+
+

महत्वाकांक्षी योजनामा अघि बढिरहेको झापा एफसी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० पुष २ गते ७:५०

२ पुस, काठमाडौं । पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) खेलिरहेको झापा ६ खेलबाट ७ अंक बटुलेर पाँचौं स्थानमा छ ।

पहिलो स्थानको धनगढी एफसी र सातौं स्थानको एफसी चितवनसँग खेल्न बाँकी रहेको झापा शीर्ष ४ मा रहँदै प्ले अफ खेल्ने होडमा छ ।

एनएसएलमा यसै वर्षदेखि सहभागी भए पनि झापा नेपाली फुटबलमा नयाँ टिम होइन । सन् २०११ मा नै निजी क्लबका रुपमा दर्ता भएको झापा एफसी पूर्वी नेपाल र छिमेकी भारतको पश्चिम बंगाल र सिक्किममा परिचित क्लब हो । क्लबले झापा, मोरङ, सुनसरी, इलामका साथै भारतको दार्जिलिङ, सिलगुढीमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

शहीद स्मारक ए डिभिजन लिग खेल्ने उद्देश्यसहित स्थापना भएको झापा एफसीले पछिल्लो पटक भएका दुई वटा सी डिभिजन क्वालिफायर्स खेलेको थियो । तर त्यसमा सफल भएन ।

झापा एफसीका अध्यक्ष अर्पणविक्रम खड्का भन्छन्, ‘फुटबलमै दत्तचित्त भएर लाग्ने भएपछि किन एनएसएलमा प्रयास नगर्ने त भनेर हामी यसमा जोडिएका हौं ।’

२०७८ मा एनएसएलको पहिलो संस्करण आयोजना हुँदा कोरोना महामारीको समय थियो । त्यसबेला ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । यसपटक झापा, स्पोर्टिङ इलाम र वीरगञ्ज युनाइटेड गरी तीन नयाँ टोली थपिएका छन् भने पहिलो सिजनमा सहभागी विराटनगरले खेलेको छैन।

विदेशी खेलाडीमा चुके

झापाले सुरुमै राष्ट्रिय टिमका स्टार अञ्जन विष्टलाई मार्की प्लेअर चयन गरेको थियो । अहिले अञ्जन नै टिमको कप्तान छन् ।

प्रशिक्षकमा स्पेनका ओरिएल मोहेडानो सेगुरा छन् । विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना छन् । यस्तै सर्बिया र उज्वेकिस्तानका खेलाडी पनि छन् ।

अञ्जनलाई नेपालमा मार्कीले पाएको मध्ये सम्भवत धेरै रकम दिएको बताए पनि अर्पणले रकम भने खुलाएनन् ।

अर्पणले यसपटक विदेशी खेलाडीमा केही चुकेको स्वीकार गरे । ‘त्यसमा पनि फिनिसिङ र मिडफिल्ड पार्ट नै हो’, उनले भने । झापा मात्रै एउटा त्यस्तो टोली हो जसले अफ्रिकन खेलाडी राखेको छैन ।

यसपटक एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान थियो । त्यमसा आइकोनिक प्लेअर राखेमा ५ विदेशी मात्रै राख्न पाउने थियो । झापाले स्पेनिस कोचलाई अनुबन्ध गर्नुअघि नै नेपाली मूलका अमेरिकी खेलाडी धिरज तथाली मगर, सर्वियन गोलकिपर स्टेफन क्युपिक र उज्वेकिस्तान समान्दार ओचिलोभसँग सम्झौता गरिसकेको छ ।

त्यसपछि प्रशिक्षककै सल्लाहमा दुई स्पेनी खेलाडी फर्नान्डो टोरेस र जर्ज सान्चेजलाई अनुबन्ध गरेको हो । ‘हामीले कोच आउनुअघि नै केही खेलाडी अनुबन्ध गरिसकेका थियौँ । उहाँकै सिफारिसमा दुई स्पेनकै खेलाडी ल्यायौँ । त्यसैले अन्य  खेलाडीहरु चाहेर पनि अटाउन सकेनन्’  अध्यक्ष  खड्काले भने ।

