
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को २४औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार होटल अरण्य बुटिकमा संघको साधारणसभा सम्पन्न भएको हो ।
विज्ञापन बजारलाई बृहत बनाउने एवम् व्यवस्थिकरण गर्ने उदेश्यका साथ आयोजना भएको साधारणसभालाई सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले सम्बोधन गरेकी छिन् ।
सो क्रममा मन्त्री शर्माले आनको विज्ञापन बोर्डमा क्षेत्र गत प्रतिनिधित्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सी प्रति कुनै पूर्वाग्रह नराखेको बताइन् ।
मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि अश्लील र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्यका लागि नियमावली तुरुन्तै जारी गर्ने कार्य भइरहको बताइन् ।
विज्ञापन एजेन्सीहरु मिडिया र विज्ञापन दाताको बीचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिसतको हक अधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरुले सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलीले त्यसलाई बाँधी कारबाहीको दायरामा ल्याउने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका माग र विज्ञापन बजार बढाउने विषयमा आफूहरू सकारात्मक रहेको बताए ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले संघबाट बोर्डका हरेक कदममा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिए ।
मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णीकारले सरकारबाट आम सञ्चार क्षेत्रको संरक्षण तथा विकासका लागि अनियन्त्रित युट्युब तथा सामाजिक सञ्जालमा गरिने विज्ञापनमा रोक लगाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4