फरक मतलाई निषेध नै गर्ने, पेल्न खोज्ने, कुनै पनि हिसाबले तेजोबध गर्ने प्रवृत्ति छ । यो पनि बहससँगै आएको सह–उत्पादन हो ?

सामाजिक सञ्जाल आउनु अघि पनि नेपाली समाजमा यस्तो खालको प्रवृत्ति पक्कै थियो होला । हामीले देख्दैनथ्यौं । मंगलबारे छलफल ३२ वर्ष बुढो भयो भनी ट्वीट गर्दा फन्डिङ कहाँबाट आएको हो भनी ट्रोल गर्ने पनि निस्किए । अथवा, फलानो एजेन्डालाई अगाडि बढाउने छलफल भन्नेहरू पनि भए । बहसका लागि भनेर मैले कहिल्यै पनि फन्डिङ खोजेको छैन र खोज्नेवाला पनि छैन ।

फन्डिङलाई लिएर सजिलै टिप्पणी गर्ने परम्परा पनि नेपालमा छ । फलानोबाट फन्डिङ ल्याएकाले उसकै एजेन्डा अगाडि ल्याएको भन्ने पनि सुनिन्छ । यसको बारेमा अलि प्रष्ट पार्न आवश्यक हुन्छ होला ।

चन्द्रशमशेरले कसैलाई फन्डिङ गर्थे, त्यसकारण ऊ चन्द्रशमशेरकै गुलामी थियो भन्ने समाजबाट हामी गुज्रेर आएका हौं । काम गर्नका लागि जुन फाउन्डेसनबाट पैसा पाइएको हुन्छ, कुनै व्यक्तिको एजेन्डाको लागि फाउन्डेसन बनाइएको थियो भने पनि मैले डिल गरेका व्यक्तिले त्यस्तो भाषा कहिल्यै पनि प्रयोग गरेनन् ।

नेपालमा पैसा आइसकेपछि तैंले यो काम गर, यो काम नगर अथवा, यो काम गरिसकेपछि यस्तो खालको पुस्तक निकाल, यस्तो खालको रिपोर्ट निकाल भनेर कसैले भनेको छैन । कन्डिसन राखेर पैसा दिनेसँग हामीले फन्डिङ लिएका पनि छैनौं । एक/दुई पटक के भएको छ भने कुनै फन्डिङ एजेन्सीले यस्तो यस्तो खालको काम गर्न इच्छा छ कि छैन भनेपछि हामीले छ भन्यौं ।

२/३ चरण कुरा गरिसकेपछि यसबाट निस्केको सामग्रीमा हाम्रो कपिराइट हुन्छ र तिमीहरूले पनि यसमा सम्पादकीय स्वतन्त्रता पाउँदैनौ भनेपछि हामीले रुचि छैन भन्यौं । अब नेपालमा शंका–उपशंका बढी गरिन्छ । षड्यन्त्रका सिद्धान्तहरू चल्छन् । फलानोले फलानो ठाउँबाट पैसा ल्यायो, फलानोको एजेन्डा बोकेर हिंड्यो भन्ने हल्ला चल्छ ।

त्यसो नगरिकन लोकतन्त्रमा विभिन्न विचारधारा हामीलाई चाहिन्छ कि चाहिन्न ? विचारधाराका स्रोत के हुनसक्छन् ? कुनै पनि समाजमा विचारहरू विभिन्न व्यक्तिबाट प्रतिपादित भएर धेरै ठाउँ घुम्दै आइपुग्छन् । अहिले नेपालमा चलेको लोकतन्त्रको अवधारणा नेपालमै जन्मेको होइन । माक्र्सवादी र हरेक किसिमका विचार अन्य देशबाट आएर प्रभावित भएका छन् । तसर्थ, हामी अरूको विचारबाट प्रभावित नहुने भन्ने हुँदैन । ती विचारलाई हामीले हामीलाई काम लाग्ने हिसाबले कसरी प्रयोग गर्ने भन्ने हो । ती विचारसँग भिड्न सक्ने, आफ्नो हिसाबले व्याख्या गर्न सक्ने क्षमता हामीलाई चाहिन्छ ।