अर्पणले २०१० डिसेम्बरमा प्रक्रिया अगाडि बढाएका उनले २०११ जनवरी २ क्लब दर्ता गरे । उनी झापा एफसीलाई नेपालकै पहिलो प्राइभेट लगानीको क्लब भनेर दाबी गर्छन् । क्लब प्राइभेट भए पनि झापामा हुने सामाजिक र सामुदायिक कामहरुमा यो क्लब वर्षैभर सक्रिय सहभागी हुने गरेको छ

झापाले अमेरिका, अष्ट्रेलिया, मलेसिया, कतार लगायत विभिन्न देशका क्लबहरुसँग पनि साझेदारी गरेको छ । त्यहाँ सम्भावना बोकेका नेपाली खेलाडीहरुलाई टिममा सहभागी गराउने प्रयास गरिने अर्पणले बताए ।

‘यो पार्टनरसिपको मुख्य उद्देश्य भनेको उनीहरुसँग पनि खेलाडी हुन सक्छ । ती खेलाडीलाई हामीले डि क्याटेगोरीमा रुकी प्लेअरको रुपमा अवसर दिनेछौं,’ उनले भने । अहिले झापाबाट खेलिरहेका धिरज अमेरिकामा डल्लास गोर्खाजबाट खेल्छन् ।

झापा एफसीको लक्ष्य

पहिलो पटक एनएसएल खेलिरहेको झापाले लक्ष्य त उपाधि जित्ने नै बनाएको थियो । तर सुरुवातमा राम्रो प्रदर्शन गर्न नसकेको खड्काले स्वीकार गरे । ‘हामीले उपाधि जित्ने नै लक्ष्य राखेका थियौँ । तर सुरुवातमा राम्रो प्रदर्शन भने हुन सकेन । तैपनि बाँकी खेलमा राम्रो गर्ने लक्ष्य छ’ उनले भने ।

एनएसएलमा २ गोल मात्र गर्न सकेको झापाले गोल पनि २ मात्र खाएको छ । सर्बियाली गोलकिपरले ३ खेलमा त क्लिनसिट राखेका थिए ।

झापाले देशभित्रको प्रतियोगिता मात्र नभई एसियाली स्तरका फुटबल प्रतियोगितामा पनि सहभागी हुने योजना बनाएको छ । ‘अहिलेका लागि हाम्रो अल्पकालीन टार्गेट साउथ एसियामा टप क्लब बन्ने हो’, अर्पणले भने ।

भारतमा पनि अहिले इन्डियन सुपर लिग (आईएसएल) भइरहेको छ । त्यसैको शैलीमा नेपालमा एनएसएल भइरहेको छ । भारतमा आइ लिग र आईएसएल दुबै प्रतियोगिता सहज रुपमा सञ्चालन भए पनि नेपालमा शहीद स्मारक ए डिभिजन लिग र एनएसएलबीच तिक्तता रहेको अर्पण बताउँछन् ।

झापाले महिला फुटबल टिम, उमेर समूहका टिम र फुटबल एकेडेमी पनि सञ्चालन गर्ने उद्देश्य राखेको छ । निकट भविष्यमा आफ्नै रंगशाला बनाउने पनि अर्पणले बताए ।

‘हामीले ५-६ विघा जग्गा लिएर स्टेडियम प्लान गर्दैछौँ । जसरी भएपनि फुटबललाई हराभरा बनाउने लक्ष्य छ’,  उनले भने, ‘नेपालमा फुटबल विकासको लागि ग्रासरुटबाट धेरै परिवर्तन गर्न जरुरी छ ।’ ए डिभिजनको विकेन्द्रिकरण गर्ने, क्बलहरुको एकेडेमी बनाउने, होम एण्ड अवे खेल खेलाउने गरी सोच्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ ।

यसरी जन्मियो झापा एफसी

अर्पण खड्का ।

कतारमा बसेर फूलको व्यावसाय गर्दै आएका अर्पणबिक्रम खड्काको मनपर्ने खेल को फुटबल । उनले केही साथीहरुसँग मिलेर झापा एफसीमा लगानी गरेका छन् । झापा एफसीमा अहिले ७ जनाको सञ्चालक समिति छ । त्यसमा फुटबलमै केही गर्नुपर्छ भनेर लागेका अपर्णजस्तै युवाहरु छन् ।

