+
+

हरदिन धुवाँ-धुलो झेल्दै काठमाडौं छिर्छन् ९ हजार नेपाली  

अमृत चिमरिया अमृत चिमरिया
२०८० मंसिर २२ गते २२:२९

२२ मंसिर, काठमाडौं । तपाईं नागढुंगा हुँदै आउनुहोस् या दक्षिणकाली हुँदै, धुलिखेल हुँदै आउनुहोस् या बालाजु हुँदै- राजधानी तपाईंलाई स्वागत गर्न नाकामा धुवाँ–धुलो लिएर हाजिर छ । विकासको यस्तो दुर्गति, जसले हरेक दिन नागरिकहरूको अपमान मात्रै गर्छ । कलैयाबाट हेटौंडा हुँदै सुमोमा काठमाडौं आएकी २३ वर्षीया प्रीति चौधरीको पीडा सुनौं । उनी यतिखेर बल्खु ओर्लेर लामो सास तानिरहेकी छन् ।

प्रीति सुनाउँछिन्, ‘कसो मरिएन, एउटा लडाइँ जितेर आएको जस्तो भयो । म नौमा पढ्दा यो बाटोको हालत जस्तो थियो, अहिले पनि त्यस्तै छ ।’ घुमाउरो बाटो, सवारी जाम र धुलो–मैलोसँग जुधेर आउँदा चौधरीले जे प्रताडना पाइन्, यस्तो प्रायः सबैले भोग्नुपर्छ ।

प्रीतिको जस्तै आक्रोश पोख्नेमा कुलेखानी-दक्षिणकाली हुँदै काठमाडौं आउनेहरू मात्रै छैनन् । काठमाडौं उपत्यका छिर्ने सबैभन्दा धेरै सवारी चाप भएको नागढुंगा नाकाबाट प्रवेश गर्नेहरूको पनि कथा उही हो ।

नाकाको दुरवस्था भोग्दै मोटरसाइकलमा काठमाडौं छिरेका टाँडीका अर्जुन पौडेल अझै आक्रोश पोखिरहेका छन् । ‘मैले थाहा पाएदेखिकै समस्या हो, झन् पछिल्लो दुई वर्षमा यो नागढुंगादेखि तलको ओरालो बाटो त हिंड्न नहुने भएको छ’ पौडेल भन्छन्, ‘यहाँ मोटरसाइकल चलाउनेहरूले त ज्यानको बाजी थापेर आउनुपर्छ । ठूला बसहरूले एक त पेलेर चलाउँछन, अर्को यहाँको बाटो, खाल्डाखुल्डी धुलो-धुवाँ के के चाहिं भन्ने ?’

नागढुंगामै भेटिएका कुखुरा बोक्ने सवारी चालक दिलकुमार तामाङ सुनाउँछन्, ‘बर्खाभरि पहिरोको तनाव । हिउँदमा धुलोले चलाउनै सकिन्न, धुलोले गर्दा गाडी कुन दिन खाल्डोमा जान्छ भन्न सकिंदैन ।’

मुग्लिन हुँदै आउने सवारी साधनमा अधिकांश यात्रुहरू लामो यात्रा गरेर आएका हुन्छन् । लामो दूरीको यात्रुहरूलाई काठमाडौं छिर्दा लाग्ने मुख्य समस्या बाटो हो, त्यसपछि होटलको ।

कैलालीबाट नाइट बस चढेर आएका नरेन्द्रबहादुर विष्ट भन्छन्, ‘घरबाट हिंडेदेखि बसपार्क नओर्लंदासम्म फोन आएको आएकै गर्छ । घरमा मान्छे काठमाडौं नपुगेसम्म ढुक्क हुन सक्ने अवस्था छैन ।’

उनले बाटोकै कारण बसमा भएका मान्छे काठमाडौं ओर्लेपछि एक दिन रेष्ट गरेर सिटामोल खाएर बस्नुपर्ने सुनाउँछन् । ‘बाटो र होटल सुधार हुनुपर्छ, होटलहरूले यस्तो खराब खाना खुवाउँछन् । हाइवेमा त जथाभावी छ ।’

दुई महिना अगाडि विद्युतीय गाडी किने पनि पहिलो पटक काठमाडौं लिएर आएका वीरगञ्जका विनोदप्रकाश गुप्ताले बाटोले धोका दिएको बताए । ‘पहिलो तलतिर बाटो खराब थियो, त्यता ठिक भएछ अहिले नागढुंगा क्षेत्रमा बाटोको कारण तनाव नै हुने स्थिति छ’ गुप्ता भन्छन्, ‘सुधार नै नभएको त होइन तर साना सवारी साधनको लागि भने यात्रुमैत्री बाटो भएन ।’