हरेक समाजमा ट्रोल हुन्छन् । ती ट्रोललाई लिएर दुःखमनाउ गर्ने, पीडित भएर बस्ने पनि होइन । ट्रोलले पनि लोकतन्त्रमा यस्ता खालका बहसहरू चाहिन्छन् कि चाहिंदैन भनेर सोच्नुपर्छ । उनीलाई रुचि छैन रुचि भएको मान्छेलाई त्यो जिम्मेवारी छाडिदिए भयो ।

हामीले व्यक्तिगत कुरालाई बलियो गरी राख्न खोज्दा कुरा बारे अडिग हुन पाइन्छ, तर कुरा राख्ने टोन नमिल्न सक्छ । त्यो व्यक्तिगत संवाद सकिएको केही समयपछि मैले अलिकति अनुचित टोनमा कुरा गरेछु कि भन्ने पर्न सक्छ । मलाई त्यस्तो धेरैपटक भएको छ । त्यसमा मेरो शैली मिलेन होला ।

यहीं छलफल गर्न आउने व्यक्तिलाई उचित टोनमा मैले प्रश्न गरिनँ कि भन्ने पर्छ । कतिपय अवस्थामा मैले माफी पनि मागेको छु । मेरो शैली मिलेन तर मेरो प्रश्न ठीक थियो भन्ने मलाई लाग्छ । लोकतन्त्र सकेसम्म धेरै अरूको कुरा सुन्ने र आफ्नो कुरा सुनाउने । शैली पनि सकेसम्म अरूलाई अप्ठेरो नहुने तरिकाले सुनाउनुपर्छ जस्तो मलाई लाग्छ ।

सुरुका वर्षमा हामीले छलफल चलाउँदा हाम्रा विदेशी मित्रले रोचक टिप्पणी गरेका थिए । यिनीहरूले नेपालमा काम गर्ने विदेशीलाई बोलाउँछन् र भक्कुमार गाली गर्छन् भन्थे ।

त्यो कुनै गाली थिएन । थियो चाहिं के भन्दा, हामीले भन्दा पहिला उनीहरूले नेपालमा आएर अनुसन्धान प्रस्तुत गर्दा चाहिनेभन्दा बढी श्रद्धा गर्ने टोनमा नेपालीले प्रश्न सोध्नुहुन्थ्यो ।

हामीले उहाँले बोल्ने अंग्रेजी भाषा उहाँहरू जत्तिकै दक्षता राखेर बोल्न सक्ने क्षमता बनाएको हुँदा र उहाँहरूले पढेको, पढ्ने, पढाउने विश्वविद्यालयहरूबाट आफूले पनि पढेको हुनाले नडराइकन ठ्याक्कै जे सोध्नुपर्ने हो त्यही सोधेको मात्रै हो । ती विदेशी मित्रले आफूलाई हामीले प्रश्न सोध्नुलाई नै गाली गरेको सम्झनुभयो । नेपालीहरूबीच संवाद गर्दा गाली आवश्यक छैन । टोन चाहिं मिलाएर गरेको राम्रो ।

केही दिनअघि प्रधानमन्त्रीले सम्पादकसँग कुराकानीका क्रममा राजावादीले पनि सडकमा आएर आफ्ना भनाइ राख्न पाइन्छ, तर अहिलेको संविधानको आधारवस्तुबारे प्रश्न उठाउन पाइँदैन भन्ने तर्क राख्नुभयो । बहस त्यसरी नै हुनुपर्छ वा सडकमा को आउन पाउँछ वा पाउँदैन भन्ने के हुन्छ ?

