+
+
ब्लग :

सामाजिक सञ्जालको दुरुपयोग र सुरक्षा चुनौती

आजको दुनियाँमा हामी विज्ञान र प्रविधिको यति ठूलो विकासलाई नकारेर बाँच्न सक्दैनौं। जसको बढीभन्दा बढी सदुपयोग गर्न सक्नु नै आधुनिक दुनियाँको रफ्तारमा दौडिनु हो।

 

आस्था घिमिरे आस्था घिमिरे
२०८० फागुन १४ गते १३:१०

सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय सामग्री प्राप्त गर्न र साझा बनाउन मद्दत गरिरहेका छन्।

सन् २०२२ मा फेसबुकले सार्वजनिक गरेको आँकडा अनुसार विश्वमा २.९ अर्ब (२९० करोड) मानिस यसका सक्रिय प्रयोगकर्ता रहेका छन्। सन् २०२२ मा युट्युबले पनि आफ्नो प्रयोगकर्ता सार्वजनिक गर्‍यो। जसको आँकडामा लगभग २.१५ अर्ब (२१५ करोड) मानिसहरू यसको सक्रिय प्रयोगकर्ता रहेका छन्। युट्युबले विश्वभरि विभिन्न धर्म, सांस्कृतिक, विज्ञान, मनोरञ्जन, शिक्षा र अन्य क्षेत्रमा सामग्री प्रसारण गर्दछ। यसले लोकप्रियता, विस्तार र प्रभावमा विश्वभरि पहुँच प्राप्त गरेको छ।

यसै गरी अन्य सामाजिक सञ्जालहरूको प्रयोगकर्तालाई हेर्ने हो भने पनि त्यतिकै व्यापक रूपमा विस्तार भइरहेको छ। जस्तो कि टिकटक प्रयोगकर्ता आँकडामा लगभग ९.५ अर्ब (९५० करोड), इन्स्टाग्राम प्रयोगकर्ता लगभग १६ अर्ब (१६०० करोड), लिंक्डइन प्रयोगकर्ता आँकडामा लगभग ७.५ अर्ब (७५० करोड), टम्ब्लर प्रयोगकर्ता लगभग ५७ मिलियन (५.७ करोड), रेडिट प्रयोगकर्ता आँकडामा लगभग ४७ करोड रहेको छन्।

यसले के प्रमाणित गर्दछ भने आजको दुनियाँमा कुनै पनि मानिस सोसल मिडियाबाट अछुतो छैन। आज दुनियाँको जुनसुकै कुनामा रहेर पनि मानिसले एक्लो महसुस गर्नुपर्दैन। ऊ सामाजिक सञ्जाल प्रयोग गर्छ भने यसै मार्फत समूहमै रहेको हुन्छ। आफ्नो विचार, अनुभव र जीवनका हाँसो, खुसी, दुःख, समस्या सेयर गरिरहेको हुन्छ।

आज हामीले प्रत्यक्ष देखिराखेका छौं– जीवनको कठिन अवस्था झेलिरहेका मानिसहरूलाई सामाजिक सञ्जाल मार्फत नै सहयोग जुटाउने र प्रदान गर्ने काम समेत भइरहेको छ। भूकम्प, बाढी, पहिरो, आगजनी जस्ता प्राकृतिक प्रकोपको बेलामा समेत सामाजिक सञ्जाल मार्फत विश्वभरिबाट राहत सहयोग संकलन र वितरण गर्ने काम समेत भइरहेको छ।

यस्तो लाग्छ सूचना र संचारको दुनियाँ भनेको यो युगको अद्भुत क्रान्ति हो। यस मार्फत नै मानिसहरूले कठिन भन्दा कठिन कार्यहरू सहज रूपमा गरिरहेका छन्। राजनीतिक संगठन र सामाजिक गतिविधिलाई क्रियाशील बनाइरहेका छन्। कति मानिसले सामाजिक सञ्जाललाई व्यावसायिक प्लेटफर्मको रूपमा समेत प्रयोग गरिरहेका छन्। यसले व्यापारीहरूलाई अधिक लाभ समेत प्रदान गरिरहेको छ।