गुप्ताले धुलोको कारणले कतिपय अवस्थामा गाडी नै रोकेर बस्नुपरेको सुनाए । अगाडि ठूलो बस आएपछि केही नदेखिएपछि इमर्जेन्सी लाइट बालेर रोकिबस्नुपरेको उनको अनुभव छ । काठमाडौं उपत्यका छिर्ने भक्तपुर जगातीको नाका हुँदै आउने यात्रु र सवारी चालकको पनि गुनासो उस्तै छ ।

१२ वर्षदेखि सवारी चलाइरहेका राजु लामा सरकारको अक्षमताले गर्दा सधैं सास्ती बेहोर्नुपरेको बताउँछन् । ‘जाबो एउटा सडक पनि गतिलो बनाउन सक्दैन, यात्रुहरूलाई धुलो खुवाउँदै काठमाडौं ल्याउनुपर्छ । उल्टै हामीलाई कति गाली आउँछ । बाटोले गर्दा नै महिनामा ५-१० हजार अरू खर्च हुन्छ । यता नि हेर्नुपर्ने हो’, लामाले भने ।

बीपी राजमार्ग हुँदै काठमाडौं आउनुपर्ने यात्रुलाई अरनिको राजमार्ग लाग्न थालेपछि पीर पर्ने गरेको सुवास गौतम बताउँछन् । ‘धुलिखेलबाट भक्तपुरतर्फ छिर्न थालेपछि धुलोले सातो उड्छ । यता फेरि गाडी पनि धेरै छन्, बाटो पनि धुलैधुलो । अगाडि ठूलो गाडी पर्‍यो भने त काठमाडौं पुग्दा आफ्नै अनुहार चिनिंदैन’, उनी भन्छन् ।

यस्तै मुड्खुभञ्ज्याङ हुँदै आउने यात्रुले पनि कष्टकर यात्रा पार गर्दै काठमाडौं ओर्लिनुपर्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौंका अनुसार मुख्य ४ वटा नाका नागढुंगा, भक्तपुरको जगाते, मुड्खु–बालाजु वाइपास र फर्पिङ हुँदै उपत्यकामा आवतजावत गर्ने गर्छन् ।

यस बाहेक अन्य ८ वटा भन्दा बढी साना नाकाहरू छन् । ट्राफिक प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र भट्टका अनुसार सामान्य समयमा दैनिक ९ हजार भन्दा धेरै यात्रु ओहोरदोहोर गर्ने गर्छन् ।

‘नाका नै धेरै छन् अहिले, साना–ठूला नाका गरी आउने यात्रुहरूले बाटोको कारण सास्ती पाइरहेको कुरा त सबैलाई थाहा नै छ’, एसएसपी भट्टले भने । उनले सवारी बाटो राम्रो नहुँदा सवारी दुर्घटना बढ्ने, जाम हुने कारणले ट्राफिक प्रहरीलाई समेत समस्या भइरहेको सुनाए ।

‘सडक मर्मत नहुँदा हुने धुलोको कारणले ट्राफिकहरूमा पनि स्वास्थ्य समस्या भइरहेको छ । ट्राफिक प्रहरीहरूमा नाक, घाँटी र आँखामा धुलोको कारण समस्या हुँदै आएको छ । केहीलाई श्वास–प्रश्वासको समस्या पनि देखा परेको छ’, भट्टले भने ।

उनले धुलोको कारण मोटरसाइकल लगायत खुला सवारी यात्रा गर्नेलाई धेरै समस्या भएको बताए । सवारी चालक र सवारी साधनको स्थिति समेत सडकको कारणले धेरै बिग्रने ट्राफिक प्रहरीको बुझाइ छ ।

धुनिबेसी ९ नम्बर वडामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रकी अहेव सरिता अर्याल पनि धुलोको कारण यात्रुहरूमा स्वास्थ्य समस्या देखिएको बताउँछिन् । ‘केही यात्रुहरू आँखामा धुलो छिरेर देख्नै नसकेको भन्दै आइड्रप लिन छिर्छन् । अधिकांश सेवाग्राही यात्रुहरू मास्क, रुघाखोकीको औषधि, आइड्रप र वान्ता नआउने औषधि लिन आउँछन्’, अर्यालले अनलाइनखबरसँग भनिन् ।

उपत्यका भित्रिने–बाहिरिने यात्रुहरूले भोग्नु परेको समस्याबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सडक मर्मत, विस्तार गर्दा समस्या भएको बताउँछन् ।अधिकांश नाकाको बाटोमा मर्मत गरिरहेको भन्दै मन्त्री ज्वालाले निर्माण व्यवसायीले समयमा काम नगर्दा पनि समस्या भएको बताए ।