हाम्रो वाक् स्वतन्त्रताको दायरा कसले निर्धारण गर्ने हो ? नेपालको २०७२ सालको संविधानको सबै पक्षबारे प्रश्नै उठाउन पाइँदैन भन्नु वाक् स्वतन्त्रता विरोधी कुरा भयो । नेपालको संविधानसभाले पास गरेको संविधान, अब आउने भविष्यमा संशोधन नै हुँदैन भन्ने मलाई लाग्दैन ।

त्यस कारण प्रश्न नै उठाउन पाइँदैन भन्ने हुँदैन । तर वाक् स्वतन्त्रताले अरू कुनै पनि व्यक्तिमाथि हिंसा गर्ने स्वतन्त्रता दिंदैन । अथवा, हिंसालाई उछाल्ने स्वतन्त्रता पनि दिंदैन । त्यस कारण नेपालमा राजनीतिज्ञले होइन कि वर्तमान संविधानले ग्यारेन्टी गरेको वाक् स्वतन्त्रताको दायरा नेपालको अदालतले व्याख्या गर्नुपर्ला । तर राजनीतिज्ञले फलानो विषयमा तिमी नबोल भनेर नेपाली नागरिकलाई भन्न पाउँदैनन् ।

तपाईंहरूले ३२ वर्षसम्म जीवन्त छलफल चलाइराख्नुभएको छ । सबैतिर यो बहस फैलियोस्, सकिन्छ भने डायस्पोरामा पनि यो चलोस् भन्ने चाहनुहुन्छ । तपाईंको अपेक्षा के हो ?

ज–जसलाई यस्तो छलफल चलाउन मन छ, चलाउनु पर्‍यो । यस्तो छलफल चलाउन धेरै स्रोत चाहिंदैन । यस्तो छलफल चलाएको जानकारी र अनुभव चाहिन्छ भने हामी सधैं त्यसबारे बोल्न तयार छौं । पत्रिकामा यसको बारेमा धेरैपटक बोलिसकेका छौं ।

अपेक्षा के हो भने, नेपाली समाजमा यस्ता छलफल शृंखला अझ धेरै हुन् भन्ने हो । ती नियमित हुन् भन्ने हो । त्यसले नेपालको तरुण पुस्तालाई आकर्षण गरुन् । तिनीहरूले पनि यस्तो छलफलमा भाग लिंदा मैले नेपाली समाज र विश्व बारे बुझ्न धेरै कुरा रहेछन् र ती कुरा अहिले गुगल गरेर मात्रै बुझ्न सकिंदैन रहेछ भनेर अनुभव गर्न पाउन् ।

त्यसो गर्दा समाजमा चाहिने सबै ज्ञान अरूले नै जम्मा गरिदिइसकेका छन् र मैले गुगल गरेकै भरमा ज्ञान पाउन सक्छु भन्ने मानसिकतालाई प्रतिस्थापन गर्न सकियो भने पनि राम्रो हुन्थ्यो ।

व्यक्तिगत हिसाबले भन्दा यस्ता छलफल चलिरहन्छन्, मैले पनि चलाइरहने नै हो । सक्रिय रूपमा काम गर्ने वर्षहरू अझै निकै बाँकी होलान् । नयाँ पुस्तालाई उपयोगी हुने ज्ञानको छलफल चलाइरहने मेरो प्रतिबद्धता छ । म त्यो गरिरहन्छु ।

उसोभए गुगलले जतिसुकै सूचना संकलन गरेर राखे पनि, एआईले जतिसुकै तरक्की गरे पनि दुई वा दुईभन्दा बढी व्यक्ति भेटेर गर्ने कुराकानी जति जीवन्त सायद केही हुँदैन भन्ने तपाईंको कुरा हो ?

हो । अहिले एआईको धेरै चर्चा भइरहेको छ । मैले आफैंले थोरै मात्रै अनुभव गरेको छु । तर विभिन्न किसिमको व्यक्ति र विषयबारे एआई प्लेटफर्महरूलाई प्रश्न सोध्दा जे दिन्छन् त्यही हाम्रो लोकतन्त्रका लागि चाहिने हो भन्ने लाग्छ भने त मलाई भन्नु केही छैन ।

तर मैले अनुभवका हिसाबमा तिनीहरूसँग इंगेज हुँदा ती गलत र हास्यास्पद छन् । ती नेपाली लोकतन्त्र र मैले गर्न खोजेका कामका लागि केही उपयोगी छैनन् ।मेरो जीवनकालमा नै एआईले के के गरेर देखाउला मलाई थाहा छैन । त्यो टेक्नोलोजी पछाडिको कुरा धेरै बुझ्दा पनि बुझ्दिनँ । तर त्यता भर पर्न आवश्यक छैन ।

