+
+

फर्निचर-फर्निसिङ व्यवसायलाई धरासायी हुनबाट जोगाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १७:५६

काठमाडौं । फर्निचर तथा फर्निसिङ व्यवसायमा आवद्ध व्यवसायीहरुले यस क्षेत्रलाई धरासायी हुनबाट जोगाउन सरकारलाई आग्रह गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघको २४ औं वार्षिक साधारण सभाका सहभागीहरुले काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी अवस्थामा पुगेको बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेश अग्रवालले फर्निचर निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ काठ तथा काठजन्य वस्तु कुहिएर खेर गइरहेको अवस्थामा समेत सरकारले चासो नदिएको गुनासो गरे । काठजन्य वस्तुको लिलामी प्रक्रियामा फर्निचर तथा फर्निसिङ व्यवसायीलाई सहभागी हुने किसिमको नीति निर्माण गर्न सरकारसमक्ष उनले आग्रह गरे ।

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई पटकपटक आह्वान गर्दा समेत सरकारले नीति निर्माणमा ध्यान नदिएको अग्रवालको भनाइ छ । प्लास्टिक, फर्निचर, कार्पेट, फ्लोरिङका सामग्री उत्पादनमा नेपाल आत्मनिर्भर हुने चरणमा पुगे पनि काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा र व्यवसायीलाई काठ लिलामीमा सहभागी नगराउँदा आयातित कच्चा पदार्थमा निर्भर हुनुपर्ने बाध्यता रहेको अग्रवालले बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसाय मूलतः काठमा आधारित व्यवसाय रहेका कारण काठको सहज पहुँचको सुविधा मिलाउन सरकारसँग आग्रह गरे ।

काठबाट निर्मित फर्निचरका लागि नेपालमै कच्चा पदार्थ उपलब्ध भएपनि आवश्यक नीतिको अभावमा मुलुक अन्य देशमा भर पर्ने अवस्था बनेको भन्दै उनले व्यवसायीहरुलाई उत्पादनको स्तर गुणस्तरीय बनाउन समेत आग्रह गरे ।

स्वदेशी फर्निचरको प्रयोग बढाउने उद्देश्यले हरेक सरकारी कार्यालयमा स्वदेशी फर्निचरको प्रयोग गर्न र स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राख्न समेत उनले आग्रह गरे । पछिल्लो समयमा व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने क्रम बढेको भन्दै श्रेष्ठले यसको समाधानका लागि जिल्लाका फर्निचर तथा फर्निसिङ व्यवसायी संघहरुले समन्वय गर्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले फर्निचर तथा फर्निसिङ व्यवसायीले भोग्दै आएका समस्या समाधानका निमित्त नेपाल चेम्बर अफ कमर्सले सरकारी तथा निजी तवरबाट सहयोग गर्न तयार रहेको बताए ।

नेपालमा आफ्नो उत्पादनको ब्रान्डिङ गर्ने, कम्पनीको लोगो बनाउने चलन धेरै नभएकाले स्वदेशमै उत्पादित सामग्री समेत भारतबाट आयात भएको हो कि भन्ने किसिमको आशंका बढ्दै गएको उनको भनाइ छ । मल्लले फर्निचर तथा फर्निसिङ व्यवसायीहरुलाई ब्रान्डिङ र लोगो निर्माणमा काम गर्न पनि सुझाए ।

करिब १ लाख ५० हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउने फर्निचर तथा फर्निसिङ क्षेत्रको समग्र विकासका लागि सरकारले नीतिगत सहयोग गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?