‘सुविधाको लागि काम गर्दा केही समय असुविधा त हुन्छ नै । काम भइन्जेल त केही न केही असुविधा हुन्छ । भएपछि फेरि अहिले भन्दा धेरै सुविधा हुन्छ नि’, ज्वालाले अनलाइनखबरसँग भने ।

उनले नारायणगढ–मुग्लिनको सडक बनाउन केही समय लागेको भन्दै थानकोट–नागढुंगाको मर्मत र विस्तार भने ठेकेदारको कारण केही ढिला भएको बताए  ।

‘कतिपय ठाउँमा निर्माण व्यवसायीले काम नगर्दा समस्या भएको छ । केही स्थान समस्याग्रस्त छन् । ठेकेदार पक्षले समयमा काम सम्पन्न नगर्ने । भत्काएर छोडिदिने काम पनि नगर्ने परिपाटी रहेको छ । यसमा हामीलाई कानुनी समस्या पनि छ । अर्को ठेक्का पनि गर्न नसक्ने, काम पनि नहुने त्यस्तो समस्या भएको हो’, उनले भने ।

यात्रु र सवारीले धुलो सहितको यात्रा गर्नुपर्ने कारण बारे उनी भन्छन्, ‘अहिले एक लेन काम भइरहँदा अर्को लेनमा पनि काम सुरु भएको छ । अहिले धेरै ठाउँमा त्यसरी काम भइरहेको छ । त्यो एउटा बाध्यता रहेको छ । अहिले गाडी पनि चलिरहने र काम पनि भइरहेको हुँदा त्यस्तो समस्या भइरहेको हो ।’

मन्त्री ज्वालाले जनतालाई धेरै समस्या भएको ठाउँमा कि ठेक्का तोड्ने, कि काम सम्पन्न गर्न लगाउने गरी सरकारले तयारी गरिरहेको भन्दै जनताको सुविधालाई ध्यान दिएर काम गर्न खोजेको दाबी गरे ।

सडक विभागका प्रवक्ता रामहरि पोखरेलले अरनिको राजमार्ग अन्तर्गतका काम समयमा नभएको स्वीकार्दै काम भइरहे पनि सम्पन्न हुन नसकेको बताए । ‘अहिले काम भइरहेकै छ । तर समयमा काम नहुँदा समस्या भएको हो । यसमा कानुनी जटिलता, सरकारले निर्माण व्यवसायीलाई दिन नसकेको भुक्तानी लगायत विषय जोडिन्छ’, पोखरेलले भने ।

उपत्यका छिर्ने नाका सडकहरूको समस्याबारे बोल्दै पोखरेलले भने ‘कान्ति लोकपथ सधैंको समस्या हो । यहाँ केही स्थानमा निरन्तर पहिरो गइरहने भौगोलिक बनावट छ, त्यसले गर्दा पनि समस्या भएको हो ।’ पोखरेलका अनुसार विभागले कान्ति लोकपथमा निरन्तर मर्मतको काम गरिरहे पनि भूगोलको कारणले यात्रुले दुःख पाइरहेका हुन् । काठमाडौं–मुग्लिन सडकको थानकोट–नागढुंगा सडकखण्डमा सुरुङ मार्ग सञ्चालन नभइन्जेल यात्रुले दुःख पाउने भए पनि त्यसपछि कुनै दुःख नहुने बताए ।

पोखरेलले भने, ‘सुरुङ मार्ग मात्रै नभएर अन्य सडकमा मर्मतसम्भारको काम विभागले गरिरहेको छ । हामीले अहिले ठेकेदार मार्फत बढी धुलो उड्ने क्षेत्रमा दिनको तीन पटक सडकमा पानी हाल्ने गरिएको छ ।’

बागमती प्रदेशको राजधानी हेटौंडा–काठमाडौं जोड्ने सडकमार्ग विषयमा सडक विभागले प्रदेश सरकारले हेर्ने भन्दै पन्छिएको छ । यता प्रदेश सरकार पनि आफैं अलमलमा रहेको छ । प्रदेश अन्तर्गतको सार्वजनिक सवारी र यातायात क्षेत्रको प्रशासनिक काम प्रदेशको यातायात मन्त्रालयले हेर्दै आएको छ ।

भौतिक निर्माण, सडकको काम भौतिक पूर्वाधार मन्त्रालयले हेरिरहेको छ । बागमती प्रदेश सभाको बैठकमा समेत नियमित जसो हेटौंडा काठमाडौं जोड्ने सडकको विषयमा चर्चा हुन्छ तर मर्मत भने पूर्ण रूपमा हुन नसकेको प्रदेश सांसदहरू बताउँछन् ।

बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले मर्मतको काम नियमित गरिरहेको भन्दै मन्त्रीस्तरबाट समेत छड्के अनुगमन र जाँच भइरहेको जनाएको छ ।

फोटो  र भिडियो : आर्यन धिमाल

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?