+
+

हामीलाई कसले चलाइरहेको छ ?

हामीलाई सामाजिक सञ्जालका केही समूहले सजिलै गलत दिशामा लगिरहेका छन् । आफ्नो रुचि अनुसार प्रयोग गरिरहेका छन् । उनीहरूले जता बहकायो, त्यतै बहकिएका छौं ।

जगदिश गिरी जगदिश गिरी
२०८० पुष ३ गते ७:२२

मंसिरमा बिहेको लगन थियो । केही जोडीको बिहे चर्चामा रहृयो । एकजना बधूलाई जे गरे पनि सुख छैन जस्तो गरी सामाजिक सञ्जाल प्रयोगकर्ताले लखेटे । हिजो सामान्य मानिससँग बिहे गर्दा पनि केही नपाएर त्यस्तो केटासँग बिहे गरेको भनेर आलोचना गरियो । अहिले अलि धनी केटासँग बिहे गर्दा पैसाको लागि बिहे गरी भनिन्छ ।

अरे यार, तपाईंहरूले आफूले आफैंलाई हेर्नुभएको छ । कस्तो धरातलमा उभिनुभएको छ ? आफ्नो आत्मसमीक्षा गर्नुभएको छ ? के तपाईंहरूले माया गरेकै मान्छेसँग बिहेबारी गर्नुभएको छ ? के तपाईंहरूले आजसम्म कसैलाई धोका दिनुभएको छैन ?

अर्को राम्रो विकल्प हुँदाहुँदै गरिब घरको केटा अथवा केटीसँग बिहे गर्न तयार हुनुहुन्छ ? आजसम्म तपाईंहरूको ‘वान साइड लभ’ शारीरिक सुन्दरताका हिसाबले सबैभन्दा कम सुन्दर युवती अथवा युवकसँग परेको छ ?

पैसा भएको केटा र अरू कुनै केटी नपाएपछि जोसँग पनि साँचो माया गर्छु भन्ने केटा अपवाद हुन् ।

साँच्चिकै हामी कस्तो समाज र संस्कारमा हुर्किंदैछौं । के हामीले पछ्याएको बाटो ठिक छ ? यसरी हामी कहाँ पुग्छौं ?

हामीलाई किन यति धेरै अरूको जीवनको चासो परेको । शिक्षित परिवारबाट छन् । आफ्नो लागि निर्णय गर्न सक्छन् । आफ्नो लागि उचित जीवनसाथी रोज्ने अधिकार पनि व्यक्तिमा निहित छ । अर्काको निजी जीवनमा तथानाम अड्कलबाजी लगाएर सामाजिक सञ्जालमा तर्क-वितर्क हामीले पाउने केही पनि छैन । उनीहरूलाई फरक पर्ने केही पनि हैन । जसको बिहे जोसँग भए पनि तपाईंलाई के ? इट्स नन् अफ योर बिजनेस !

नभुलौं, समाजमा हामीले सँगै मिलेर उठाउनुपर्ने मुद्दा अरू धेरै छन् । तर हाम्रो समाज पछिल्लो समय नराम्रो दलदलमा फसेको छ । जटिल खालको मानसिक समस्याबाट गुज्रिरहेको छ । यसमा भूमिका नागरिकको कमजोर मिडिया साक्षरता र युट्युब लगायत विभिन्न सामाजिक सञ्जालको पनि छ ।

हामी साँच्चिकै के अभ्यास गर्दैछौं ? कस्तो समाजको परिकल्पना गर्दैछौं ? यदि युट्युब बनाउनेले पहिले नै नेपालीले यस्ता यस्ता भिडियो कन्टेन्ट हाल्नेछन् भन्ने थाहा पाएको भए सायद युट्युब बनाउने नै थिएन होला । नेपालको लोकेशन राखेर युट्युब हेर्‍यो भने सुरुमै आउने भिडियो टाइटल क्लिकबेट बढाउने प्रकारका हुन्छन् । असाध्यै तोडमरोड गरेका । ‘फलानोको यस्तो भेटियो, … बाँकी भाग दुईमा ।’

यदि जनताले नयाँहरूको अन्धभक्त बनेर जयजयकार मात्रै गरे भने उनीहरूको हालत पनि पुराना नेताको जस्तै हुनेमा दुईमत छैन । त्यसपछि फेरि कुनै अर्को नयाँ अनुहार खोजेर ‘गुडलक’ भन्नुको विकल्प हुने छैन

यता दर्शक पनि व्यग्र प्रतीक्षा गरेर भाग दुई कुरेर बस्छन् । खासमा यो जम्माजम्मी समस्यामा रहेका २-३ जनाको आपसी मामिला हो । यो कुरा सल्ट्याउने पनि तिनैले हो । नभए प्रहरी प्रशासन छ । अदालत छ । तर, यहाँ भइदिन्छ के भने युट्युबरहरूले यसलाई कमाइखाने भाँडो बनाएका छन् । अझ अरूको निजी मामिला सार्वजनिक गर्न पाउँदा युद्ध जितेको अनुभूति गर्छन् ।

