+
+
५० खर्ब नाघ्यो बैंकहरूको कर्जा :

घरजग्गा र सेयर धितो कर्जामा उल्लेख्य वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत

विजय पराजुली विजय पराजुली
२०८० पुष ४ गते २०:२४

४ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ५० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको २ पुसको तथ्यांकमा कुल कर्जा प्रवाह ५० खर्ब अर्थात् कुल गार्हस्थ्य उत्पादनको ९३ प्रतिशत पुगेको हो ।

यही साता बैंक तथा वित्तीय संस्थामा निक्षेप पनि ६० खर्ब नाघेको थियो । २२ पुसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६० खर्ब २२ अर्ब पुगेको छ ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ७१ अर्ब र कुल कर्जा ४८ खर्ब ७८ अर्ब रुपैयाँ थियो । त्यसबेला जीडीपीमा ऋणको अनुपात ९१ दशमलव १ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको ५ महिनाको निक्षेप साढे २ खर्बभन्दा बढीले वृद्धि भएको छ । यस्तै कर्जा लगानी पनि १ खर्ब २० अर्ब रुपैयाँले बढेको हो ।

असार मसान्तसम्म बैंकहरूले स्थानीय तहको सञ्चित कोषमा रहेको ८० प्रतिशत निक्षेपमा गणना गर्दै आएका थिए । साउनदेखि त्यसलाई निक्षेपमा गणना गर्न नपाइने व्यवस्था भयो भने भदौको तेस्रो सातामा आएर पुनः स्थानीय तहको सञ्चित कोषको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाइने व्यवस्था भयो । असारसम्म स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत निक्षेप गणना गर्दै आएकोमा हाल ६० प्रतिशत गणना हुने भएकोले त्यसलाई समेत आधार मान्दा चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप करिब ३ खर्बले बढिसकेको देखिन्छ ।

लगातार रुपमा रेमिट्यान्स बढिरहनु र आयात गत वर्षको हाराहारीमै मात्र हुँदा आर्थिक वर्षको सुरुवातबाट नै चालु खाता र शोधनान्तर स्थिति बचतमा छ । यसले गर्दा निक्षेपमा पनि राम्रो वृद्धि देखिन्छ । तर, आन्तरिक अर्थतन्त्र कमजोर बन्दा बैंकिङ प्रणालीमा कर्जामा माग कमजोर देखिन्छ ।

साउन र भदौमा कर्जा विस्तार नगन्य मात्रै भए पनि असोज कात्तिक र मंसिरमा भने कर्जा विस्तारमा सुधार देखिएको राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् । मौद्रिक नीति र नियामकीय नीति लचिलो बनाउँदा त्यसको प्रभाव कर्जा विस्तारमा देखिएको र आन्तरिक आर्थिक गतिविधि समेत बढ्न लागेको दाबी गभर्नर महाप्रसाद अधिकारीले केही दिनअघि गरेका थिए ।

नेपाल राष्ट्र बैंकले बैंकहरूले संकलन गरेको कुल निक्षेपको ९० प्रतिशत कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । अथात् कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) अधिकतम ९० प्रतिशतसम्म पुर्‍याउने सक्ने व्यवस्था छ । राष्ट्र बैंकको २ पुससम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८०.२५ प्रतिशतमा झरेको छ । बैंकहरूसँग सीडी रेसियो ९० प्रतिशतसम्म लैजाँदा बैंकहरुसँग झन्डै ६ खर्ब रुपैयाँ लगानीयोग्य तरलता देखिन्छ । तर, निक्षेपको रुपमा गणना गर्दै आएको ऋणपत्रलाई पूँजीकोष वा स्रोत कुन प्रयोजनको लागि हो भनेर छुट्याउनुपर्ने हुन्छ ।

ऋणपत्रलाई स्रोत प्रयोजन मान्दा त्यसलाई निक्षेपको रुपमा गणना गर्न सकिन्छ । तर, पूँजीकोषको अंगको रुपमा जारी गरेको भए पुस मसान्तपछि त्यसको ५० प्रतिशत मात्रै स्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था छ ।

राष्ट्र बैंकले आगामी असार मसान्तबाट भने पूँजीकोषको अंगको रुपमा रहेको ऋणपत्र निक्षेपमा गणना गर्न नपाउने व्यवस्था गरेको छ ।

हाल बैंकहरूसँग करिब १ खर्ब १० अर्ब हाराहारी ऋणपत्र रहेको छ । बैंकहरुको अधिकांश ऋणपत्र पूँजीकोषको अंगको रुपमा नै रहेकाले आगामी असारसम्म बैंकहरूमा करिब १ खर्ब स्रोत कम हुने देखिन्छ ।

तर सरकारले आन्तरिक ऋण पनि उठाउने र कर्जाको मागमा पनि सुधार भइरहँदा कर्जा लगानी गर्ने स्रोतको अभाव नभए पनि अधिक तरलताको ठूलो दवाब भने नरहेको बैंकरहरू बताउँछन् ।