यसका अलावा सामाजिक सञ्जालले मानिसलाई विचार तथा अनुभव साझा गर्न सक्षम बनाइरहेको छ। सामाजिकीकरण हुन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। साथै मानिसहरू बीचमा विश्वभरि पहुँच विस्तार गराइरहेको छ। विभिन्न भेषभुषा र भाषाहरू मार्फत सांस्कृतिक रूपमा जोडिरहेको छ।

ज्ञान–विज्ञान विस्तार गर्न, शैक्षिक सामग्री उत्पादन गर्न, साझा गर्न र साक्षात्कार गर्न समेत सघाइरहेको छ। कतिपय मानिसहरूले सामाजिक सञ्जाललाई बजार व्यवस्थापन अनुसन्धान, ब्रान्डिङ र ग्राहक सेवाका रूपमा समेत प्रयोग गरिरहेका छन्। यसले ल्याएको खुलापनले मनोरञ्जनका लागि उपयुक्त सामग्री प्रदान गरिरहेको छ।

विडम्बना सामाजिक सञ्जालमा यावत् किसिमका फाइदा हुँदाहुँदै पनि यसको उचित किसिमले प्रयोग नगर्दा आजभोलि सामाजिक सञ्जालको दुरुपपोग बढ्दै गएको छ र आजको दुनियाँलाई ठूलो चुनौती थपेको छ।

सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले आजभोलि पत्रकारिता जस्तो मर्यादित पेशा माथि नै प्रश्न उठ्न थालेको छ। जस्तो कि गलत सन्देश प्रसारण र छाडा र अपाच्य दृश्यहरूको प्रचारप्रसार। पत्रकारिताको सामान्य नीतिनियमको समेत ख्याल नगरी गरिने गलत समाचार सम्प्रेषण।

बढ्दो साइबर अपराध जसले विना कारण मानिसको जीवनमा समस्या सृजना गरिरहेको छ। मानसिक समस्या निम्त्याइरहेको छ। दिन प्रतिदिन आत्महत्याका घटनाहरू घटिरहेका छन्। अनावश्यक आर्थिक भार थपिरहेको छ। कतिपय मानिसहरूलाई शारीरिक रूपमा समेत दुःख दिइरहेको छ। सामाजिक सञ्चालको प्रयोगले गर्दा हत्या, हिंसा, बलात्कार, अपहरण, चोरी, डकैती जस्ता आपराधिक घटना समेत घटिरहेका छन्।

कतिपय टिनएजर उमेरका केटाकेटीहरू सामाजिक सञ्जाल मार्फत नजिक हुने, प्रेममा पर्ने, पढाइ बिगारेर विवाह गर्ने जस्ता कारणले पारिवारिक समस्या समेत निम्तिइरहेको छ। कतिपय मानिसले सम्पर्क गर्ने, सम्बन्ध बढाउने, विभिन्न किसिमका लोभलालच देखाउने र कालान्तरमा सामाजिक सञ्जाल मार्फत ब्ल्याकमेलिङ गर्ने। डर–धम्की देखाएर पैसाको बार्गेनिङ गर्ने जस्ता कुकार्य समेत गर्दै आएको देखिन्छ।

सामाजिक सञ्जालको बढ्दो प्रयागले मानिसहरूको समयको दुरुपयोग समेत गरिरहेका छन्। कति आवश्यक काममा समेत बाधा सिर्जना गरिरहेको छ। कतिपय मानिसहरूको दैनिक जीवनमा समेत असर पारिरहेको छ। विद्यार्थीहरू पढ्ने समयमा सामाजिक सञ्जाल चलाएर समय खेर फालिरहेका छन्। गृहिणीहरूमा समेत यसको लत बस्न थालेको छ। पारिवारिक जीवन नै लथालिंग हुने गरी यसको दुरुपयोग बढेको छ।

यसका अतिरिक्त डाटा प्राइवेसीमा चुनौती थपिरहेको छ। सामाजिक सञ्जालमा उपलब्ध जानकारीहरूले पनि कतिपय गोपनीयता भंग गरिरहेको छ। जसको कारण व्यक्तिगत डाटाको गलत प्रयोग हुनसक्ने चुनौती रहन्छ। कतिपय आपराधिक घटना घटाउन समेत यसले सहयोग गर्ने गरेको यथार्थ समेत सार्वजनिक भएका छन्।

 सामाजिक सञ्जालको दुरुपयोग कसरी नियम र नियन्त्रण गर्ने ?