आवश्यक पर्दा अनलाइन प्लेटफर्म प्रयोग गर्दा पनि भयो । तर सकेसम्म भेटेर गर्ने छलफल चलाउन सकियो भने त्यसैले नेपाली लोकतन्त्र बलियो बनाउँछ ।

 तपाईंहरूले २८ वर्षदेखि सीमित स्रोत–साधनको भरमा चलाइरहेको सिनास जर्नल प्राज्ञिक बहसकै विस्तार हो । यस्ता कामहरू कसरी चलिरहेको छ, हुनुपर्छ ?

प्राज्ञिक अनुसन्धान वा विश्वसनीय खालको प्राज्ञिक काम गर्न सकिन्छ भन्ने देखाउनका लागि हो । अनुसन्धानका रूपमा र त्यसको प्रकाशनको रूपमा पनि देखाउने अभिलाषाबाट सुरु भएको हो ।

सुरु गर्दा जोडिएका नेपाली र विदेशी सहकर्मी, पछि जोडिएका नेपाली र विदेशी सहकर्मीहरू प्रतिष्ठित विश्वविद्यालयसँग जोडिएकाहरू हुनुहुन्थ्यो ।

नेपालमा उहाँहरूले गरिरहेका अनुसन्धान उहाँहरूले चाहेको ठाउँबाट प्रकाशन गर्न सक्ने हुनुहुन्थ्यो, हुनुहन्छ । एक त नेपालमा भएका अनुसन्धान नेपालमै छापिनुपर्छ भनेर पनि यो जर्नल निकालिएको थियो । लामो समय चलाउन सकिन्छ भनेर देखाउन पनि यो काम गरिरहेको हो ।

यसमा प्रतिबद्धता धेरै चाहिन्छ । एउटा कन्फरेन्स गर्नु र किताब निकाल्नुभन्दा धेरै मिहिनेत चाहिन्छ । कन्फरेन्स गर्दा सुरुमा कुनै एउटा तयारीको चरण र अन्तिम दिन पुगेपछि त्यो सकियो । जर्नल चलाउने भनेको ३६५ दिन नै काम गर्ने हो ।

अघिल्लो अंक मात्रै होइन कि त्यसका पनि दुई–तीन अंकका लागि आवश्यक सामग्री बटुलिरहनुपर्ने हुन्छ । पियर रिभ्यूलगायत अन्य प्रशोधनका काम गरिरहनुपर्ने हुन्छ ।

भनेको, यसबाट कहिल्यै पनि छुट्टी पाइँदैन । यही तिहारमा पनि हामीले आर्टिकल पठाउने मान्छेको पियर रिभ्यू फिर्ता गर्‍यौं । पहिले पहिले त दशैंकै दिन पनि यस्ता काम गरेको छु । उनीहरूले सार्वजनिक रूपमा पनि भन्नुभएको छ ।

नेपालभित्र र बाहिर बसेका व्यक्तिको सहकार्य आवश्यक छ । यस्तो सहकार्यमा काम गर्न सकिन्छ । यी सबै कोही एक्लैले गर्न सक्ने काम होइनन् । हामी समाज अध्ययन सम्पादनको काम पनि गर्छौं । त्यसमा मेरो भूमिका सानो छ । सिनास चलाउनमा मेरो जिम्मेवारी अलि बढी छ । त्यसमा अहिले रमेश पराजुली पनि हुनुहुन्छ । फाइनल क्वालिटी चेकको काम उहाँले हेर्नुहुन्छ ।

हामीसँग देशभित्र र बाहिर बसेका साथी पनि हुनुहुन्छ । भिन्दाभिन्दै समूहमा बसेर काम गर्न जरूरी छ ।

हेर्नुहोस् भिडियो 

भिडियो र तस्बिर : आर्यन धिमाल र शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?