+
+

कोभिड फैलिदो, भाइरस नयाँ कि पुरानो ?

डा शेरबहादुर पुन डा शेरबहादुर पुन
२०८० पुष ८ गते १५:२०

केही दिन अगाडि एक बिरामी कामज्वरो, शरीर दुख्ने, घाँटी खस-खस हुने समस्या लिएर आए र कोभिड परीक्षण गराउदा पोजिटिभ देखियो । उनका केही आफन्तहरु पनि यस्तै लक्षणबाट ग्रसित थिए र पछि उनीहरुमा कोभिड नै पुष्टि भयो ।

यसबाट समुदायमा कोभिड संक्रमणको फैलावटलाई अनुमान गर्न गाह्रो छैन । अझ कोभिड सहजै सर्ने भाइरस भएको र जनस्वास्थ्यका मापदण्ड पालना समेत छाडिसकेको अवस्थामा सहज फैलिरहेको हुनुपर्दछ । तर यसरी तीब्र गतिमा फैलिरहेको कोभिडको भाइरस नयाँ कि पुरानो ? अर्थात् भारतमा हालै देखिएको र तिब्र गतिमा फैलिरहेको नयाँ जेएन.१ भाइरस हो वा नेपालमा नै देखिदै आइरहेको भाइरस सक्रिय भएको हो ?

हाल जाडो मौसम छ । समुदायमा हरेक उमेर समूहका मानिसहरुलाई रुघाखोकी लागेको देखिरहेका छौं । केही हप्ता अगाडिसम्म कोभिडको लक्षणसंग मिल्दो जुल्दो अर्को संक्रमण फ्लु भाइरसको ब्यापकता देखिन्थ्यो ।

विश्व स्वास्थ संगठनको तथ्यांकलाई आधार मान्ने हो भने गत मध्य सेप्टेम्बरबाट एक महिना (अक्टुबर महिनाको मध्यसम्म) फ्लु भाइरस उच्चतम विन्दुमा पुगेको देखिन्छ ।

सो समयमा संकलन गरिएको नमुनामध्ये झन्डै ५० प्रतिशतको हाराहारीमा फ्लु भाइरस पुष्टि हुने गरेको थियो । तर यो प्रतिशत ह्वात्तै घटेर झन्डै १७ प्रतिशतमा (औसतमा) स्थिर रहेको देखिन्छ । तर माथि उल्लेख गरे झैँ समुदायमा भने रुघाखोकीका बिरामी (१७ प्रतिशत फ्लु संक्रमित बाहेक) भने प्रशस्त र स्थिर देखिन्छ ।

यसले पनि कोभिडको फैलदो अवस्थालाई संकेत गर्दछ । स्मरण रहोस्, नेपालमा पहिलो पटक ओमिक्रोन भित्रिँदा र समुदायमा फैलिसक्दा पनि संक्रमितहरुले आफूलाई कमन कोल्ड भएको अनुमान गर्ने गरेका थिए ।

भाइरसमा हुने जिन परिवर्तनको सिलसिला नौलो र अस्वाभाविक भने होइन । तर जिन परिवर्तनसंगै भाइरसले स्वास्थमा पार्न सक्ने क्षमतामा परिवर्तन आयो/ देखियो भने महत्वपूर्ण हुन्छ ।

उदाहरणको लागि कोभिडको डेल्टा भेरियन्टको लहर अरु लहरहरु भन्दा अति कडा थियो भने ओमिक्रोन तुलनात्मक रुपमा कम कडा देखियो । हाल विश्वमा विशेष चासोको रुपमा हेरिएको भाइरस जेएन.१ ओमिक्रोनको सब-भेरियन्टबाट थप म्यूटेशन हुदै बनेको नया भाइरस हो ।

यो विश्वभरि तिब्र गतिमा फैलदै गइरहेको देखिन्छ । हालै भारतमा जे एन १ भाइरस देखिएको भन्ने समाचारसंगै नेपाल पनि तरंगित भएको छ । हालै काठमाडौँमा पनि कोभिड संक्रमण पुष्टि हुने क्रम बढ्दै जाँदा धेरैको मनमा संक्रमण कोरोनाको नयाँ भाइरस जेएन.१ ले गराइरहेको हो कि वा नेपालमा देखिदै आइरहेको भाइरस हो भन्ने चासो उत्पन्न भएको देखिन्छ ।

नेपालमा जेएन.१ भाइरस पुष्टि नभइसकेको अवस्थामा हाल कोभिड पोजिटिभमा देखिरहेका लक्षणहरुलाई यही भाइरसको भनिहाल्ने अवस्था छैन । तर भारतबाट आइरहेको जानकारीको विश्लेषण गर्दा माउ-ओमिक्रोनको भन्दा खासै फरक लक्षण भने देखिदैन । ओमिक्रोन भेरियन्ट बाँकी भेरियन्टहरु भन्दा कम घातक देखिएको थियो ।