मानिसहरूलाई राज्य तथा सम्बन्धित नियमनकारी निकायहरूले नै सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभावको बारेमा शिक्षित र जागरुक बनाउन जरूरी छ। यस्ता सामाजिक सञ्जाल तथा प्लेटफर्महरूले नै आफ्नो सेवाको नीति तथा सुरक्षा मापदण्डहरू व्यवस्थापन गर्नुपर्छ, प्रयोगकर्तालाई पालना गराउन लगाउनुपर्दछ।

प्लेटफर्महरूले नै उपयोगकर्ताहरूलाई उनीहरूको व्यक्तिगत डाटा सुरक्षित र गोप्य राख्ने मार्गहरू प्रदान गर्नुपर्छ। साथै सकारात्मकता, समर्थन र सम्बन्ध निर्माणका लागि सामाजिक सञ्जालमा सकारात्मक संवादको लागि प्रोत्साहन गर्नुपर्छ।

सामाजिक सञ्जालमा निगरानी, बुद्धिमत्ता र सामाजिक प्रतिष्ठाको बारेमा प्रयोगकर्ताहरूलाई शिक्षित बनाउने उपायहरू उपलब्ध गराउनुपर्छ। उपयोगकर्ताहरूलाई निजी तथा सुरक्षित राख्नका लागि कम्प्युटर सेक्युरिटीको बारेमा शिक्षा दिनुपर्छ।

चाहे जेसुकै भए पनि सूचना र संचारको विकास आजको दुनियाँको अद्भुत उपलब्धि हो। आजको दुनियाँमा हामी विज्ञान र प्रविधिको यति ठूलो विकासलाई नकारेर बाँच्न सक्दैनौं। जसको बढीभन्दा बढी सदुपयोग गर्न सक्नु नै आधुनिक दुनियाँको रफ्तारमा दौडिन सक्नु हो।

विज्ञानको यो विशाल उपलब्धिलाई हाम्रा पुर्खाहरूले न देख्न पाए न सुन्न। त्यो कालो युगमा जन्मिए, कालै युगमा वितेर गए। सायद उनीहरूले कल्पना समेत गरेका थिएनन् होला एक दिन यो विश्व एउटा सानो गाउँ हुनेछ भनेर। कहिल्यै महसुस पनि गरेका थिएनन् होला ओछ्यानमै बसेर सात समुद्र पारिको प्रियजनसँग घन्टौं गफिन सकिन्छ भनेर। आजको यो स्वर्णिम युग देख्नसम्म पाएका भए कति धन्य हुने थिए होलान् ती मान्छेहरू!

हिजोको अँध्यारो दुनियाँ र आजको झिलिमिली दुनियाँ दाँजेर हेरौं न। साँच्चै कति स्वर्णिम युगमा बाँच्न पाएका छौं हामी। एउटा पत्र लेखेर सम्बन्धित मान्छेको हातमा पर्नको लागि महिनौं कुर्नुपर्ने त्यो जमाना अनि विश्वको जुनसुकै ठाउँबाट पनि सेकेण्ड भरमा भावना साटासाट गर्न पाइने आजको यो दुनियाँ। हिजोका हाम्रा पुर्खाहरू त्यो कालो युगमा कति कष्टकर जीवन बाँचेका थिए होलान्, जहाँ न उज्यालो थियो न सञ्चार थियो। एक ठाउँबाट अर्को ठाउँ जान समेत महिनौं पाइताला खियाउनुपर्थ्यो। यस मानेमा हामी कैयौं गुणा भाग्यमानी छौं।

त्यसैले सोशल मिडिया प्लेटफर्महरूलाई सकारात्मक र परिपक्व उपयोगमा संलग्न गराउनको लागि नकारात्मक प्रभावहरूको नियन्त्रण गरौं। जसका लागि लागि सशक्त कार्यक्रम र नीतिहरू अवलम्बन गरौं।

कामना गरौं, यो सुविधाले हामी आफैंलाई नपोलोस्। विज्ञानको यो अद्भुत विकासले हामी आफैंलाई नखाओस्। यसले प्रेमिल दुनियाँ निर्माण गरोस्। जीवन जिउन अझै सहज बनाओस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?