+

रक्सी र खराब खानपान कलेजोको शत्रु हो, कसरी यसलाई बचाउने ? (भिडियो)

२०८० पुष  ८ गते १८:५२ २०८० पुष ८ गते १८:५२
रक्सी र खराब खानपान कलेजोको शत्रु हो, कसरी यसलाई बचाउने ? (भिडियो)

कलेजोलाई बुझौं । यसलाई किन बुझ्न जरुरी छ भने हाम्रो शरीरको समग्र बोझ यसैमाथि हुन्छ । चाहे खानेकुरा पचाउन होस् वा शरीरमा जम्मा भएको विकार बाहिर निकाल्न, कलेजोले काम गर्छ ।

त्यसैले कलेजोले कसरी काम गर्छ, के काम गर्छ, कति काम गर्छ, कलेजो कसरी बलियो हुन्छ, कसरी कमजोर हुन्छ ? जान्नुपर्छ ।

कलेजो शरीरको दाइने कोखा भित्र फोक्सो र आन्द्राको बिचमा बसेको हुन्छ । यो  पाचन प्रणालीको एउटा महत्वपूर्ण हिस्सा हो । हामीले खाएको खाना खाने नली हुँदै पेट, सानो आन्द्रा, सानो आन्द्रा हुँदै मलद्वारमा पुग्ने हो । कलेजोबाट निस्कने दुई वटा नली पित्त नलीसँग जोडिएर जान्छ, आन्द्राको दोस्रो भागमा खुल्छ र कलेजोबाट निस्कने विभिन्न तत्त्वले पाचन प्रणालीलाई सहयोग गर्छ ।

हामीले खाएका विभिन्न खानेकुरामा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, मिनरल्स र भिटामिन जस्ता पोषक तत्व हुन्छ । त्यसलाई पाचन प्रणालीबाट उत्पादन हुने  इन्सुलिन र विभिन्न हर्मोनले टुक्राउन, पचाउन मद्दत गर्छ । विशेष गरी  प्यानक्रियाजबाट पाचनमा सहयोग गर्ने हर्मोनहरु निस्कन्छन् ।


पित्त उत्पादन :

कलेजोले पित्त उत्पादन गर्छ । पित्त एक तरल पदार्थ हो, जुन पित्त थैलीमा जम्मा भएको चिल्लो तथा बोसोलाई पचाउन मद्दत गर्छ ।

शरीरबाट बिकार हटाउने :

शरीरको फोहोर पदार्थ बाहिर निकाल्न पनि कलेजोको भूमिका हुन्छ । शरीरलाई आवश्यक पर्ने तत्व राखेर नचाहिने तत्व शरीरबाट बाहिर निकाल्ने काम गरेको हुन्छ । विभिन्न हर्मोन र ग्रन्थिहरू बनाउने काम पनि कलेजोले गर्छ ।

प्रतिरोधी क्षमता बढाउने :

कलेजोबाट बन्ने इमिनोग्लोबिन्सले रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छ । जो व्यक्तिको कलेजो ठिक हुँदैन उसको रोग प्रतिरोधी क्षमता राम्रो हुँदैन । चाहे एकदमै छिटो कलेजो बिग्रियोस् वा लामो समयमा कलेजो बिग्रियोस् त्यस्ता बिरामीमा रोग प्रतिरोगी क्ष्मता एकदमै कम हुन्छ र संक्रामक रोगको जोखिम एकदमै धेरै हुन्छ ।

शरीरको तापमान कायम राख्ने :

कलेजोको आफ्नो हिट मेटाबोलिज्म पनि हुन्छ जसले शरीरको तापमान सन्तुलन राख्न सहयोग गर्छ ।

रक्त प्रणालीलाई सुचारु गराउने :

कलेजोको अर्को महत्त्वपूर्ण काम भनेको रक्त प्रणालीलाई सुचारु रूपले सञ्चालन गर्नु हो । सामान्य व्यक्तिलाई चोटपटक लागेर रगत बग्यो भने केही समयमा आफै रोकिन्छ । तर, कलेजो बिग्रिएको मान्छेलाई चोट लागेर रगत बग्यो भने रोकिन समय लाग्छ ।

के कुराले कलेजोलाई हानि गर्छ ?

कलेजोको सत्रु हो, रक्सी । चाहे वाइन होस् वा भोड्का, वियर होस् वा ह्वीस्की । जे जति अल्कोहलिक पदार्थ छ, त्यो कलेजोको लागि हानिकारक हुन्छ ।

त्यससँगै कलेजोलाई फोहोर खाना र दूषित पानीले हानि गर्छ । फोहोर खाना र पानीबाट  हेपाटाइटिस ‘ए’ र ‘इ’ हुन्छ । यसले कलेजोको संक्रमण गर्छ । साथै हेपाटाइटिस ‘बि’ र ‘सी’ले कलेजोलाई असर गर्छ ।

धेरै चिल्लो तारेको खानेकुरा कलेजो मैत्री हुन्न । अझ बाहिर होटेल रेष्टुरेन्टहरुको तेल कुन अवस्थामा छ भन्ने कुरा थाहा हुँदैन । एउटै तेललाई पटक पटक प्रयोग गरेको पनि पाइन्छ । यस्तो तेलमा पकाएको खानाले कलेजोलाई हानि गर्छ ।

अस्तव्यस्त जीवनशैली र बिग्रँदो खानपानले गर्दा पछिल्लो समय धेरैलाई मोटोपनले सताएको छ । जसले गर्दा कलेजोमा बोसो जम्ने समस्या निम्तिएको छ जसलाई ‘नन अल्कोहलीक फ्याटी लिभर’ भनिन्छ । यसले पनि कलेजोलाई हानी गरेर कलेजो फेल र क्यान्सर समेत गराउन सक्छ ।

औषधिले कलेजोलाई हानि गर्छ ?