हेर्ने दर्शकको रोजाइका विषय पनि यस्ता यस्तै छन् । भिडियो हेरेर दर्शकहरू सामाजिक सञ्जालमा न्यायाधीश बन्छन् एकतर्फी रूपमा अश्लील र असभ्य भएर गालीगलौजमा उत्रिन्छन्ा् । यहाँ कमजोरी दर्शकको पनि छ । धेरै चाहिं युट्युबरकै छ ।

दर्शकले विद्या चापागाईंको ‘हेर्ने कथा’ लाई पनि उत्तिकै माया दिएका छन् । दर्शकले नै अरूको बिग्रेको भत्केको मात्रै हेर्छन्, राम्रो कुरा हेर्दैनन् हामीले के गर्ने भनेर क्यामेरा र बुम लगेर घर-घर चहार्ने युट्युबरका लागि हेर्ने कथा गतिलो झापड पनि हो ।

आशा छ अहिलेका धेरै युट्युबर बनेर राम्रो कन्टेन्ट दिनेछन् । देश र समाजलाई काम लाग्ने जनहितका विषय उठान गर्नेछन् । दर्शकको पनि स्वाद फेरिनेछ । समाज फेरिनेछ । हुनसक्छ, केही समय तपाईंको कन्टेन्टको भ्यूमा कमि आउला तर माया र समाजको साथको कमि हुने छैन ।

हुनसक्छ केही समय रेभिन्यूमा कमि आउला तर समाजमा तपाईंको रेपुटेशनमा कमि आउने छैन । नेपाली समाजले बिग्रेको, भत्केको नराम्रो मात्रै हेर्छन् भनेर उम्किने छुट अब कसैलाई पनि छैन । हुनसक्छ दर्शकले तपाईंहरू नाङ्गएिको हेर्न रुचाउलान्, के नाङ्गएिर भिडियो बनाउनुहुन्छ ? हुन त योभन्दा बढी नाङ्गनि बाँकी कहाँ छ र !

हामीलाई सामाजिक सञ्जालका केही समूहले सजिलै गलत दिशामा लगिरहेका छन् । आफ्नो रुचि अनुसार प्रयोग गरिरहेका छन् । उनीहरूले जता बहकायो, त्यतै बहकिएका छौं ।

कहिले कसैलाई एकै छिनमा भगवान् बनाउँछौं त एकै छिनमा दानव बनाउन तम्सिन्छौं । हामी आफ्नो विवेक भन्दा पनि सामाजिक सञ्जालको स्वार्थी समूहबाट निर्देशित भएका छौं । तथ्य र सत्यको बेवास्ता गरेर, त्यो समूहबाट सित्तैंमा विनासित्ति दुरुपयोग भएका छौं । यसको पछिल्ल्ाो उदाहरण हो- ‘गुडलक रविदाइ’ ।

चुनावताका सामाजिक सञ्जाल ‘गुडलक रविदाइ’मय भएको थियो । उनले जे गरे पनि गुडलक, जहाँ गए पनि गुडलक । राम्रो र चाहिने ठाउँमा गुडलड दिनु त राम्रो हो । रविका सवारी चालकको घरको छतबाट लडेर मृत्यु हुँदा दाहसंस्कारका लागि लामिछाने पनि आर्यघाट पुगेको भिडियो सार्वजनिक भयो । चितामा गरिब परिवारको एक मात्रै आशा दनदनी खरानी भइरहेको थियो मृतक ड्राइभरको परिवार शोकमा थियो । छेउमै उभिएका थिए रवि । त्यतिबेला पनि सामाजिक सञ्जाल गुडलक रवि दाइमय भयोे । त्यो जमातले सामान्य मानवीय संवेदना पनि बिर्सेको थियो । त्यस दुःखद् घडीमा मृतक परिवारलाई सान्त्वना दिनुपर्ने हो । त्यसो भएन । भयो त गुडलक रविदाइ, मलामी जाँदा पनि गुडलक भन्नुपर्ने ! यो कस्तो समाजको परिकल्पना हुँदैछ । हामी कुन धरातलमा छौं ।

केही सय जनाको सामाजिक सञ्जालका असामाजिक तत्वका कारण सिंगो देश कुहिरोको काग बनेको छ । यो समाज र राष्ट्रका लागि गम्भीर अवस्था हो । यो देशका लागि घातक सावित हुनेछ ।

पुराना दल र नेताहरू कमजोर बनेका यही जयजयकार संस्कृतिले हो, आलोचनात्मक चेत मरेको कारण हो । यदि जनताले नयाँहरूको अन्धभक्त बनेर जयजयकार मात्रै गरे भने उनीहरूको हालत पनि पुराना नेताको जस्तै हुनेमा दुईमत छैन । त्यसपछि फेरि कुनै अर्को नयाँ अनुहार खोजेर ‘गुडलक’ भन्नुको विकल्प हुने छैन ।

कोही एक व्यक्ति आएर जादूको छडी घुमाएर एकैचोटि सबै ठिक गर्छ भनेर आशा गरेर बस्नु मूर्खता हो । सबैले आ-आफ्नो ठाउँबाट आफ्नो काम गरे कसैलाई ‘गुडलक’ भन्नुपर्दैन, कसैलाई गाली गर्नुपर्दैन ।

सबैले आफ्नो विवेक प्रयोग गरेर सही गलत छुट्याउँदै व्यक्ति बन्न सके परिवार बन्नेछ, समाज बन्नेछ, अनि देश बन्न समय लाग्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?