+
+

विमानस्थलमा पानी, बिस्कुट र चाउचाउ खुद्रा मूल्यमै बेच्न सिफारिस

अच्युत पुरी अच्युत पुरी
२०८० पुष ३ गते १९:३६
प्राधिकरणका महानिर्देशकलाई प्रतिवेदन बुझाउँदै सुझाव समितिका पदाधिकारी ।

३ पुस, काठमाडौं । नेपालका विमानस्थलहरुमा सञ्चालित पसलहरुले पानी, बिस्कुट, चाउचाउजस्ता आधारभूत आवश्यकताका वस्तुमा तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढी मूल्य लिन नपाउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको सुझाव समितिले आफ्नो प्रतिवेदन बुझाउँदै यस्ता वस्तु अधिकतम खुद्रा बिक्री मूल्यमा नै बिक्री गर्नुपर्ने सिफारिस गरेको हो । देशभरका विमानस्थल भित्र राखिएका वस्तु तथा सेवाको व्यापार गर्ने पसलहरुले लिन पाउने मूल्यको सीमा तोक्न नेपाल नागरिक उड्डयन प्राधिकरणले २ कात्तिकमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा गठन भएको समितिले मंगलबार प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको छ । विमानस्थल भित्रका पसलको मूल्य बाहिर बजारको तुलनामा महँगो हुने तर उपभोक्ताबाट यसबारे पटक पटक गुनासो आइरहेपछि गत कात्तिकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल भित्र अनुगमन गरेका थिए । सो क्रममा कतिपय पसलमा एमआरपी नराखिएको र कतिपयमा महँगो मूल्य राखेको पाइएपछि विमानस्थल व्यवस्थापनले वाणिज्य विभागलाई अनुगमन गर्न भनेको थियो ।

विमानस्थल भित्र प्राधिकरणले तोकेको मूल्यमा भाडा तिर्नुपर्ने, अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्नुपर्ने भएकाले बाहिरकै बजारको मूल्य राख्दा त्यसले गुणस्तरमा पर्ने प्रभाव समेतको अध्ययन गरी सीमा तोक्न बिहीबार प्राधिकरणले उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो ।

समितिले सोमबार बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘विमानस्थलमा आम उपभोक्ताहरुले उपभोग गर्ने आधारभूत आवश्यकताका वस्तु जस्तै बोटल वाटर, बिस्कुट, चाउचाउ आदि प्याकेजिङ भएका खाद्य तथा पेय वस्तुलाई व्यक्ति, फर्म, कम्पनीले अधिकतम खुद्रा बिक्री मूल्यमा नै बिक्री गर्न सम्बन्धित कार्यालयले निर्देशन दिनुपर्ने ।’

पसलहरुले वस्तु तथा सेवाको मूल्य निर्धारण गरी बिक्री गर्दा थोक मूल्यमा विद्युत् महसुल, बहालको ठेक्का रकम, संरचना, साज सज्जा गर्दा लाग्ने रकम, तालिम प्राप्त कर्मचारीलगायत अन्यमा हुने खर्च र सेवा समेतलाई ध्यानमा राखी कुल खर्चमा कानुन अनुसार लिन पाउने अधिकतम नाफा नबढ्ने गरी बिक्री गर्नुपर्ने र त्यसका लागि कार्यालयहरुले निर्देशन दिनुपर्ने सिफारिस समेत समितिले गरेको छ ।

त्यस अगाडि मूल्य सूची सार्वजनिक गर्नुपर्ने र यस सम्बन्धी कानुनी व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा आवश्यक संशोधन गर्न समेत सिफारिस भएको छ । यस अनुसार वस्तुको मूल्य निर्धारण गर्दा अस्वभाविक मूल्य राख्न नहुने समेत समितिको सिफारिस छ । प्रत्येक पसमा बिक्री गरिने वस्तु र सेवाको मूल्यसूची अनिवार्य राख्नु पर्ने समेत सिफारिस समितिको छ ।

रेष्टुरेन्टले स्तर अनुसार बजार मूल्यभन्दा बढी मूल्य राख्न नपाउने

विमानस्थलभित्र सञ्चालित रेष्टुरेन्ट, बिजनेस लाउन्ज र एक्ज्युक्युटिभ लाउन्जहरुले बिक्री गर्ने माल वस्तु तथा सेवाको मूल्य सोही स्तरका होटल तथा रेष्टुरेन्टले लिने बजार मूल्य भन्दा बढी नलिने गरी मूल्य राख्न सिफारिस गरिएको छ ।

यसका लागि सम्बन्धित कार्यालयले निर्देशन दिनुपर्ने समितिको सिफारिस छ । माल वस्तु बिक्री गर्ने व्यक्ति, फर्म कम्पनीले बिक्री गरिने मालवस्तुको गुणस्तरमा भने सम्झौता गर्न पाउने छैनन् ।

ठेक्का व्यवस्थापन अगाडि अध्ययन गर्नुपर्ने

विमानस्थलमा व्यावसायिक गतिविधिका लागि उपयुक्त स्थानमध्ये कुन स्थानमा कुन–कुन प्रकारका पसल सञ्चालन गर्ने भन्नेबारेमा अब सम्बन्धित कार्यालयले अध्ययन गराउनु पर्ने भएको छ ।

सोही आधारमा मात्र ठेक्का व्यवस्थापन गर्न समेत समितिले सुझाव दिएको छ । यी पसल कवललाई दिएको निर्देशन तथा सम्झौता कार्यान्वयन भए नभएको बारे कार्यालयले नियमित अनुगमन गरी आवश्यक निर्देशन दिनुपर्ने समेत समितिको सिफारिस छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?