यसै कारणले पनि होला हालै विश्व स्वास्थ संगठनले यसलाई “कम घातक” को सूचीमा राखेको देखिन्छ । यद्यपि ठूलो संख्यालाई संक्रमण गरेपछि लक्षणले कस्तो मोड लेला भनेर अहिले नै भन्न सक्ने अवस्था छैन । ज्वरो, नाकबाट पानी बग्नु, खोकी लाग्नु, घाँटी दुख्नु, जीउ दुख्नु जस्ता लक्षणहरु भारतीय जेएन.१ संक्रमितमा देखिएको सार्वजनिक भइरहेको छ।

नेपालमा ओमिक्रोन भेरियन्टले पहिलो पटक प्रभाव पर्दा पनि बिरामीमा पनि यस्तै लक्षणहरु देखिएका थिए । हाल भारतमा जेएन.१ भाइरस पुष्टि हुने क्रम तिब्र छ ।

नेपालमा हालसम्म जेएन.१ नया भाइरस पुष्टि नभएको भएता पनि ढिलो चाडो पुष्टि नहोला भन्ने आधार देखिदैन किनभने भारतमा कोभिडको लहर बढ्दा त्यसको केही हप्तामा नेपालमा पनि लहर उछालिने गरेको विगतको अनुभवहरु छन् ।

विश्व स्वास्थ संगठनले जेएन.१ नयाँ भाइरसलाई ‘उच्च गतिमा’ फैलन सक्ने सुचीमामा राखेको छ। केही दिन अगाडि मात्र यो भाइरसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ को सुचीमा राखेको छ ।

विश्व स्वास्थ संगठनले पछिल्लो पटक संशोधित परिभाषा अनुसार ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भन्नाले जिनमा परिवर्तन देखिएसंगै भाइरसको प्रशारणमा तिब्रता, घातकता, एन्टीबडी छल्न सक्ने क्षमता, उपलब्ध औषधी तथा परीक्षण विधिलाई चुनौती दिन सक्ने सम्भावना वा प्रमाण भएको, अनि विश्व स्वास्थ संगठनमा आवद्ध एक भन्दा बढी देशमा भाइरसले व्यापक बिरामी संख्या बढाएको अवस्थालाई भनिएको छ।

यो घोषणासंगै विश्व स्वास्थ संगठनमा आवद्ध देशहरुले आ-आफ्ना देशमा भाइरसको अवस्था बारेमा आबद्ध देशहरु बीच अनिवार्य सार्वजनिक गर्नुपर्ने हुन्छ । नेपाल विश्व स्वास्थ संगठनमा आबद्ध देश भएकोले छिटै जेएन.१ भाइरस भए/नभएको जानकारी सार्बजनिक हुनेमा आशा गर्न सकिन्छ।

कोभिडलाई विश्व संगठनले ‘प्यानडेमिक’ को अवस्थामा नरहेको भनाइसंगै विस्तारै सबै क्षेत्र चलायमान भइरहेको छ । तर हालै जेएन १ भाइरसको सक्रियता र चर्चासंगै एकपटक फेरि विश्व झस्किएको छ । सम्भवत विगतमा जस्तो यो भाइरसको कारणले ठूलो मानवीय क्षतिको सम्भावना तत्कालको लागि देखिदैन ।

किनभने हाल उपलब्ध खोपले पूर्ण रुपमा यो भाइरसविरुद्ध काम नगर्ने भन्ने देखिएको छैन । कोभिडविरुद्ध विगतमा भनिएका जनस्वास्थ्यका मापदण्डहरु पनि धेरैले बिर्सिसकेको पनि नहोला । यी उपायहरु कोभिडविरुद्ध मात्र नभई अरु श्वास-प्रश्वास तथा पानीजन्य संक्रमणहरु विरुद्ध पनि उत्तिकै प्रभावकारी छन् । तसर्थ यी उपायहरुलाई अबलम्ब गरी निरन्तरता दिनसके कोभिड लगायत धेरै संक्रमणहरुबाट बच्न सक्नेछौं ।

अन्तमा, भाइरसमा म्यूटेसन हुनु प्राकृतिक र स्वाभाविक हो । तसर्थ कोभिडमा पनि म्यूटेड भाइरसको नयाँ नयाँ नाम आउनु नौलो होइन । तर मानवीय स्वास्थ्यको लागि चुनौती सिर्जना भए/गरे त्यसलाई गम्भीर रुपमा लिएर तीब्र प्रतिकार्य गर्न जरुरी हुनेछ ।

विगतमा कोभिडका फरक भेरियन्टले फरक घातकतासहित विभिन्न लहरहरु सिर्जना गरेका थिए। अहिलेसम्मको जानकारी अनुसार नयाँ भाइरस जेएन.१ घातक देखिएको छैन ।

यद्यपि यो भाइरसको बारेमा थप जानकारी तथा अध्यन-अनुसन्धानका नतिजाहरु आउने क्रम जारी रहेकोले पूर्ण रुपमा बेवास्ता भने गर्नु हुदैन ।

लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?