+
+

प्रधानमन्त्री कप महिला टी-२० : राउण्ड रोविनमा खेल्न खेलाडी उत्साहित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते २०:५३

४ पुस, प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता पहिलो पटक राउण्ड रोविन लिगमा हुने भएपछि खेलाडीहरु उत्साहित बनेका छन् ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा पुस ५ गते बिहीबारदेखि प्रतियोगिता सुरु हुँदैछ ।

क्यानले प्रतियोगिताको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जनाउँदै विजेताले पाउने ट्रफी पनि सार्वजनिक गरेको छ । यस्तै सहभागी टिमका कप्तानहरुले राउण्ड रोविनका आधारमा खेल हुँदा धेरै खेल खेल्न पाइने र नयाँ खेलाडीको लागि पनि प्रतिभा देखाउने अवसर हुने बताए ।

प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टोली सहभागी हुनेछन् ।

क्यानका सचिव पारस खड्काले पहिलो पटक राउण्ड रोविन लिगमा प्रतियोगिता गर्न लागेकाले हरेक टिमले धेरै खेल खेल्न पाउने र यसले महिला क्रिकेटरका लागि पनि अवसर प्रदान गर्ने बताए ।

एपीएफका कप्तान तथा अलराउण्ड र सीता राना मगरले राउण्ड रोविन लिगमा खेल्दा नयाँ खेलाडीले अवसर पाउने बताइन् । ‘धेरै म्याच हुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हाम्रो टिमको तयारी राम्रो छ’, उनले भनिन् ।

यस्तै कोशी प्रदेशकी कप्तान रुबिना क्षेत्रीले नयाँ तरिकाले प्रतियोगिता हुन लागेकामा खुशी व्यक्त गरिन् । ‘पहिला थोरै मात्र खेल हुन्थ्यो । यो पटक नयाँ तरिकाले गर्न लाग्नुभएको छ । यसले धेरै खेल खेल्न पाइन्छ’, उनले भनिन् ।

साविक विजेता सुदूरश्चिमकी कप्तान ऋतु कनोजियाले राम्रो तयारी गरेको बताइन् । ‘राउण्ड रोविनका खेल हुँदा फाइदा हुन्छ । नयाँ खेलाडीले अवसर पाउँछ’, उनले भनिन् ।

यस प्रतियोगिताका लागि एक महिनादेखि तयारी गरिरहेको बागमती प्रदेशकी कप्तान अस्मिना कर्माचार्यले बताइन् । म्याच एक्सपोजर पाएको र त्यसलाई लागु गर्ने उनको भनाइ छ ।

यस्तै मधेशकी कप्तान कविता गौतम, गण्डकीकी कप्तान कुसुम गोदार, लुम्बिनीकी कप्तान सरस्वती घर्ती मगर र कर्णालीकी कप्तान किरण कुमारी कुँवरले पनि धेरै खेल खेल्दा नया खेलाडीहरुलाई फाइदा हुने बताए ।

पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ । पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुँदैछ । यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।

तर यस पटकबाट महिला खेलाडीले पनि धेरै खेल खेल्ने अवसर पाउने भएका छन् । लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ । लिगमा हरेक टोलीले ७-७ खेल खेल्नेछन् ।

लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

यस्तै तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ ।

पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् । प्रतियोगिताको पहिलो दिन बिहीबार चार खेल हुनेछ ।

बागमती र मधेश प्रदेशबीच टीयू मैदानमा उद्घाटन खेल हुनेछ । खेल बिहान साढे ९ बजे सुरु हुनेछ । यस्तै सोही समयमा एपीएफ र सुदूरपश्चिमबीच मुलपानी मेदानमा खेल हुनेछ ।

यस्तै गण्डकी र लुम्बिनीबीच त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ भने सोही समयमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच मूलपानी मैदानमा खेल हुनेछ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?