अर्पणलाई युवा उमेर फुटबल खेल्ने खुबै शोख थियो । स्कुल पढ्दा खेल्थे तर ठूलै खेलाडी बन्ने सपना पूरा भएन । प्रवेश कटुवालसँगै उनले यू-१६ का लागि ट्रायल समेत दिएका थिए । तर अन्तिम ४० मा नपरेपछि उनको करिअर अर्कैतिर मोडियो । आफू खेलाडी बन्न नसकेकामा उनी धेरै चिन्तित थिए ।

खेलाडी बन्न नसके पनि फुटबलबाट अलग हुन उनको मनले पनि मानेन । युवा उमेरमै वैदेशिक रोजगारीको लागि कतार पुगेका अर्पणले फुटबललाई माया मार्न सकेनन् ।

कतार जाँदा उनी २१ वर्षका मात्र थिए । त्यहाँ नेपाली समुदाय बीच हुने फुटबल प्रतियोगिताहरुमा सहभागी हुन थाले । काम सकेर बेलुका खेल्न जान्थे । केही प्रतियोगिता जिते । त्यहीँ हुँदैमा सल्लाह भयो क्लब दर्ता गर्ने ।

‘हामीले साथीहरुसँग सल्लाह गरेर एउटा क्लब दर्ता गर्ने योजना बनायौं । त्यही बेला नेपालमा फुटबलमै लागेका केही साथीहरुसँग चिनजान भयो र हामी अघि बढ्यौं’, अर्पणले सुरुवाती क्षण स्मरण गरे ।

नेपालमा इतिहास बोकेका पुराना क्लब आफ्नै समुदायमा मात्र सीमित छन् । उनीहरुले पुटबलको संरचनामा काम नगरेको पाएर अर्पणलाई एउटा सञ्चालक समिति नै क्लब चलाउनुपर्छ भन्ने लाग्यो । त्यसपछि सन् २०१० नोभेम्बरमा उनी नेपाल कतारबाट नेपाल आए । क्लब चलाउन आफ्नै मैदान र एकेडेमी चाहिने उनको बुझाइ छ ।

अर्पण विदेशी फुटबल पनि फलो गर्छन् । जहाँ धेरै जसो क्लबहरु शहरको नामबाटै चर्चित छन् । म्यानचेष्टर, मड्रिड,  मिलान यस्तै । अर्पणले पनि किन शहरको नामबाट क्लबको नाम नराख्ने भन्ने सोचेर झापा एफसी राखे ।

‘संसारमा प्रख्यात क्लबहरुले त्यो शहरको पनि रिप्रिजेन्ट गर्छ । त्यसैले नाम सुन्दै मान्छेहरुलाई यो यहाँको क्लब हो भन्ने थाहा हुनुपर्छ भने झापाको नाम राख्यौँ’, उनले भने ।

त्यहाँको समुदायलाई पनि जोड्ने र झापावासीहरुको आफ्नै क्लब हो भन्ने बनाउनका लागि उक्त नाम राखेको उनले बताए ।

अर्पणले २०१० डिसेम्बरमा प्रक्रिया अगाडि बढाएका उनले २०११ जनवरी २ क्लब दर्ता गरे । उनी झापा एफसीलाई नेपालकै पहिलो प्राइभेट लगानीको क्लब भनेर दाबी गर्छन् । क्लब प्राइभेट भए पनि झापामा हुने सामाजिक र सामुदायिक कामहरुमा यो क्लब वर्षैभर सक्रिय सहभागी हुने गरेको छ ।

अर्पणले सुरु गरेपछि फुटबलमा लगाव भएका व्यक्तिहरु यसमा जोडिँदै गए । ‘अहिले हामी ७ जनाको समूह छ । सबैको कनेक्सन भनेकै फुटबल हो । हामी सुरुमा जम्मा भएर क्लब खोलेको होइन कि झापा एफसी बनेपछि सबै जोडिँदै जानुभएको हो ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?