सेयर धितो र घरकर्जामा सहजताले कर्जा विस्तारमा सुधार

राष्ट्र बैंकले पछिल्लो समय मार्जिन प्रकृतिको सेयर धितो कर्जा, आवासीय घरसहितको रियल स्टेट कर्जालगायतको जोखिम भार कम गरेको छ । जसले गर्दा व्यक्तिगत आवासीय घर कर्जा र सेयर धितो कर्जामा चालु आर्थिक वर्षको चार महिनामा उल्लेख्य रुपमा विस्तार भएको छ ।

राष्ट्र बैंकको कात्तिक मसान्तसम्म असार मसान्तको तुलनामा १ खर्ब २ अर्ब ४६ करोडले कर्जा विस्तार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । जसमध्ये २ करोड रुपैयाँसम्मको आवासीय व्यक्तिगत घर कर्जा चालु आर्थिक वर्षको चार महिनामै २८ अर्ब ४६ करोडले बढेको छ ।

असार मसान्तमा ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ रहेको उक्त कर्जा कात्तिक मसान्तमा आउँदा ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकले व्यावसायिक घरजग्गा कारोबारमा केही कसिलो नीति लिए पनि एउटा घर नागरिकको अधिकार भएको भन्दै पहिलो घर खरिद वा निमार्ण गर्न दिने कर्जामा प्रोत्साहन गर्ने नीति लिएको छ ।

घर निर्माण हुँदा रोजगारीका अवसर साथै सिमेन्ट डन्डीजस्ता निर्माण सामग्रीको माग पनि बढ्ने भएकोले आर्थिक गतिविधि पनि बढाउने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. श्रेष्ठ बताउँछन् ।

कात्तिकको तुलनामा मंसिरमा आर्थिक गतिविधि थप बढ्ने अवस्था देखिएको समेत उनले बताए । ‘आर्थिक गतिविधि चलायमान बन्दै छ । घर कर्जा बढ्नुले पनि त्यसको संकेत गर्छ,’ उनले भने, ‘निर्माणको समय पनि सुरु भएको छ । निर्माण क्षेत्रको तथ्यांक आउने केही समय लाग्ने भए पनि मंसिरमा केही निर्माण सामग्रीको माग बढेको जस्तो देखिन्छ । मूल्य समेत केही बढेको हो कि भनेजस्तो देखिन्छ ।’

बैंकरहरू पनि आवासीय घर कर्जा विस्तारमा बैंकहरूले नै जोड दिइरहेको बताउँछन् । ‘बैंकहरूले पनि घर कर्जा जाओस् भन्नेमा जोड दिएका छौं । त्यसअनुसार स्थिर ब्याजदरको समेत योजना ल्याएका छौं,’ एक बैंकरले भने, ‘करिब १ खर्ब कर्जा विस्तार हुँदा २८ अर्ब घर कर्जामै गयो भन्ने अवस्था छैन । बैंकहरूले जोखिम भार पनि कम भएको र धितो मूल्यांकनमा कर्जा धेरै दिने मिल्ने भएकोले अन्य कर्जालाई पनि त्यसमा वर्गीकरण गरेर जोखिम भारित सम्पत्ति कम गर्न खोजेको हुनसक्छ ।’

यद्यपि घर कर्जामा पछिल्लो समय कर्जा विस्तार भने राम्रो रहेको उनले बताए ।

राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत गरेपछि नै सेयर कर्जा बढ्न लागेकोमा अब ५० लाखभन्दा माथिको कर्जामा पनि जोखिम भार १५० प्रतिशतबाट १२५ प्रतिशतमा ल्याउँदा थप प्रोत्साहन हुने उनले बताए ।

बैंकहरूले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा पछिल्लो समय राम्रै कर्जा विस्तार गरिरहेको ती बैंकरले बताए ।

‘सेयरको मूल्य पनि तल छ । जोखिम कम भएको कम्पनीको सेयर धितोमा मात्रै मार्जिन कर्जा प्रवाह हुन्छ, घटेको बजारमा औसत मूल्यको ७० प्रतिशत लगानी गर्न जोखिमको अवस्था छैन । सेयर बजारमा गिरावट भइहाल्दा पनि तुरुन्तै मार्जिन कल गर्न सकिन्छ,’ उनले भने, ‘जोखिम भार घटेपछि उक्त क्षेत्रमा केही कर्जा विस्तार गर्नु बैंकहरूको प्राथमिकता नै हो ।’

सेयर र घरजग्गाको कारोबार चलायमान बन्दै जाँदा त्यसबाट अन्य आर्थिक क्षेत्रमा पनि कर्जाको माग बढ्ने भएकाले बजारमा आत्मविश्वास बढाउन पनि सेयर र घर कर्जा बैंकहरूको प्राथमिकतामा रहेको उनले बताए ।

असार मसान्तमा ७६ अर्ब ३१ करोड रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा कात्तिक मसान्तमा आउँदा ४ अर्ब ८५ करोड रुपैयाँले बढेर ८१ अर्ब १६ करोड पुगेको छ । मंसिरमा अझै विस्तार भएको ती बैंकरले बताए ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?