कुनै पनि औषधि सेवन गर्दा कलेजोमा गएर मेटाबोलाइज हुन्छ र कलेजोको माध्यमबाट शरीरमा पुग्छ । त्यसैले कलेजो खराब भएको मान्छेलाई औषधिको प्रयोग गर्दा विशेष सावधानी अपनाइन्छ ।

औषधि कलेजोको माध्यमबाट शरीरको विभिन्न अंगमा पुग्ने हुँदा केही औषधिले कलेजोलाई हानी पनि गरिरहेको हुन्छ, जस्तो टिभीको औषधि ।

एक  सामान्य दैनिक व्यक्तिले ८ ग्राम भन्दा बढी सिटामोल खायो भने त्यसले पनि कलेजोलाई हानि गर्छ । सिटामोल र पेनकिलर जस्ता औषधि धेरै मात्रामा सेवन गर्दा  कलेजोलाई बिगारेर प्रत्यारोपण नै गर्नुपर्ने अवस्थामा पु¥याउन सक्छ ।

रक्सी सेवन गर्ने व्यक्तिले त झन् दुई देखी तीन ग्राम दैनिक दुई चक्की सिटामोल नियमित खाँदा पनि कलेजोलाई हानी गर्छ ।

महिलाहरूले गर्भ निरोधकको रूपमा प्रयोग गर्ने पिल्स चक्की र ‘डिपो’ तिन महिने सुई लामो समय प्रयोग गर्दा  मोटोपनाको समस्या आउँछ र कलेजोलाई हानि गर्छ । लामो समय प्रयोग गर्दा कलेजोको क्यान्सर समेत लाग्न सक्छ ।

एलोपेथिक मात्र हैन आयुर्वेदिक औषधिहरूको जथाभावी सेवनले  कलेजोमा समस्या निम्ताउँछ । आयुर्वेदिक चिकित्सकको सल्लाह नलिई औषधि पसलहरूबाट  किनेर जथाभाबी आयुर्वेदिक औषधि खाँदा पनि कलेजो बिग्रन्छ ।

कलेजो खराब हुँदा देखा पर्ने लक्षण

पाचन प्रक्रियामा कलेजोको भूमिका हुने हुँदा कलेजो बिग्रेको अवस्थामा खाना राम्ररी पच्दैन, बान्ता हुन्छ । साथै दाहिने कोखा दुख्ने, ज्वरो आउने, जन्डिस हुने जस्ता लक्षण देखिन्छ ।

पेट फुल्ने , पेटमा पानी जम्ने, खुट्टा सुन्निने, रगत बान्ता हुने र बेहोस नै हुने जस्ता लक्षणहरू पनि देखिन्छन् ।

कलेजो कसरी जोगाउने ?

कलेजोलाई राम्रो बनाउने एउटा सर्त हो, सही एवं राम्रो खानपान । सागपात, फलफूल खानुहोस् कलेजो स्वस्थ हुन्छ ।

भात, मकै रोटी जस्ता कार्बोहाइड्रेट युक्त खानेकुरा कम खानुपर्छ । रक्सी चुरोटबाट टाढा रहनुपर्छ । तरकारी फलफूल प्रशस्त मात्रामा खानु पर्छ ।

आजभोलि हामी ५ मिनेटको बाटोमा पनि गाडी चढ्छौँ हिँड्न रुचाउँदैनौ । तर, कलेजोलाई स्वस्थ राख्न तौल नियन्त्रण गर्नुपर्छ । तौल नियन्त्रण गर्न दैनिक आधा घण्टा देखी ४५ मिनेट हिँडडुल, व्यायाम गर्नुपर्छ । यसले कलेजो मात्र हैन अन्य स्वास्थ्य समस्याबाट पनि बचाउँछ ।

खानपान र जीवनशैलीलाई सुधार्नुको साथै तनाव कम लिने र तनावलाई व्यवस्थापन गरेर पनि हामी कलेजोको समस्याबाट बच्न सक्छौँ । साथै कलेजोलाई स्वस्थ राख्न डाक्टरको सल्लाह विना औषधि खानुहुँदैन ।

कलेजोले कसरी काम गर्छ ? डा. अवशेष भण्डारी पेट तथा कलेजो रोग फ्याट्टी लिभर लिभर सिरोसिस
डा. अवशेष भण्डारी
लेखक
डा. अवशेष भण्डारी
जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०८८४ अध्ययन : एमबीबीएस, एमडी (ग्यास्ट्रोइन्ट्रोलोजी) हाल काठमाडौंस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय