+
+
साताको सेयर समीक्षा :

बीमा समूहमा उत्साह, यी हुन् धेरै मूल्य घटेका कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १६:४५

काठमाडौं । गत साता १८५८ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता १८५२ अंकमा झरेको छ । आइतबार ७, सोमबार ४ र मंगलबार १० अंक घटेको बजार बुधबार ३ र बिहीबार १० अंकले बढ्यो । यो साताको पछिल्ला दुई दिन बजार सकारात्मक भएसँगै आगामी साता पनि त्यसले निरन्तरता पाउने अपेक्षा लगानीकर्ताको छ ।

गत साता ५ दिन खुलेको बजारमा कुल ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो साता पनि ५ दिन खुलेको बजारमा ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो साता जीवन र निर्जीवन बीमा दुवै समूहले राम्रो प्रदर्शन गरे । ती दुई समूह २.२ प्रतिशतभन्दा धेरैले बढे । गत साता होटल तथा पर्यटन समूहले बजारमा राम्रो प्रदर्शन गरेको थियो । गत साता सो समूह २.७२ प्रतिशतले बढेको थियो भने यो साता २.१ प्रतिशत घटेको छ ।

बजारको शक्तिशाली समूह बैंकिङले लगातार खराब प्रदर्शन कायमै राखेको छ । यो समूह गत साता १.१९ प्रतिशत घटेकोमा यो साता ०.८६ प्रतिशत घटेको छ । यो साताको बुधबार बैंकिङ समूह विगत २९ महिनायताकै न्यूनतम विन्दु ११३३ अंकसम्म झर्‍यो ।

किन बढ्यो बीमा क्षेत्र ?

बीमा क्षेत्रमा लगानीको आकर्षण देखिनुको मुख्य कारण यी कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी रहेको र लाभांशमा धेरैले बोनस सेयर दिनुपर्ने अवस्था रहेको जयशम्भो इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष अजयसिंह थापा बताउँछन् ।

‘तोकिएअनुसार धेरैको चुक्ता पुँजी पुगेको छैन, त्यसकारण बीमा कम्पनीहरुले लाभांशस्वरुप बोनस सेयर नै दिने अपेक्षा छ,’ उनी भन्छन् । केही कम्पनीले पुँजी पुर्‍याउनका लागि हकप्रद सेयर पनि दिन सक्ने थापाको भनाइ छ । कतिपय बीमा कम्पनीहरुले हालै प्रिमियममा आईपीओ निष्कासन गरेकाले लगानीकर्तालाई बोनस सेयर दिन पनि कम्पनीहरुलाई सहज भएको छ ।

अर्कोतर्फ बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण पनि राम्रो आएको छ । ‘धेरैजसो बीमा कम्पनीहरुको व्यवसाय बढेको छ, पहिलो त्रैमासिक रिपोर्ट नै राम्रो देखियो । जसले गर्दा लगानीकर्ता आकर्षित भए,’ थापा भन्छन् । त्यस्तै बैंक तथा वित्तीय संस्थाको बढ्दो खराब कर्जाका कारण लगानीकर्ता बीमा क्षेत्रमा आकर्षित भएको उनी बताउँछन् ।

मूल्यमा धेरै उतारचढाव भएका कम्पनी

यो साता धेरै मूल्य गुमाउनेमा एनआरएन इन्फ्रास्ट्रक्चर र माउन्टेन इनर्जीका लगानीकर्ता अगाडि रहे । दुवै कम्पनीको मूल्य १८ प्रतिशत घटेको छ । यी दुवै कम्पनीको संस्थापक सेयरमा ‘लकइन पिरियड’ खुलेर साधारणमा रुपान्तरण भई कारोबार सुरु हुनुले मूल्यमा गिरावट आएको छ । सेयर आपूर्ति बढ्दा यी कम्पनीको मूल्यमा ठूलो गिरावट देखिएकोमा पछिल्ला दुई दिन बुधबार र बिहीबार भने सुधार भएको छ ।

आगामी सातालाई मौद्रिक नीति समीक्षाको बल

आगामी साता बजार बढ्नलाई मौद्रिक नीति समीक्षाले सघाउ पुग्ने देखिन्छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समीक्षामार्फत बैंकदर ७.५ बाट ७ प्रतिशतमा झारेको छ भने नीतिगत दर ६.५ बाट ५.५ प्रतिशतमा झारेको छ । यसले गर्दा ब्याजदर थप घटाउन दबाब पुगेको छ । ‘यसले बैंकको कोष लागत घट्न जान्छ, जसले ब्याजदर घट्नलाई मद्दत पुग्छ,’ थापाले भने ।

अर्कोतर्फ ठूलो रकमको सेयर धितो कर्जाको जोखिमभार पनि घटाइएको छ । ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशत रहेकोमा घटाएर १२५ प्रतिशत कायम गरिएको छ । यसले बैंकबाट सेयर कर्जा दिनलाई केही प्रोत्साहन दिएको छ । यद्यपि सेयर धितो कर्जाको सीमालाई भने राष्ट्र बैंकले चलाएको छैन । हाल व्यक्तिगत सेयर कर्जाको अधिकतम सीमा १५ करोड र संस्थागत कर्जाको अधिकतम २० करोडको सीमालाई भने यथावत् राखिएको छ । सेयर कर्जालाई केही सहज बनाए पनि थप कर्जा बढाउने पक्षमा राष्ट्र बैंक नदेखिएको यसले प्रष्ट हुन्छ । यद्यपि समग्रमा मौद्रिक नीतिको समीक्षाले बजार बढाउन मद्दत पुग्ने थापाको भनाइ छ ।

प्राविधिक ट्रेण्डलाइनमा पनि बजार सकारात्मक

यतिबेला प्राविधिक ट्रेण्डलाइनमा पनि बजार सकारात्मक देखिएको छ । फियर एण्ड ग्रिड मिटरमा समग्र बजार फियर जोनबाट माथि उठेको छ । ‘बुधबार बुलिस ह्यामर क्यान्डिल बनेकोमा बिहीबारको क्यान्डिलले त्यसलाई प्रमाणित गरिदिएको छ,’ थापाले भने ।

अर्कोतर्फ बिहीबार भएको कारोबार असोज ४ यताकै उच्च हो । बोलिंगर ब्याण्डमा भने क्यान्डिलस्टिकले मध्यरेखा छुन सकेको छैन । आइतबार मध्यरेखा नाघ्यो भने बजार थप मजबुत हुन सक्नेछ । एमएसीडी बेसलाइन पोजेटिभ बसिरहेको छ भने सिग्नल लाइन पनि पोजेटिभ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?