+
+

साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै एपीएफसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १३:१८

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै पराजित भएको छ ।मुलपानी मैदानमा आज भएको खेलमा सुदूरपश्चिमलाई विभागीय टोली एपीएफले ९ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा १ विकेट मात्र गुमाउदै पुरा गरेको थियो ।

एपीएफका लागि ओपनर ज्योती पाण्डेले अविजित रहँदै सर्वाधिक ४९ रन बनाइन् । ज्योती पाण्डे र इन्दु बर्माले दोस्रो विकेटका लागि अविजित ७५ रनको साझेदारी गरे । ज्योतीले ४८ बल खेल्दै ९ चौका प्रहार गरिन् ।

इन्दुले ४४ बल खेल्दै ४ चौका मदतमा अविजित ३१ रन जोडिन् । सुदूरपश्चिमकी इश्वरी विष्टले १ विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कविता जोशीले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा सर्वाधिक २२ रन बनाइन् । यस्तै सम्झना खड्काले १२ रन जोडिन् भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमले १३ रन अतिरिक्तबाट पाएको थियो । बलिङमा एपीएफका लागि सोनु खड्काले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् ।

यस्तै किफायती बलिङ गरेकी करुणा भण्डारीले ४ ओभरमा १ मेडन राख्दै १० रन मात्र खर्चेर १ विकेट लिइन् । सुमन विष्ट र इन्दु बर्माले पनि समान १ विकेट लिए । इन्दुले ४ ओभरमा १४ रन खर्चिइन् ।

यस्तै टीयू मैदानमा भएको उद्घाटन खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । आजै गण्डकी र लुम्बिनीबीच टीयू मैदानमा र कर्णाली र कोशी प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ । दुवै खेल सवा १ बजे सुरु हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा कूल ८ टोली सहभागि छन् । यस पटक प्रधानमन्त्री कप महिला क्रिकेट राउण्ड रोविनको फर्म्याटमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?