
४ पुस, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले दुई सय शय्याको अस्पतालको निर्माण सुरु गरेका छन् । उद्योगी राउतले आरआर इन्टरनेशनल अस्पतालको निर्माण सुरु गरेका हुन् ।
शिवश अर्गनाइजेसन मार्फत निर्माण हुने अस्पतालको बुधबार शिलन्यास गरे । दुई सय शय्याको आर आर इन्टरनेशनल अस्पतालको लागत दुई अर्ब ५० करोड रहेको उनले बताए । विराटनगरको प्रवेशद्वार नजिकै मोरङ बुढीगंगा गाउँपालिका १ मा अस्पतालको संरचना निर्माण हुनेछ ।
अस्पताललाई सुरुमा १ सय शय्याको मल्टी स्पेस्यालिटी अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी रहेको उनले बताए । त्यसपछि क्रमशः ३ सय शय्यासम्म विस्तार गर्ने योजना रहेको अस्पतालका अध्यक्ष राउतले जानकारी दिए । २४ महिना भित्र निर्माण पुरा गरी २६ महिनापछि अस्पताल सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
अस्पताललाई सेन्टर अफ एक्सिलेन्सका रुपमा रुपमा विकास गरी विशिष्टीकृत स्वास्थ्य सेवा दिने लक्ष्य रहेको बताउँदै उनले मुटुरोगको उपचारलाई प्राथमिकतामा राख्ने बताए ।
अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोगतथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ ।
जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिंग कारोवार गरिरहेका राउतले काठमाडौँमा पांचतारे होटल निर्माण गरिरहेका छन् । अस्पताल र होटलबाट सेवाको क्षेत्रमा काम सुरु गरको उनले बताए ।
प्रतिक्रिया 4